सूर्य नेपाल च्यालेन्ज सुरु : पहिलो दिन रामे मगरलाई अग्रता

मंगलबार, २२ फागुन, २०८०
डिजिटल संस्करण

भेट्रान प्रोफेसनल गल्फर रामे मगरले सोमबार सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौँ सूर्य नेपाल च्यालेन्जको पहिलो दिन तीन अन्डर ६५ को स्कोर गर्दै शीर्ष स्थानमा कब्जा जमाएका छन् । रामेले एमेच्योर युवा गल्फर तथा साबिक विजेता सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् । दुई अन्डर ६६ स्कोरका साथ सदभाव आचार्य दोस्रो स्थानमा छन् । भुवन नगरकोटी एक अन्डर ६७ स्कोरसहित तेस्रो स्थानमा छन् । भुवनसँगै तेस्रो स्थानमै धनबहादुर थापा रहेका छन् । इभन पार ६८ स्कोर गरेका टंकबहादुर कार्की पाँचौँ स्थानमा छन् । एक ओभर ६९ स्कोरसहित रवि खड्का छैटौँ स्थानमा छन् ।

दुई ओभर ७० स्कोरका साथ पहिलो दिनको खेल समाप्तिसम्म रमेश अधिकारी, सूर्यप्रसाद शर्मा र दिनेश प्रजापतिले संयुक्त रूपमा सातौँ स्थान बाँडेका छन् । पशुपति शर्मा, जयराम श्रेष्ठ, दीपक मगर, तोरणविक्रम शाही तथा एमेच्योर गल्फरद्वय राहुल बिके र टासी छिरिङले तीन ओभर ७१ स्कोर गरी संयुक्त रूपमा १०औँ स्थान बाँडे । लामो समयपछि लयमा रहँदै शीर्ष स्थानमा रहेका रामेले फ्रन्ट नाइन तीन अन्डर ३१ स्कोरको उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो, दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे । ब्याक नाइनमा उनले इभन पार खेल्दै ३४ स्कोर गरे । यस क्रममा उनले फन्ट नाइनको १०औँ, १२औँ र १३औँ होलमा एक–एक सट बचाए । 

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका गल्फर सदभावले फ्रन्ट नाइनमा तीन अन्डर ३१ स्कोर गरेका थिए । छैटौँ होलमा उनले बोगीविरुद्ध चार बर्डी प्रहार गरे । उनले पहिलो, दोस्रो, सातौँ र आठौँ होलमा एक–एक सट बचाए । ब्याक नाइनमा तीन बर्डी र चार बोगी प्रहार गरेका उनले ११औँ, १३औँ र १६औँ होलमा बर्डी प्रहार गरे । १४औँ, १५औँ र १७औँ होलमा एक–एक सट खेर फाल्दा ब्याक नाइन उनीमा एक ओभर ३५ स्कोरको अवस्थामा पुगे । 

सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन विजेता भुवनले चौथो र पाँचौँ होलको बर्डीको सहायताले फ्रन्ट नाइन दुई अन्डर ३२ स्कोर गरे । त्यसपछि १०औँ होलमा एक सट बचाएका उनले १३औँ र १६औँ होलको बोगीले ब्याक नाइन एक ओभर ३५ स्कोर गरे ।

सुझावित समाचार