१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १ बिहीबार १२:०९:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सीप सिकेर स्देशमै स्वरोजगार बन्ने युवाका सपना

Read Time : > 2 मिनेट
२०८० चैत १ बिहीबार १२:०९:००

पछिल्लो समयमा रोजगारका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा लर्काे लागिरहेको वेलामा केही जुम्ली युवाले भने सीप सिकेर स्वदेशमै स्वरोजगार बन्ने सपना देखेका छन्।

जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन युवाको लाइन तीव्र रूपमा बढिरहेको छ। चालू आर्थिक वर्ष ०८०/८१ मा जुम्लाबाट दुई हजार आठ सय २४ युवाले राहदानी फाराम भरेका छन्। पछिल्ला वर्षको तुलनामा यो संख्या निकै धेरै हो।

आर्थिक वर्ष ०७७/७८ मा जुम्लाबाट तीन सय ३६ जनाले राहदानी बनाएका थिए। यस्तै, आर्थिक वर्ष ०७८/७९ मा चार सय १० जनाले राहदानी लिएको प्रशासन कार्यालयको तथ्यांक छ। पछिल्ला यी वर्षहरूमा रोजगारीका लागि युवा बिदेसिने क्रम तीव्र रूपमा बढिरहेको तथ्यांकले देखाउँछ। देशको ऊर्जाशील जनशक्ति पलायन हुने क्रम बढ्ने गरेको छ। 

तर, तातोपानी गाउँपालिका– ३ लिताकोटका २३ वर्षीय प्रकाश सुनार भने सीप सिकेर स्थानीयस्तरमै स्वरोजगार बन्ने सोचमा छन्। उनी भन्छन्, ‘सीप सकेर स्थानीयस्तरमा स्वरोजगार बन्ने अपेक्षा गरेको छु। अहिले खानाको परिकार बनाउने सीप कुक तालिम गर्दै छु। स्थानीयस्तरमा उत्पादित रैथाने बालीको परिकार बनाउने सीप सिकेर व्यवसाय गर्ने अठोट गरेको छु। यहीँ उत्पादन हुने रैथाने बाली चिनो, कागुनो, मकै, कोदो पापर, आलुलगायतका अन्नबालीबाट थरीथरीका मिठा परिकार बनाउने सीप सिकिरहेको छु।’

सुनारले गाउँ घरमा नियमित खाइरहने अन्नबालीबाट विभिन्न परिकार बनाउन सकिने थाहा पाएका थिए। उनी भन्छन्, ‘आलुबाटै धेरै थरी खाने कुरा बन्दोरहेछ। कोदो, फापरको पिठोबाट केक, पिजा पनि बनाउन सकिँदो रैछ। अर्गानिक स्वाद आउने हुनाले पर्यटक र उपभोक्ताबाट आम्दानी हुने सम्भावना पनि छ। आफ्नै व्यवसाय गर्दा होस् वा कतै होटेलमा काम गर्दा सीपले सघाउ पुर्‍याउँछ।’

तिला गाउँपालिका– २ लर्मी गाउँकी कृष्णकली बुढा पनि रैथाने अन्नबालीको परिकार बनाउने सीप सिकिरहेकी छिन्। सीप सिकेर पहिलो आफ्नै होटेल खोलेर सीपको प्रयोग गर्ने, लगानी नपुगे होटेलमा काम गरेर स्वरोजगार बन्न सहज हुने उनको भनाइ छ।

‘गाउँमा पाइने अन्नबालीटै धेरै परिकार बन्ने रहेछ,’ उनले भनिन्, ‘होटेल व्यवसाय नखोले पनि घरमा नियमित एउटै खाना खानुभन्दा त्यही पिठो, आलुबाट पनि थरीथरीका परिकार बनाएर खुवाउन पाइने भयो। थोरै पुँजी जुटाउन सके सानो व्यवसाय गरे पनि कमाउने सीप सिकेर आधार बनेको छ। परिकार बनाउने तालिम लिन पाउन निकै खुसी छु।’

प्रकाश र कृष्णकलीजस्तै धेरै युवा खानाको परिकार बनाउने सीप सिकिरहेका छन्। जुम्लामा किर्डाक नेपालले सञ्चालन गरेको २४० घन्टे कुकिङ सीप सिकिरहेका छन्। बेरोजगार भएर बसेका १० जना युवालाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित कुकिङ तालिम चित्र बुढाले परिकार बनाउन सिकाइरहेका छन्। चित्र बुढा स्वदेश तथा विदेशमा कुकिङ सीप सिकेर जुम्लामै होमस्टे सञ्चालन गर्दै आएका छन्। 

आयआर्जन वृद्धिका लागि रैथानेबालीकै परिकार बनाउने सीप सिक्न थालेको प्रशिक्षक चित्रबहादुर बुढाले बताए। उनले भने, ‘२० दिनको अवधिमा आलुबाट बन्ने, चिप्स, बिस्कुट, नम्किन, पिठोबाट बन्ने केक, पिजालगायतका परिकार बनाउन सिकाइएको छ। युवाहरू निकै इच्छुक छन्। तालिम फलदायी बनेको छ।’

तालिम सिकेर व्यवसाय सञ्चालन गर्नुका साथै नभए अरूलाई सिकाएर पनि कमाउन सकिने अवस्था छ। जुम्ली रैथानेबालीको माग बढिरहेको अवस्थाका त्यसका परिकार बनाएर बजारमा पुर्‍याएको खण्डमा पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

रैथाने अन्नबालीको परिकार बनाएर बजारमा ल्याउने र आम्दानी वृद्धिसँगै युवालाई रोजगारमा जोड्ने उद्देश्यका साथ सीप सिकाउने तालिम सञ्चालन गरिएको किर्डाक नेपालका जिल्ला संयोजक दीपराज रावतले बताए। उनका अनुसार वर्ल्ड भिजनको सहयोगमा किर्डाकद्वारा सञ्चालित (राइच टु) परियोजनामार्फत कुकिङ सञ्चालन गरिएको हो।

कुकिङसँगै अटो वर्कसप, मोबाइल मर्मत, पम्बिङ, हाउस वाइरिङ, फर्निचरका न्यूनतम एक महिनादेखि ४५ दिनसम्मका सीप सिकाउने तालिम सञ्चालन गरिएको छ। करिब ८० जना युवाले सीप सिकिरहेका छन्। सीप सिकेका युवालाई व्यवसायसँग जोड्न बैंक, वित्तीय तथा सहकारी क्षेत्रसँग पनि सहकार्य भइरहेको संयोजक रावतले बताए।

सीप सिकेर स्थानीयस्तरमै स्वरोजगार बन्ने ठूलो आशा पलाएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचर्यले बताए। उनले भने, ‘सबै जग्गाजमिन बाँझो राखेर रोजगारका लागि बिदेसिने प्रचलनजस्तो बनेको वेला सीप सिकेर स्देशमै स्वरोजगार बन्न खोज्नु सुखद पक्ष हो।’