
जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले वीरगन्जको नारायणी रंगशाला पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले मन्त्रिमण्डल पुनर्गठन भएर नयाँ अर्थमन्त्री र युवा खेलकुदमन्त्री आएको भन्दै मधेश प्रदेशको गौरवको रूपमा रहेको ऐतिहासिक नारायणी रंगशाला पुनर्निर्माण अगाडि बढाउन माग गरेका हुन्।
दुई अर्ब ६४ करोडको लागतमा पुनर्निर्माण गर्ने भनेर चार वर्षअगाडि डिपिआर बनेको र दुई वर्षसम्म आंशिक रूरुपमा काम भए पनि बजेट अभावले रोकिएको उल्लेख गर्दै यादवले बाँकी काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए।
‘केही वर्षअगाडि राष्ट्रिय खेलकुद परिषद्ले डिपिआर बनाएको थियो, त्यो डिपिआर दुई अर्ब ६४ करोडको लागतमा पुनर्निर्माण हुन्छ भनेर सरकारलाई जानकारी गराएको थियो। सरकारले सात करोड रुपैयाँ विनियोजन गरेको थियो। टेन्डर पनि आह्वान गर्याे, तर हात्तीको मुखमा जिरा। चार वर्षअगाडि सात करोड रुपैयाँ गएको, दुई वर्ष आंशिक निर्माण भएको र त्यसपछि बाँकी निर्माण अलपत्र परेको छ,’ उनले भने।
काठमाडौंको दशरथ रंगशालासँगै स्थापना भएको नारायणी रंगशाला पुनर्निर्माणको पर्खाइमा खण्डहर बन्दा खेलहरू हुन छाडेको उनको भनाइ थियो। ‘काठमाडौंको दशरथ रंगशालासँगै निर्माण भएको १८ बिगा जग्गामा अवस्थित नारायणी रंगशालामा क्रिकेट र फुटबललगायत खेल हुन्छ। तर, अहिले खण्डहर बनेको कारणले खेलहरू सुकेको छ। क्रिकेट हुन्छ, तर फुटबल खेल हुँदैन,’ उनले भने।
यादवले रंगशालाको पुनर्निर्माण गरेर क्षेत्रीय स्तरको बनाउन माग गरे। ‘अरू रंगशालामा सरकारको ध्यान छ। तर, वीरगन्जमा ध्यान पुग्न सकेको छैन। अब पुनर्गठित मन्त्रिमण्डलमा नयाँ अर्थमन्त्री र युवा खेलकुदमन्त्री आउनुभएको छ। रंगशालाका लागि खेलकुदमन्त्रीले बजेट माग गर्ने र अर्थमन्त्रीले यसै वर्ष दुई अर्ब निकासा गर्ने विश्वास छ,’ उनले भने।