एकपटक बुद्धको भेट एक महिलासँग भयो । जसलाई सो गाउँमा चरित्रहीन नारी भनेर दुत्कारिन्थ्यो । ती महिलाले गौतम बुद्धसँग सोधिन्, ‘तपाईं त कुनै राजकुमारजस्तो देखिनुहुन्छ, किन यस्तो युवावस्थामै पहेँलो वस्त्र धारण गर्नुभएको ? तपाईं किन तपस्वी बनेर सांसारिक सुखसुविधालाई लत्याएर यसरी हिँडिरहनुभएको छ ?’
आफ्नो सन्न्यासी जीवनबारे ती महिलाले प्रश्न गरेपछि बुद्धले जवाफ दिए, ‘मैले तीनवटा प्रश्नको जवाफ खोज्नका लागि सन्न्यास लिएको हुँ । अहिले हाम्रो शरीर युवा अनि आकर्षक छ, यो बिस्तारै एक दिन बूढो हुन्छ, बिरामी हुन्छ र अन्ततः मृत्यु वरण गर्छ । म यो वृद्धावस्था, बिमारी र मृत्युको कारण पत्ता लगाउन चाहन्छु ।’ बुद्धको भनाइबाट ती महिला निकै प्रभावित भइन् । ती महिलाले बुद्धलाई बेलुकाको खाना आफ्नो घरमा आएर खानका लागि निम्तो दिइन् । बुद्धले पनि उनको निम्तो सहर्ष स्विकारे । तत्काल गाउँवासीलाई यो कुरा थाहा भयो । उनीहरूले ती महिला चरित्रहीन रहेकाले उनको घरमा नजान बुद्धलाई आग्रह गरे । गाउँवासीको यस्तो आग्रहपछि बुद्धले गाउँका मुखियालाई बोलाएर सोधे, ‘महोदय, के गाउँवासीले भनेको कुरा सत्य हो ?’ मुखियाले पनि गाउँलेको कुरामा सहमति जनाउँदै भने, ‘हो हजुर, ती महिला चरित्रहीन नै हुन् । त्यसैले हजुर तिनको घरमा नजानुहोस् ।’
मुखियाका कुरा सुनिसकेपछि एकछिन सोचमग्न भएर बुद्धले तिनको एउटा हात समाते, अनि भने, ‘ल अब तपाईं जोडले ताली बजाउनुहोस् ।’ मुखियाले हाँस्दै भने, ‘पहिले मेरो यो हात छाड्नुहोस् । अनि मात्र ताली बजाउँला । अन्यथा, एक हातले मात्र त ताली कसरी बज्न सक्छ र ? यो असम्भव छ ।’
मुखियाको कुरा सुनेपछि बुद्धले मन्द मुस्कानसाथ भने, ‘त्यसो भए एक्ली स्त्री कसरी चरित्रहीन हुन सक्छिन् ? गाउँका सबै पुरुष चरित्रवान् भइदिएको भए ती स्त्री चरित्रहीन हुने नै थिइनन्, होइन र ?’ बुद्धको प्रश्न सुनेपछि त्यहाँ उपस्थित सबै गाउँलेका आँखा खुले । गाउँका सबै पुरुषले लाजले शिर झुकाए ।