१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
रमेश सुवेदी काठमाडाैं
२०८० चैत १३ मंगलबार ०६:१७:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल टी–२० स्पट फिक्सिङ विवाद : आदिलसँगै पाँचजनालाई सफाइ

स्पट म्याच फिक्सिङमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल अलाम र पूर्वक्रिकेटर मेहबुब आलमसहित पाँच जनालाई सफाइ

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०८० चैत १३ मंगलबार ०६:१७:००

जिल्ला अदालत काठमाडौंले गत वर्ष पुसमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा सोमबार युवा अलराउन्डर मोहमद आदिल अलाम तथा पूर्वक्रिकेटर मेहबुब आलमसँगै पाँचजनालाई दाबी नपुग्ने भन्दै सफाइ दिएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले अन्तिम आदेश दिँदै पाँचजनाले सफाइ पाएका हुन् । अदालतको अन्तरिम फैसलापछि अलाम राष्ट्रिय टोलीमा फर्कने बाटो खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आदिल, महबुबसँगै नितेश शाह, नवीन कँडेल र रवि माझीविरुद्ध ०७९ साल फागुन ५ गते मुद्दा दर्ता गरेको थियो । ०७९ साल ९ देखि २७ पुससम्म आयोजित लिगमा स्पट फिक्सिङ गरेको भनी पाँचजनाविरुद्ध मुद्दा दर्ता भएको थियो । स्वाभाविक परिणामलाई प्रतिकूल हुने, बाजी जिताउने र हराउने उद्देश्यसँगै अनियमितता गरेको भन्दै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम कारबाही गर्न माग गरिएको थियो । तत्कालै पक्राउ परेका पाँचैजना तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए । 

अनुसन्धानको क्रममा सिआइबीले १२ जनालाई प्रतिवादी बनाएर काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको थियो । कार्यालयले पाँचजनाविरुद्ध मात्र मुद्दा दर्ता गरेको थियो । सफाइसँगै अलामले न्याय मरेको र अगाडि बढ्न साहस आएको सोसल मिडियामा प्रतिक्रिया दिएका छन् । ‘न्याय मरेको छैन भन्ने आज महसुस गरे,’ उनले लेखेका छन्, ‘सम्मानित अदालतबाट सफाइ पाएपछि मनोबलका साथ अगाडि बढ्ने हिम्मत बढेको छ ।’ उनले राष्ट्रिय टोलीबाट खेल्ने रहर जागेको बताएका छन् । ‘म निकै खुसी छु, नयाँ जन्म पाएजस्तो भइरहेको छ,’ उनले भने, ‘टोलीमा फर्कन धेरै मिहिनेत गर्नेछु ।’ 

अलामले सन् २०२२ मा अमेरिकाविरुद्ध एकदिवसीय र टी–२० मा पनि पपुवा न्युगिनीविरुद्ध डेब्यु गरेका थिए । ५० र २० ओभरको फम्र्याटमा उनले डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ६ एकदिवसीय खेलमा ७० रन र अन्तर्राष्ट्रिय टी–२० मा एक सय १० रन जोडेका थिए । बलिङको क्रममा ५० ओभरमा ६ र २० ओभरको खेलमा पाँच विकेट लिएका छन् । मेहबुबले सन् २००८ मा आइसिसी विश्वकप लिग ५ मा मोजाम्बिकविरुद्ध एकै खेलमा १० विकेटको विश्व प्रदर्शन गरेका थिए । उनको यो रेकर्ड तोडिएको छैन । 

यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले अदालतको फैसलापछि आदिललाई राष्ट्रिय टोलीमा फर्काउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)सँग समन्वय गर्ने नयाँ पत्रिकालाई बताएका छन् । ‘उनले अदालतबाट सफाइ पाएका छन् । मैदान फर्काउन हामी आइसिसीसँग छलफल गछौँ,’ चन्दले भने ।

 आइसिसीसँग समन्वय गर्छाैँ
चतुरबहादुर चन्द, अध्यक्ष, क्यान

अदालतबाट आदिलले सफाइ पाएका छन् । घरेलु क्रिकेटमा उनी राम्रा खेलाडी हुन् । प्रक्रियाअनुरूप मैदान फर्काउन आइसिसीसँग हामी समन्वय गर्छाैँ । यो विषय आइसिसीसम्म पुगेको छ । आइसिसी प्रतिक्रियाअनुसार क्यानले गर्नेछ । 

नेपाल ६ विकेटले विजयी 
नेपालको राष्ट्रिय क्रिकेट टोलीले सोमबार टेस्ट राष्ट्र आयरल्यान्ड ‘ए’ टोलीविरुद्ध अन्तर्राष्ट्रिय टी–२० को पहिलो खेलमा ६ विकेटले जितेको छ । बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल २३ बलअघि विजयी भएको हो । त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाउँदै एक २१ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै एक सय २२ रन जोड्यो । अब दोस्रो खेल आज हुनेछ । 

नेपालका सहायक प्रशिक्षक वसन्त शाहीले आयरल्यान्डसँग खेलले विश्वकप र एसिया कपको तयारीमा सहयोग मिल्ने बताए । ‘हामी लगातार तयारीमा छौँ । पछिल्ला चार फाइनल नराम्रो हुनुमा धेरै प्रयोग भयो,’ उनले भने, ‘विश्वकप र एसिया कप छनोटका लागि अझै समय छ ।’ पिचअनुसार कम्तीमा एक सय ४० रन लक्ष्य पाउने अपेक्षा गरेको उनले बताए । ‘यो पिचमा १४० रनको योगफल हुँदा खेल्न गाह्रो पर्ने थियो, तर लक्ष्य सोचेभन्दा कम भयो,’ उनले भने । आयरल्यान्डको ‘ए’ टोलीले नेपाल ‘ए’विरुद्ध तीन टी–२० र तीन एकदिवसीय खेल खेल्ने तालिका छ । 

भुर्तेल र जोराको अर्धशतकीय इनिङ्स
नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेल र सन्दीप जोराले ५४ रनको बलियो साझेदारी गरी जितको आधार बनाए । सन्दीप ३५ बलमा तीन चौका र दुई छक्कासहित ३६ रन जोडे । नेपाल इनिङ्सको एक समय ४.५ ओभरमा ३७–३ को खराब स्थितिमा थियो । भुर्तेल र जोराको जोडीले १३.१ ओभरमा ९१–४ को अवस्थामा पुर्‍याए । ‘हामी दुवैले राम्रो साझेदारी गरौँ,’ जोराले भने, ‘धेरै पछि व्यक्तिगत प्रदर्शन राम्रो भएको छ ।’

भुर्तेलले ३२ बलमा चार चौकासहित अविजित ३७ रन बनाए । मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले १२ बलमा दुई चौका र एक छक्कासहित २० रनको योगदान गरे । अर्का ओपनर आसिफ सेखले ११ बलमा १६ रन बटुले । उनले दुई चौका र एक छक्का हिर्काएका थिए । कप्तान रोहितकुमार पौडेल शून्य रनमा आउट भए । पहिलो इनिङ्समा नेपालका बलर हाबी हुँदा आयरल्यान्डको ब्याटिङ कमजोर बन्यो ।