१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत ६ मंगलबार ०९:०१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विपन्नलाई पक्की घर हस्तान्तरण : स्थानीय सरकारबाट घर पाउँदा दंग छिन् सम्तोलिया सदाय

Read Time : > 1 मिनेट
२०८० चैत ६ मंगलबार ०९:०१:००

सिराहाको धनगढीमाई नगरपालिका– १३ भोर्लेनी गाउँकी एकल महिला ३७ वर्षीया सम्तोलिया सदाय सोमबार स्थानीय सरकारबाट जस्ताले छाएको भान्सासहित तीन कोठाको पक्की घरको तालाचाबी पाएपछि दंग छिन् । ढाडको घाउको क्यान्सरले एक वर्ष आठ महिनाअघि निधन भएका मुलहाई सदाकी श्रीमती सम्तोलिया आफूसहित एक छोराका लागि पक्की घर पाएपछि दंग परेकी हुन् ।

‘मजदुरी गरेर जीविका चलाउनुपर्ने भएकाले श्रीमान्को निधन भएपछि पक्की घर बनाएर बस्ने त सोचेकी पनि थिइनँ,’ उनले भनिन्, ‘वर्षौँदेखि बस्दै आएको पुरानो झुपडीको ठाउँमा नयाँ पक्की घर पाएपछि सपनाजस्तो लाग्छ ।’ श्रीमान् बितेपछि मजदुरी गरेर दुई छोराछोरीको लालनपालन गर्दै आएकी उनले भनिन्, ‘मजस्ती एकल महिलाका लागि पक्की घर पाउँदा ढुक्क भएकी छु ।’

संघीय सरकारको तराई मधेश समृद्धि कार्यक्रमको सहयोगमा नगरपालिकामार्फत ‘मुसहर बस्तीमा आवास निर्माण’अन्तर्गत गत २८ मंसिरदेखि थालिएको झ्याल, ढोका, जस्ताको छाना हालिएको चारवटा घर र मधेश प्रदेश सरकारको महेन्द्रनारायण निधि विपन्न आवास योजनाअन्तर्गत एक गरी पाँचवटा घरको तालाचाबी नगर प्रमुख शिवशंकर महतो, उपप्रमुख संगीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास, वडाध्यक्ष सूर्यमान तामाङले संयुक्त रूपमा हस्तान्तरण गरे । 

धनगढीमाई– १३ का वडाध्यक्ष तामाङका अनुसार कुल २७ लाख १२ हजार दुई सय ५१ रुपैयाँ बजेट रहेको घर निर्माणका लागि तराई मधेश समृद्धि कार्यक्रमको २४ लाख २५ हजार र आवास निर्माण उपभोक्ता समितिले दुई लाख ८७ हजार दुई सय ५१ रुपैयाँ ५२ पैसा व्यहोर्ने गरी घर निर्माण गरी हस्तान्तरण गरिएको हो । महेन्द्रनारायण निधि विपन्न आवास योजनाअन्तर्गत पाँच लाख ३८ हजार रुपैयाँको लागतमा घर निर्माण गरी हस्तारन्तरण गरिएको हो । धनगढीमाई– १० को जिरोमाइल हुँदै सर्रे अम्बास जाने सडकखण्डको भोर्लेनी गाउँको विपन्न मुसहर बस्तीको ४७ घरधुरी ऐलानी र गाउँब्लकमा रहेको बसतीको बाँकी घर स्रोत जुटाएर निर्माण गरिने वडाध्यक्ष तामाङले बताए । 

पक्की घर हस्तान्तरण गर्दै नगर प्रमुख शिवशंकर महतोले बस्तीमा निर्माण गर्न बाँकी रहेका ३७ वटा घर संघ तथा प्रदेश सरकार र दातृनिकायबाट स्रोत जुटाएर निर्माण गरिने प्रतिबद्धता जनाए । गरिब र अतिविपन्न भोर्लेनी गाउँको मुसहर बस्तीमा नगरपालिकाको पहलमा बाँकी घर निर्माण गरी उनीहरूको सुरक्षित बसोवासको व्यवस्थापन गरिने उनले बताए । घर हस्तान्तरण कार्यक्रममा उपप्रमुख चौधरीले मुसहर बस्तीका पाँच परिवारको घरसँगै सपना पूरा भएको बताइन् । ‘बस्तीको बाँकी घर निर्माण गरी हस्तान्तरण गर्न  प्रयास गर्नेछौँ,’ उनले भनिन् । प्रमुख प्रशासकीय अधिकृत दासले बस्तीको सामाजिक, आर्थिक, मानवीय विकासका लागि नगरपालिकाले सक्दो प्रयास गर्ने बताए ।