१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
टेकराज थामी काठमाडाैं
२०८० चैत ९ शुक्रबार ०८:१५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माइली राईलाई १३ दिनमा जुट्यो २० लाख सहयोग

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
२०८० चैत ९ शुक्रबार ०८:१५:००

१३ दिनअघि श्रीमानकाे शव जलाउनसमेत पैसा नभएकी माइली सहयोग जुटेपछि भन्छिन्– अब गाउँ जान्छु, जग्गा किनेर खेती गर्छु

नुवाकोटको लिखु गाउँपालिका– ४ रानीटारकी ५६ वर्षीया माइली राईसँग १३ दिनअघि श्रीमानकाे शव दहन गर्ने चार हजार रुपैयाँ पनि साथमा थिएन । तर, अहिले उनीसँग २० लाख रुपैयाँ र करिब ६ महिनासम्मका लागि खान पुग्ने रासन जम्मा भएको छ । देशविदेशबाट सहयोगस्वरूप प्राप्त रकम सदुपयोग गर्नेमा आफू सचेत रहेको उनको भनाइ छ ।

१३ दिनको किरिया साङ्गे भएलगत्तै उनी गाउँ जाने र नागरिकता लिने योजनामा छिन् । त्यसलगत्तै उनले बैंक खाता खोल्ने जानकारी दिइन् । आफूलाई दाताहरूले दिएको सहयोग रकमले गाउँमा जग्गा खरिद गर्ने र बस्ने घर बनाउने उनको योजना छ । बाँकी जग्गामा खेती गर्ने उनले जानकारी दिइन् ।

श्रीमानकाे किरिया साङ्गे गर्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, ‘हिजो श्रीमानकाे शव जलाउने पैसा थिएन, आज मसँग २० लाख रुपैयाँ र २५ बोराभन्दा धेरै चामल जम्मा भएको छ । दाल, तरकारी, चना, केराउ पनि उत्तिकै सहयोग आएको छ । मेरो दुःख देखेर देशविदेशबाट सहयोग प्राप्त भयो । त्यो रकमले अब गाउँमा जग्गा किन्छु, घर बनाउँछु र खेतीपाती गरेर गाउँमै बस्छु,’ उनले भनिन् ।

पुर्ख्यौली सम्पत्तिका नाममा उनको गाउँमा आठ आना मात्रै जग्गा छ । त्यो पनि दाजुभाइले कमाउँदै आएका छन् । ३० वर्षअघि उनी श्रीमानसँगै काठमाडौं आएकी थिइन् । जीवन गुजार्ने क्रममा उनले काठमाडौंमा अनेक हन्डर खाइन् । पटक–पटक गाउँ फर्कन मन नलागेको होइन । तर, गरिखाने जग्गा नै नभएपछि परिवारसँगै अनेक कष्ट सहेर काठमाडौंमै बस्न बाध्य थिइन् । देशविदेशबाट जुटेको सहयोगले अहिले उनमा नयाँ उत्साह जागृत भएको छ । कष्टकर जीवनबाट थोरै भए पनि मुक्ति पाउने आशा उनमा पलाएको छ । ‘गाउँमा पुर्ख्यौली सम्पत्ति आठ आना मात्रै जग्गा छ, त्यो पनि दाजुभाइले कमाउँदै आएका छन् । काठमाडौं बस्दा धेरै दुःख भोगियो । गाउँ जाने मन पनि बन्यो । तर, बस्ने ठाउँ नै नभएपछि कहाँ जानु ? तर, अहिले एउटा आधार बनेको छ । देशविदेशबाट मलाई सहयोग आयो । उहाँहरू मेरा लागि भगवान्जस्तै हुनुहुन्छ,’ उनले भनिन् ।

आर्थिक तनावकै कारण जेठा छोराले गरेका थिए आत्महत्या
माइलीका श्रीमान् ठमेलमा रिक्सा चलाउँथे । उनलाई मदिरा पिउने गलत आदत थियो । कमाइ राम्रो थिएन । बिहान–बेलुकाको छाक टार्न माइली साहुको घरमा भाँडा माझ्थिन् । कहिले ज्यामी काममा खटिन्थिन् । रकम अभाव हुँदा छोराछोरीलाई पढाउन सकिनन् । तनावकै कारण जेठा छोराले आत्महत्या गरे । उनको एक सन्तान माइलीकै संरक्षणमा छ । बुहारीले अर्काे विवाह गरिसकिन् । विवाहित जेठी छोरीको पनि घरबार बिग्रियो । उनीतर्फको छोराछोरी पाल्ने जिम्मेवारी पनि माइलीलाई नै छ । त्यसबाहेक कान्छा छोरा र छोरी उनीसँगै बस्छन् । उनीहरू दुवै बेरोजगार छन् । गत २६ फागुनमा उनका श्रीमान् ५७ वर्षीय पाण्डव राईको निधन भएको थियो । माइलीको दुःखमा सहयोग गरेका बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्य अहिले माइलीलाई देशविदेशबाट सहयोग आएको देखेर दंग छन् । आर्यघाटमा भेटिएका उनले भने, ‘माइलीका लागि देशविदेशका जनता भगवान् बनेर आइदिए । उनलाई सहयोग ओइरिन थाल्यो । यस्तो होला भन्ने सोचेको पनि थिइनँ । जे भयो राम्रो भयो । यसले माइलीलाई उत्साह भरिदिएको छ । बाँच्ने आधार खडा गरिदिएको छ ।’