लिजमा लिएका जग्गामा विभिन्न राष्ट्रले गुरुयोजनाविपरीत संरचना बनाउँदा पनि लुम्बिनी विकास कोष मूकदर्शक
गुरुयोजनाविपरीत लुम्बिनीपरिसरमा गुम्बा (मन्दिर)हरू लक्जरी होटेलकै संरचनामा निर्माण गरिन थालेका छन् । लिजमा दिएको बिहार क्षेत्रको प्लटमा उद्देश्य र मापदण्डविपरीतका संरचनाहरू निर्माण भइरहँदा लुम्बिनी विकास कोष भने मूकदर्शक बनेको छ ।
पछिल्लो समय मलेसियाले लुम्बिनीपरिसरभित्र होटेलकै रूपमा भवन निर्माण गरिरहेको छ । गुम्बा बनाउनुपर्ने स्थानमा एट्याच बाथरुमसहित एक सय ५० कोठाको ६ तले भवन निर्माण भइरहेको छ । बिहार क्षेत्रका गुम्बाहरूले सम्झौताविपरीत संरचना निर्माण गरेर दैनिक सयौँ पर्यटक राख्दै आएका छन् । गुम्बा–बिहारले नै होटेल सञ्चालन गर्न लागेपछि होटेल व्यवसायीहरूले पनि विरोध जनाउँदै आएका छन् ।
लुम्बिनी क्षेत्रभित्र निर्माण भएका र निर्माणाधीन बिहारहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने मापदण्ड पनि छ । तर, कोषका पदाधिकारीको मिलेमतोका कारण धेरै देशले मनपरी गरिरहेको स्थानीयको आरोप छ । कोषका प्रशासन प्रमुख ज्ञानिन राईले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए । ‘यस विषयमा मलाई थाहा छैन, योजना शाखामा सोध्नुहोस्,’ उनले भने ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामा भन्छन्–
लामो समयदेखि विवादित बनेको गुम्बामा पर्यटक राख्ने विषयमा ठोस निर्णय लिएर अगाडि बढ्छौँ । लुम्बिनीका होटेल व्यवसायीबाट धेरै गुनासो आएका कारण सबै सरोकारवाला निकाय राखेर छलफलका माध्यमबाट नयाँ निकास निकालेर अगाडि बढ्छौँ ।
विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई धार्मिक, आध्यात्मिक एवं शान्तिको केन्द्रका रूपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र विभिन्न राष्ट्र र बौद्ध समुदायलाई बिहार–गुम्बा निर्माण गर्न ९९ वर्षका लागि प्लट उपलब्ध गराइएको छ । त्यहाँ बौद्ध बिहार, गुम्बा, ध्यान केन्द्रहरू निर्माण गरी बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको विकास गर्नुपर्छ ।
कोषको बिहार क्षेत्रमा ४२ प्लट छन्, जसमध्ये एउटा प्लट लिजमा लिएर मलेसियाले होटेलको संरचना निर्माण गरिरहेको छ । ‘मलेसियाले निर्माण गरिरहेको संरचना हेर्दा कुनै पनि एंगलबाट गुम्बाको छनक पाइँदैन,’ लुम्बिनी होटेल संघका महासचिव पुरुषोत्तम अर्यालले भने, ‘अन्डरग्राउन्डसहितको भव्य भवन स्टार होटेलभन्दा कम छैन ।’ लुम्बिनी विकास गुरुयोजनाअनुसार गुम्बा, चैत्य, बिहार र ध्यान केन्द्रहरूलाई ‘लुम्बिनी विकास कोषको बिहार क्षेत्र विनियमावली, २०५८’ अनुसार थप मापदण्ड बनाएर व्यवस्थापन गर्नुपर्नेमा कोषका कर्मचारी र पदाधिकारी मूकदर्शक बनेका छन् ।
०७७ साउनमा लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीको संयोजकत्वमा गठित समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो । बृहत् लुम्बिनी गुरुयोजना क्षेत्रअन्तर्गत निर्माण गरिएका र निर्माणाधीन बाँकी प्लटहरू (बिहारहरू)को वस्तुस्थितिको अध्ययनसम्बन्धी सो प्रतिवेदन तत्कालीन संस्कृति, पर्यटनमन्त्री योगेश भट्टराईलाई बुझाएको थियो । कोषको विनियमावलीमा सामान्यतया एक देशलाई एउटा मात्र प्लट दिने प्रावधान रहे पनि पहुँचका भरमा तीनवटासम्म दिइएको छ ।
ज्ञवाली नेतृत्वको समितिले विनियमावलीबमोजिम निश्चित मापदण्ड निर्धारण गरेर नियमित अनुगमनका लागि थप निर्देशिका र कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिएको थियो । बिहार क्षेत्रमा धार्मिक एवं आध्यात्मिक गतिविधिमा मात्र संलग्न हुन पनि सुझाव दिइएको छ । विनियमावलीको विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा–प्रार्थना गर्नका लागि पाँचजना भिक्षु–भिक्षुणी र उनीहरूको सहयोगीका रूपमा थप पाँचजना गरी १० जनासम्म मात्रै विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ ।
गुरुयोजना कार्यान्वयन गर्न मन्त्रीको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी गुरुयोजना कार्यान्वयन नभएकोमा सर्वत्र आलोचना भइरहेको भन्दै कार्यान्वयन गर्न निर्देशन दिए । लुम्बिनी सम्मेलनका सन्दर्भमा आएका उनले शनिबार कोषका पछिल्ला गतिविधि र अवस्थाबारे जानकारी लिँदै निर्देशन दिएका हुन् । गुरुयोजनाविपरीत संरचना बनेको, युनेस्कोको असहमति रहेको जस्ता विषय आइरहेकाले यसबारे आफ्नो ध्यानाकर्षण भएको उनले बताए ।
लुम्बिनी क्षेत्रको संरक्षण गरी विश्वभर चिनाउने उद्देश्यले सुरु गरिएको लुम्बिनी विकास गुरुयोजना ४६ वर्ष बित्दासम्म पनि अझै पूरा भएको छैन । सन् १९७८ मा सुरु गरिएको गुरुयोजना १४ वर्षभित्र पूरा गर्ने महत्वाकांक्षी लक्ष्य राखिएको थियो । तर, कतिपय महत्वपूर्ण संरचनाहरूको निर्माण कार्य अझै बाँकी नै छ ।
जापानी वास्तुकलाविद् केन्जो टाँगेको डिजाइनमा अघि बढाइएको गुरुयोजनाअन्तर्गत एक हजार एक सय ५५ बिघामा पवित्र उद्यान, मोनास्ट्रिक जोन र न्यु लुम्बिनी भिलेजका रूपमा विकास गर्ने योजना छ । लुम्बिनीमा हाल विभिन्न देशका छुट्टाछुट्टै मन्दिर (गुम्बा)हरू रहेका छन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले भने लामो समयदेखि विवादित बनेको गुम्बामा पर्यटक राख्ने विषयमा ठोस निर्णय लिएर अगाडि बढ्ने बताए । उनले भने, ‘लुम्बिनीका होटेल व्यवसायीबाट धेरै गुनासो आएका कारण सबै सरोकारवाला निकाय राखेर छलफलका माध्यमबाट नयाँ निकास निकालेर अगाडि बढ्छौँ ।’
निजी क्षेत्रको लगानी संकटमा
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीमा पर्यटक ओइरिने अपेक्षसहित होटेलमा ठूलो लगानी ओइरिएको थियो । लुम्बिनी, भैरहवा, बुटवल क्षेत्रमा सञ्चालनमा आइसकेका र निर्माणाधीन होटेलमा गरी करिब ६० अर्ब रुपैयाँभन्दा बढी लगानी हुँदै छ । अझै थुप्रै होटेल निर्माणको लागि पाइपलाइनमा छन् । विमानस्थल शिलान्यास भएपछि पाँचतारे टाइगर प्यालेस, सिद्धार्थ भिलासा र पवन प्यालेस सञ्चालनमा आइसकेका छन् । आधा दर्जन पाँचतारे होटेल रुपन्देहीमा निर्माणाधीन छन् ।
तर, विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा होटेल व्यवसायी निराश बनेका छन् । लुम्बिनीका होटेल व्यवसायीले फागुन अन्तिम साता कोषमा ज्ञापनपत्र बुझाउँदै एक हप्ताभित्र बिहारमा पर्यटक राख्ने काम रोक्न चेतावनी दिएका थिए । कोषले पनि बिहार र गुम्बालाई होटेल सञ्चालन नगर्न भन्दै २ चैतमा पत्राचार गरेको छ ।
लुम्बिनी होटेल संघका महासचिव पुरुषोत्तम अर्यालले १२ वर्षदेखि यही माग राख्दै आएको बताए । ‘अनलाइनबाट होटेल बुकिङ गरेर लुम्बिनी आएका पर्यटक बिहार भ्रमणमा गएपछि बुकिङ क्यासिल गर्छन्,’ उनले भने ।’ बिहार–गुम्बाले भित्रै होटेल सञ्चालन गर्दा बाहिरका होटेल पाहुनाविहीन बन्ने गरेको होटेल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले बताए । संघका अनुसार लुम्बिनीमा करिब सयवटा होटेल सञ्चालनमा छन् । पर्यटक नभएपछि १५ होटेल बन्द भइसकेको र थप १५ वटा बन्द हुने अवस्थामा रहेको बताइन्छ ।
कुन गुम्बा–बिहारमा कति क्षमता ?
लुम्बिनीमा बनेका गौतमी भिक्षुणी बिहारले दैनिक एक सय ५० पाहुना राख्न मिल्ने गरी भवन बनाएको छ । यस्तै, गोल्डेन टेम्पल म्यानमारले दुई सय ५०, कम्बोडियाको बिहारले दुई सय, महाबोधि सोसाइटीले एक सय २०, थाई बिहारले तीन सय, कोरियन बिहारले पनि तीन सय, बज्रयान बिहारले दुई सयजना पाहुना एकैपटक राख्न सक्छन् । चाइना बिहारमा दुई सय ५०, क्यानेडियन बिहारमा एक सय २०, सिंगापुरको बिहारमा सयजना पर्यटक राख्ने क्षमता छ । निर्माणाधीन अवस्थामा रहेका कर्मा साम्तेङ बिहार र क्वालाम्पुर बिहारले धेरै कोठा निर्माण गरिरहेका छन् । जापनिज स्तूपा, तारा फाउन्डेसन (जर्मन), फ्रान्सको बिहार, मनाङ समाज स्तूपालगायतका गुम्बाले पर्यटक राख्दैनन् । बिहार क्षेत्रमा रहेका गुम्बाहरूले दिनमा दुई हजारभन्दा बढी पर्यटक राख्न सक्ने बताइन्छ । विनियमावलीमा सम्बन्धित देशले आफैँले डिजाइन गरेको मन्दिर (गुम्बा–बिहार) निर्माण र भिक्षुहरूको सहयोगी बस्नका लागि आवश्यक भवन बनाउन सक्ने व्यवस्था छ । तर, गुम्बा सञ्चालकले विनियमाली र कोषसँगको सम्झौतालाई बेवास्ता गर्दै होटेल नै सञ्चालन गरिरहेका छन् ।