मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ७ बुधबार
  • Thursday, 19 December, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८o चैत ७ बुधबार ११:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नौ वर्षपछि नेपाली कन्टेनर खासाको रमिते जाँदै 

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८o चैत ७ बुधबार ११:१५:oo

विनाशकारी भूकम्प गएको नौ वर्षपछि नेपाली मालवाहक कन्टेनर (भ्यान डब्बा) चीनकाे स्वशासित क्षेत्र तिब्बतको जांमुपोर्ट (खासास्थित रमिते)  प्रवेश गर्न पाउने भएका छन् । नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट भएको पटकपटकको अनुरोधलाई आत्मसात् गर्दै चीन सरकारले खासास्थित सम्बन्धित निकायलाई पत्राचार गरेर तातोपानी नाकालाई भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्न निर्देशन दिएको हो । यद्यपि, बेइजिङको निर्देशन पूर्ण रूपमा कार्यान्वयनमा  आउन केही महिना लाग्नेछ । 

सोमबार खासामा भएको उच्चस्तरीय बैठकले नाकालाई थप खुकुलो बनाउने निर्णय गरेको खासास्थित ट्रान्सपोर्ट कम्पनीका प्रतिनिधिले नयाँ पत्रिकालाई जानकारी दिए । बैठकमा खासा गाविसका जनप्रतिनिधि, अध्यागमन, प्रहरी, भन्सार र विदेश विभाग हेर्ने जांमुपोर्टका निकाय प्रमुख, ट्रान्सपोर्ट र ट्रेडिङ कम्पनीका प्रतिनिधि सहभागी बैठकले मार्चको अन्तिमबाट नेपाली कन्टेनर भ्यानलाई खासानजिक रमितेसम्म जान दिने निर्णय गरेका हुन्।

सिगात्सेबाट आउने १३.७५ मिटर लामो टेलरलाई रमितेस्थित आयात सेन्टरको यार्डमा राखेर नेपाली भ्यानमा सामान पल्टी गर्ने योजना छ । ठाउँ सानो भएकाले नेपाली कन्टेनर प्रवेश समय निश्चित गरिएको छ । दैनिक बढीमा २० गाडी रमिते जानेछन् । चिनियाँ एक टेलरबराबर नेपाली तीन कन्टेनर सामान हुन्छ ।  नेपाली कन्टेनर रमितेसम्म जाने प्रक्रियामा छलफल जारी रहेको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले जानकारी दिए । ‘केही दिनमै हामी सम्बन्धित पक्षबीच बैठक गरेर थप निर्णयमा पुग्नेछौँ,’ उनले भने ।

तातोपानी–खासा चल्ने कन्टेनर भ्यान भूकम्पपछि सबै रसुवा नाका केरुङमा दर्ता भएका छन् । अब ती गाडीको थर्ड पार्टी इन्ट्री केरुङ–खासा भनेर दर्ता गर्नुपर्नेछ। केरुङमा दुई सय ८१ र तातोपानीमा दुई सय कन्टेनर सञ्चालनमा रहेको नेपाल ट्रक–कन्टेनर ढुवानी सेवा कम्पनी लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताए ।

२० वर्ष पुराना चार सयवटा भ्यानको डायल नम्बरअनुसार नयाँ कन्टेनर ल्याएर सञ्चालन गर्न आह्वान गरिएको उनले प्रस्ट्याए । कम्प्युटरमा खासा भनेर दर्ता गरेपछि रमिते पुग्ने नेपाली गाडीले प्रवेश अनुमति पाउँछन् । यसरी दर्ता भएका गाडीलाई रमिते भन्सारको गेटमा प्रवेश दिइन्छ । किनकि, गेट अटो सिस्टममा खुल्ने र बन्द हुने हुन्छ ।

मितेरीपुलछेउमा रहेको अटो स्क्यानिङ मेसिनमा चेकजाँच गरेपछि नेपालपट्टि कन्टेनर पास हुन्छ । जुन ठाउँ साँघुरो भएकाले सिजनमा क्यु मिलाउन कठिन हुने अवस्था छ । रमितेसम्म भ्यान जान पाउने भएपछि नेपाली वस्तुको निकासी पनि बढ्नेछ । खासा, न्यालम र सिगात्सेमा बस्ने चिनियाँ नागरिकले दैनिक एक हजार युआनसम्मको नेपाली सामान आयात गर्न पाउने नयाँ नियम पनि लागू गरिएको छ ।

अब खासाको बासिन्दाले अर्डर गरेको सामान तातोपानीबाट निकासी हुनेछ । खासा बजार पुनर्निर्माण जारी रहेकाले नेपाली कन्टेनर रमिते कटेर माथि जान पाउनेछैनन् । अबको डेड वर्षभित्र खासा स्मार्ट सिटी तयार भएपछि तातोपानीस्थित कोदारी अध्यागमन कार्यालयले एकदिने पास पनि जारी गर्नेछ । रमिते क्षेत्रमा होटेल र पसल धमाधम खुल्न थालेका छन् । सीमा क्षेत्र भोटेकोसी र बाह्रबिसेका स्थानीयलाई मध्यनजर गर्दै चीन सरकारले नाकालाई सहज बनाउन लागेको हो ।