थातथलो पहिरोले पुरिएपछि विस्थापित पीडितका लागि बनाइएको बस्ती अझै स्थानान्तरण हुन सकेन
धादिङको गजुरी गाउँपालिका– २ चामवासका पहिरोपीडित पाँच वर्षदेखि त्रिपालमै जीवन बिताउन बाध्य छन् । थातथलो पहिरोले पुरिएपछि विस्थापित बनेका उनीहरूको बस्ती स्थानान्तरण हुन नसक्दा त्रिपालमुनिको वास बनेको हो ।
वर्षाैँदेखि बस्दै आएको थातथलोे पहिरोका कारण बस्न योग्य नभएको भूगर्वविद्हरूले बताएका छन् । तर, बस्ती स्थानान्तरण नहुँदा घर न घाटको बनेको पहिरोपीडितहरू बताउँछन् । ‘हावाहुरी र पानी आउँदा ठूला मान्छे जोगिन कठिन छ, बालबालिका कसरी जोगाउने, एउटा टेन्टमा ६÷७ जनासम्मको परिवार कसरी बस्नू ?’ प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई ज्ञापनपत्र बुझाउँदै पहिरोपीडित पञ्चमाया तामाङले भनिन्, ‘अब त बर्खा लाग्यो, झनै गाह्रो हुन्छ । पहिलेकै बस्तीमा बस्न पनि हुँदैन भन्नुहुन्छ । अन्त जाने ठाउँ छैन । च्यातिएकै त्रिपालमा बर्खा कट्ला र ? हामी कहाँ गएर बस्ने प्रमुख जिल्ला अधिकारीज्यू ?’
सुरक्षित स्थानमा बस्ती स्थानान्तरणका लागि हारगुहार गर्दै यहाँका विस्थापितले यसअघि वडा कार्यालय, गाउँपालिका, मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयमा पटक–पटक ज्ञापनपत्र बुझाइसकेका छन् । तर, सुरक्षित ठाउँमा सर्ने आश्वासन मात्रै पाएको पीडितहरूको गुनासो छ ।
०७५ मा बस्तीमा धाँजा फाट्यो । ०७६ मा वर्षाका कारण जमिन भासिएर धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरोमा पर्यो । जमिन चिरा पर्यो । घर र वस्तुभाउ बाँध्ने गोठहरू पनि भत्किए । २१ परिवार विस्थापित भए । त्यतिबेलादेखि नै चामबासका पहिरो विस्थापितहरू बाह्रबिसेमा बस्दै आएका छन् । पाँच वर्षदेखि टेन्टमा विताइरहेका विस्थापित परिवारलाई सरकारले अहिलेसम्म पुनर्वास गर्न सकेको छैन । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भेटिएकी पहिरो विस्थापित सानुमाया तामाङले भनिन्, ‘अघिल्ला सिडियो, मन्त्री, सांसद धेरैसँग हारगुहार गरियो, सबैबाट आश्वासन मात्रै पाइयो, अहिले नयाँ सिडियो आउनु भएको रहेछ, उहाँले हाम्रा लागि केही गरिदिनुहुन्छ कि भन्ने आश लिएर यहाँ आएका हौं ।’
सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण गरिदिनुपर्ने, जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्था मिलाइदिनुपर्ने र महिलाहरूलाई सीपसहित साना उद्यम सञ्चालन गर्ने व्यवस्था मिलाइदिनुपर्ने मागसहित पीडितले प्रजिअलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै धादिङका प्रमुख जिल्ला अधिकारी गैह्रेले बस्ती स्थानान्तरण गर्न यही आर्थिक वर्षमा काम सुरु गरिने बताए ।
यो बस्तीको पीडा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीहरूले पनि पटक–पटक प्रत्यक्ष देखेका छन् । तर, स्थायी प्रबन्ध मिलाउन सकेका छैनन् । पीडितले आशैआशमा कठिनले पाँच वर्ष बिताए । २१ घरपरिवारका ९२ जना कोही टेन्टमा त कोही पुराना जस्ताको ट्रस्ट बनाएर बसिरहेका छन् । अस्थायी बस्तीमा बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन । बस्ने र खानेको ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन् । टेन्ट र जस्तापाताबाट छिरेको पानीले ओछ्यान भिजाउँछ । अब वर्षात्को समय दुई मुठी सास कसरी जोगाउने भन्ने चिन्ताले पिरोलेको विशु तामाङ बताउँछन् ।
पहिरोपीडित पञ्चमाया तामाङ भन्छिन्–
हावाहुरी र पानी आउँदा ठूला मान्छे जोगिन कठिन छ, बालबालिका कसरी जोगाउने, एउटा टेन्टमा ६–७ जनासम्मको परिवार कसरी बस्नु ? अब त बर्खा लाग्यो, झनै गाह्रो हुन्छ । पहिलेकै बस्तीमा बस्न पनि हुँदैन भन्नुहुन्छ । अन्त जाने ठाउँ छैन । च्यातिएकै त्रिपालमा बर्खा कट्ला र ? हामी कहाँ गएर बस्ने प्रमुख जिल्ला अधिकारीज्यू?