मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ३ शनिबार
  • Tuesday, 17 December, 2024
२o८o चैत ३ शनिबार o८:३o:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी गर्न बाटो खुला

विश्वका जुनसुकै मुलुकका पर्यटकले नेपालमा क्युआरबाट भुक्तानी गर्न सक्ने

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o चैत ३ शनिबार o८:३o:oo

व्यक्तिबाट व्यवसायीमा अर्थात् पर्सन टु मर्चेन्ट (पिटुएम) मोडलमा अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी खुला गरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार ‘एकीकृत परिपत्र, ०८०’ संशोधन गर्दै पिटुएम मोडलमा अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी गर्ने बाटो खुला गरेको हो । पहिलो चरणमा ‘क्विइक रेस्पोन्स कोड’ (क्युआर कोड)बाट मात्रै भुक्तानी गर्न मिल्ने गरी बाटो खुला गरिएको हो । 

राष्ट्र बैंकले परिपत्रमार्फत तोकेको सुविधा दिन आवश्यक तयारी भइरहेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले जनाएको छ । नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानी परीक्षणको काम सकिएपछि औपचारिक रूपमा यस्तो सेवा शुभारम्भ हुने एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले जानकारी दिए । ‘नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको प्राविधिक तयारी पूरा भइसकेको छ । अहिले अन्तिम परीक्षण भइरहेको छ,’ उनले भने, ‘अब छिट्टै यो सेवा शुभारम्भ हुन्छ ।’ 

हाल स्विच र एटिएम कार्डमार्फत अन्तर्राष्ट्रिय कारोबार तथा भुक्तानी भइरहेको छ । एटिएम कार्ड नगदमै आधारित कारोबार हो । स्विच कारोबारलाई डिजिटल मान्ने गरे पनि यो बैंक र भुक्तानी प्रणाली सञ्चालकले प्रयोग गर्ने प्रविधि हो । अब ग्राहक आफैँले कारोबार गर्न मिल्ने गरी पिटुएम मोडलमा अन्तर्राष्ट्रिय क्युआर भुक्तानीका लागि बाटो खुला गरिएको राष्ट्र बैंंकका निर्देशक निश्चल अधिकारीले जानकारी दिए ।

राष्ट्र बैंंकका निर्देशक निश्चल अधिकारी भन्छन्–  हाल स्विच र एटिएम कार्डमार्फत अन्तर्राष्ट्रिय कारोबार तथा भुक्तानी भइरहेको छ । एटिएम कार्ड नगदमै आधारित कारोबार हो । स्विच कारोबारलाई डिजिटल मान्ने गरे पनि यो बैंक र भुक्तानी प्रणाली सञ्चालकले प्रयोग गर्ने प्रविधि हो । अब ग्राहक आफैँले कारोबार गर्न मिल्ने गरी पिटुएम मोडलमा अन्तर्राष्ट्रिय क्युआर भुक्तानीका लागि बाटो खुला गरिएको छ । 

यसअनुसार विश्वका जुनसुकै देशका नागरिक (विशेष गरी पर्यटक)ले नेपालमा वस्तु तथा सेवा खरिद गर्दा क्युआरमार्फत भुक्तानी गर्न सक्छ । ‘नेपाली व्यवसायीले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवत्र्य विदेशी मुद्रा वाणिज्य तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी विदेशमा जारी भएको क्युआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्विचका माध्यमबाट स्वीकार गर्न सकिनेछ,’ परिपत्रमा भनिएको छ । यो व्यवस्था कार्यान्वयन हुन नेपाल र सम्बन्धित देशको तथा सेवाप्रदायकको भुक्तानी प्रणाली भने अन्तरआबद्ध हुनुपर्छ ।  

  पिटुपी मोडलमा नेपाल–भारत डिजिटल कारोबार पनि खुला 
शुक्रबार नै जारी परिपत्रमार्फत राष्ट्र बैंकले नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानी गर्न नीतिगत रूपमा बाटो खुला गरेको छ । अब नेपालका वाणिज्य र राष्ट्रियस्तरको विकास बैंकमा भएको खाताबाट भारतीय बैंकको खातामा र भारतीय बैंकको खाताबाट नेपालका वाणिज्य र राष्ट्रियस्तरको विकास बैंकको खातामा डिजिटल माध्यमबाट व्यक्तिगत खातामै भुक्तानी गर्न सकिनेछ । 

फोनपेले भारतीय नागरिकबाट नेपालको मर्चेन्ट खातामा भुुक्तानी गर्न सकिने सुविधा १६ फागुनबाटै सुरु गरेको छ । गत जेठमा सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा क्रसबोर्डर डिजिटल भुक्तानीसम्बन्धी समझदारी भएको थियो । सोहीअन्तर्गत यस्तो व्यवस्था गरिएको हो । यद्यपि, पहिलो चरणमा यसको सेवाको दायरा सीमित रहेको छ । 

परिपत्रअनुासर अब भारतमा कार्यरत नेपालीले मोबाइल बैंकिङ तथा क्युआरलगायत माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् । नेपाली नागरिकले भारतीय बैंकमा खोलेको खातामा आबद्ध इ–बैंकिङ, मोबाइल बैंकिङ, क्युआर कोडमार्फत यहाँको वाणिज्य तथा राष्ट्रियस्तरका विकास बैंकमा भएको व्यक्तिगत खातामा रेमिट्यान्स पठाउन सक्नेछन् । राष्ट्र बैंकका अनुसार यसमा कारोबारको सीमालगायत सर्त भने भारतले नै निर्धारण गर्नेछ । 

 भारतीय कामदारले पैसा पठाउन पाउने, मासिक सीमा एक लाख भारु
नेपालबाट भारतमा डिजिटल भुक्तानी गर्ने मामिलामा पहिलो चरणमा नेपालमा कार्यरत भारतीय नागरिकलाई मात्रै खुला गरिएको छ । परिपत्रअनुसार नेपालमा कार्यरत भारतीय नागरिकले यहाँको वाणिज्य तथा राष्ट्रियस्तरका विकास बैंक भएको खाताबाट इ–बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ र क्युआरमार्फत भारतीय बैंकमा पैसा पठाउन सक्नेछन् । त्यसका लागि दैनिक १५ हजार भारु र मासिक एक लाख भारुको सीमा तोकिएको छ । उनीहरूले पारिश्रमिकबापत सोबराबरको रकम पठाउन सक्नेछन् । तर, यस्तो कारोबारको विदेशी मुद्रा सटही सुविधामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निश्चित सीमा तोकेर व्यवस्था मिलाउनुपर्ने राष्ट्र बैंकको भनाइ छ । निर्देशक अधिकारीले नेपालीलाई यो सुविधा खुला नगरेको जानकारी दिए ।

६२ जिल्लामा झन्डै दुई करोडको अन्तरदेशीय क्युआर भुक्तानी
 नेपाल–भारतबीच अन्तरदेशीय (सीमापार) क्युआर भुक्तानी सुरु भएको १४ दिनमा एक करोड २० लाख भारुबराबरको कारोबार भएको छ । नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भारतको पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (युपिसिआई)ले १६ फागुनदेखि युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई)मार्फत सीमापार क्युआर भुक्तानी सुरु गरेका हुन् ।

अहिले पहिलो चरणमा भारतको फोनपे (भीम) एपबाट नेपालको फोनपेमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । त्यो सेवा सुरु भएको १४ दिनमा एक करोड २० लाख भारु अर्थात् एक करोड ९२ लाखबराबरको कारोबार भएको फोनपेबाट प्राप्त तथ्यांकले देखाएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले १४ दिन (१६ देखि २९ फागुनसम्म)मा एक करोड २० लाख भारुबराबरको कारोबार भएको जानकारी दिए । संख्याका आधारमा ६ हजार पाँच सय हारहारीको कारोबार भएको छ । 

‘अहिले दैनिक औसतमा पाँच सय ५० वटा कारोबार भएको छ । रकमका आधारमा दैनिक औसत १३ लाख भारुबराबरको कारोबार भएको छ,’ उनले भने, ‘मुख्यतः नेपाल आउने भारतीय पर्यटकले यस्तो भुक्तानी गरेको देखिन्छ । साथै, कतिपयले ट्रायल (परीक्षण)स्वरूप पनि यस्तो कारोबार गरेका हुन सक्छन् । यसरबारे विस्तृत अध्ययन भएको भने छैन ।’ नेपाल र भारतबीच सुरु भएको यो पहिलो अन्तरदेशीय डिजिटल कारोबार हो । यद्यपि, यसका सेवा सीमित छन् । भारतका व्यक्तिले नेपालको मर्चेन्ट (व्यवसायी)लाई मात्रै क्युआरमार्फत भुक्तानी गर्न मिल्ने गरी ‘पर्सन टु मर्चेन्ट’ (पिटुएम) मोडलमा यो अघि बढाइएको छ । सबै प्रकृतिको अन्तरदेशीय डिजिटल भुक्तानी खुला गर्ने विषयमा राष्ट्र बैंकले छुट्टै काम गर्दै छ । 

 ‘गुगल–पे’बाट पनि भुक्तानी 
विश्वका अधिकांश देशमा सेवा विस्तार गरिसकेको गुगल–पेबाट पनि फोनपेको क्यूआर स्कान गरि भुक्तानी गर्न मिल्ने भएको छ । गुगल पे अमेरिकाको भुक्तानी सेवा प्रदायक हो । त्यसको खाता भएका भारतीयले फोन पेको क्यूआर स्कान गरि भुक्तानी गर्न सक्ने व्यवस्था गरेको सीईओ सापकोटाले बताए । 

१४ दिनमा नेपालका ६२ जिल्लामा अन्तरदेशीय क्युआर भुक्तानी कारोबार भएको छ । त्यसमा काठमाडौं र कास्की (पोखरा) जिल्लामा धेरै कारोबार भएको फोनपेले बताएको छ । यसबाहेक सीमा क्षेत्रसँग जोडिएका तराईका जिल्लामा कारोबार संख्या धेरै देखिएको छ । ‘काठमाडौं, पोखरा र नेपाल–भारत सीमा क्षेत्रलाई नै लक्षित गरेर यो सेवा सुरु गरेको हो । सोही क्षेत्रमै बढी कारोबार भएको देखिएको छ,’ उनले भने । 

फोनपेमा आबद्ध दुई हजार दुई सय तीनवटा खाता (मर्चेन्ट)मा भारतीय खाताबाट रकम प्राप्त भएको छ । हाल नेपालमा १३ लाख मर्चेन्ट खाता छन् । त्यसमा झन्डै ७० प्रतिशत खाता अन्तरदेशीय क्युआर भुक्तानीमा आबद्ध भइसकेका छन् । हालसम्म ११ बैंक र दुई वालेट यो सेवामा आबद्ध भएका छन् । माछापुच्छ्रे, एनआइसी एसिया, एनएमबि, एभरेष्ट, राष्ट्रिय वाणिज्य, सिटिजन्स, कुमारी, लक्ष्मी, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा र नेपाल बैंक यसमा आबद्ध भएका छन् ।