१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २९ मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण २९ मंगलबार o८:४३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रास्वपा बैठक : परिणाममुखी काम गर्न मन्त्रीहरूलाई सुझाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण २९ मंगलबार o८:४३:oo

राष्ट्रिय स्वतन्त्र पार्टीमा सल्लाह नगरी सरकारमा सहभागी भएको भन्दै विवाद उत्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सल्लाह नगरी सरकारमा गएको गुनासो गरेका हुन् । केन्द्रीय सदस्यहरू गणेश कार्की, मनीष झा, गणेश पराजुलीलगायतले सरकारमा सहभागी हुँदा पर्याप्त छलफल नभएको धारणा राखेका थिए ।

कार्कीले पार्टी सरकारमा सहभागी भएको विषयमा जानकारी नभएकाले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा राखेको प्रस्ट पारेका थिए । ‘छलफल त्यति भएन भन्ने साथीहरूको गुनासो थियो,’ केन्द्रीय सदस्य झाले भने, ‘त्यसमा महामन्त्रीज्यूले घटनाक्रम यति तीव्र भयो कि पर्याप्त अवसर नै पाइएन । प्रक्रियागत रूपमा लाग्दा जति समय लाग्छ, त्यति समय नै थिएन भन्नुभयो ।’

राजनीतिक संक्रमणकालीन परिस्थितिमा सिर्जित अनिश्चिततामा तीव्र निर्णय लिनुपर्ने भएकाले पनि प्रक्रियागत रूपमा जान नभ्याएको महामन्त्री मुकुल ढकालको जवाफ थियो । बैठकमा केन्द्रीय सदस्यहरूले प्रश्न गर्ने ठाउँबाट काम गर्ने र जवाफ दिने ठाउँमा पुगेको भन्दै प्रश्न नउठ्ने गरी परिणाममुखी काम गर्न नवनियुक्त मन्त्रीहरूलाई सुझाव दिएका थिए । मन्त्रीको कामसँग पार्टीको भविष्य जोडिएको भन्दै केन्द्रीय सदस्यले मानक राख्ने गरी उदाहरणीय काम गर्न मन्त्रीहरूको ध्यानाकर्षण गराएका थिए । यसका लागि आफूहरूले पूर्ण रूपमा सहयोग गर्ने उनीहरूको प्रतिबद्धता थियो । 

बैठकमा उपसभापति स्वर्णिम वाग्लेले राजनीति गरेपछि सरकारमा गएर नै डेलिभरी दिने हो भन्दै पार्टीले एकढिक्का भएर नवनियुक्त मन्त्रीलाई सहयोग गर्नुपर्ने धारणा राखे । सभापति र उपसभापति सरकारमा गएकाले पार्टी र संसद् सम्हाल्नुपर्ने दायित्वका बीच आफू सरकारमा नगएको वाग्लेको भनाइ थियो । कामबाट पार्टीले आफूलाई प्रमाणित गर्ने यो उपयुक्त अवसर भएको उनको धारणा थियो । 

सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नागरिकलाई सरल र सहज सेवा प्रवाहका लागि प्रतिकूल अवस्थामा सरकारमा जाने निर्णय गरेको बताए । ‘हामीले सुधारका केही काम सुरु गरिसकेका छौँ । डेलिभरी दिन सरकारमा गएका हौँ । हामी तपाईंहरूलाई निराश बनाउँदैनौँ,’ उनले भने । 

महामन्त्री मुकुल ढकालका अनुसार बैठकले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सहयोग गर्ने निर्णय गरेको छ । ‘यस ऐतिहासिक अवसरलाई सफल बनाउन आवश्यक योगदान र समन्वय गर्ने तथा सरकारको कार्यसम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा (सरकार, संसद्, संगठन)मा सल्लाह–सुझावका आधारमा सहयोगी टिम गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने,’ निर्णयमा भनिएको छ । 

 इलाम २ मा एक्लै चुनाव लड्ने, बझाङको प्रदेश सभा निर्वाचनमा भाग नलिने 
रास्वपाले इलाम २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भाग लिने, तर बझाङको प्रदेश उपनिर्वाचनमा भाग नलिने निर्णय पनि गरेको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगमा दुई सदस्य मनोनीत गरेको छ । जसमा अधिवक्ताहरू बर्दियाका दीपक अधिकारी र अर्घाखाँचीका शान्ता थापा छन् । बैठकले इश्रामुल्ला मियाको नेतृत्वमा केन्द्रीय जनसम्पर्क विभाग गठन गरेको छ । विभागको सदस्यमा कुमारबहादुर थापा क्षेत्री छन् ।