
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले २७बुँदे कैफियत औँल्याउँदै नेपाल वायुसेवा निगम (नेवानि)का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ । क्यानले सात दिनभित्र जवाफ दिन भन्दै अध्यक्ष अधिकारीलाई बुधबार पत्र पठाएको छ ।
निर्धारित समयभित्र चित्तबुझ्दो जवाफ नपठाए निगमको ‘अकाउन्टेबल म्यानेजर’बाट अध्यक्ष अधिकारी हटाउने क्यानको तयारी छ । पटक–पटक सचेत गराउँदा पनि हवाई सुरक्षामा खेलाँची भइरहेको भन्दै क्यानले निगमका अकाउन्टेबल म्यानेजरलाई स्पष्टीकरण सोधेको हो ।
‘नियामक निकायले चिन्ने वायुसेवाको अकाउन्टेबल म्यानेजरलाई हो, सम्बन्धित वायुसेवाको हवाई सुरक्षाको जिम्मेवारी पनि उसकै हुन्छ,’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘क्यानलाई एकाउन्टेबल म्यानेजरका रूपमा काम गर्न नसकेको भन्दै जिम्मेवारीबाट हटाउन पाउने अधिकार हुन्छ ।’
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र युरोपियन युनियन (इयू)ले निगम र श्रीको हवाई सुरक्षामा सुरक्षा चासो व्यक्त गरेका थिए । इयूको एसिस्मेन्ट रिपोर्ट आएपछि क्यानको प्राविधिक टोलीले दुवै वायुसेवाको अब्जर्भसन गरेको थियो । अब्जर्भेसनका क्रममा भेटिएका फाइन्डिङहरू सुधारका लागि निगमका अकाउन्टेबल म्यानेजर अधिकारीलाई पटक–पटक सचेत गराउँदा पनि अटेरी गरिरहेको क्यानको दाबी छ ।