१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
वर्षाका कारण नामिबिया र नेदरल्यान्ड्सबीच खेल स्थगित भएपछिको त्रिवि क्रिकेट मैदान ।
रमेश सुवेदी काठमाडाैं
२०८० फाल्गुण २१ सोमबार ०७:५८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल र नेदरल्यान्ड्स फाइनलमा भिड्ने

त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाका कारण स्थगित भएपछि त्रिदेशीय टी–२० शृंखलामा तीन अंक जोडेको नामिबिया बाहिरियो, घरेलु टोली नेपाल उपाधिका लागि नेदरल्यान्ड्सँग भोलि भिड्दै

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०८० फाल्गुण २१ सोमबार ०७:५८:००

नेपाल र नेदरल्यान्ड्सबीच त्रिदेशीय टी–२० शृंखलाको उपाधिका लागि मंगलबार प्रतिस्पर्धा हुने भएको छ । तीन देश सम्मिलित शृंखलाको शीर्ष दुई स्थानमा रहँदै दुवै टोलीले उपाधि भिडन्त पक्का पारेका हुन् । प्रतियोगितामा सहभागी तेस्रो टोली नामिबिया फाइनल पुग्न वञ्चित भएको छ । चार खेलमा नेदरल्यान्ड्सको दुई जितसहित पाँच अंक छ ।

घरेलु टोली नेपालले चार अंक र नामिबियाले तीन अंक जोडेका छन् । प्रतियोगिताको आइतबार नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण स्थगित भयो । खेल स्थगित भएसँगै दुवै टोलीले अंक बाँडे । यसको फाइदा नेदरल्यान्ड्सलाई भयो । नेदरल्यान्ड्स सर्वाधिक पाँच अंकसहित शीर्ष स्थानमा रह्यो । तीन अंक जोडेको नामिबिया पुछारमा रह्यो । 

यसअघि नेपालले शनिबार नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । नेपालका अलराउन्डर गुल्सन झाले नेदरल्यान्ड्सविरुद्धको फाइनल जित्न खेल्ने बताएका छन् । ‘हामी पछिल्लो समयजस्तो क्रिकेट खेलिरहेका छौँ, यहीअनुरूप उपाधि भिडन्त पनि खेल्छौँ । पछिल्ला केही खेलमा हामीलाई भाग्यको साथ रहेन,’ झाले भने, ‘अन्तिम दुई खेल राम्रो भयो । अब, फाइनल पनि जित्नका लागि खेल्छौँ ।’ 

नामिबियाको कप्तान जेजे स्मिथले प्रतियोगितामा नेपाल बलियो रहेको र फाइनल उपाधि दाबेदार रहेको बताएका छन् । ‘नेपालसँग घरेलु समर्थक छन् । पछिल्ला दुई खेल जितेका कारण पनि टोली लयमा छ । नेपालको सम्भावना बढी देख्छु,’ उनले भने । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । तर, त्यसपछि दुई खेलमा लगातार जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । नेपालले आफ्नो तेस्रो खेलमा नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो । 

नेदरल्यान्ड्स र नामिबियाले अंक बाँडे 
हिउँद सकिएर प्रि–मनसुनको अवधि सुरु भएसँगै नेपालमा आइतबारबाट वर्षा सुरु भयो । शनिबार नेपाल र नेदरल्यान्ड्सको खेलमा पनि वर्षा हुने अनुमान थियो । यस खेलमा वर्षाले प्रभावित पारेन । तर, आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको खेलमा वर्षा भयो । खेल पूरा हुन पाएन । म्याच अम्पायरले दुवै टोलीलाई अंक दिए । यसको घाटा नामिबियालाई भयो । नेदरल्यान्ड्सविरुद्धको ठूलो अन्तरको जितले नामिबियाको फाइनल सम्भावना थियो । तर, वर्षाकै कारण नामिबियाको यो लक्ष्य पूरा हुन सकेन । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध टस हारेर नामिबियाले पहिलो ब्याटिङ गरेको थियो । नामिबियाले ब्याटिङ गरिरहँदा १५ ओभरमा ९८–४ को नाजुक अवस्थामा वर्षा भयो । केही समय वर्षा रोकिएपछि छोपिएको कभर हटाइएको हो । तर, खेल सुरु हुनै लाग्दा पुनः वर्षा भएपछि खेल रद्द भयो । म्याच अम्पायर नारायनन कुटीले नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डस् र नामिबियाका कप्तान जेजे स्मिथलाई बोलाउँदै खेल नहुने बताए । वर्षाले खेल स्थगित हुनुअघि नामिबियाका जान निकोल इटन २९ बलमा ३४ रनमा अविजित रहे । जान ग्रिनले १० बलमा ११ रन बनाएर अविजित थिए । अघि मालन क्रुगरले १८ बलमा २४ रन बनाएर आउट भएका थिए । 

नेपालले आयरल्यान्ड ‘ए’ टिमसँग आठ खेल खेल्ने
नेपाल राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा टेस्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोलीसँग आठ खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ टोली नेपाल भ्रमणमा आउने र आठ खेल हुने जनाएको छ । नेपालको सिनियर टोली र ‘ए’ टिमले आठ खेल खेल्ने क्यानले जनाएको छ । आइसिसीको आयरल्यान्ड पूर्णकालीन सदस्य हो ।

आइसिसी टेस्ट वरीयतामा आयरल्यान्ड १२औँ र एकदिवसीयतर्फ १३औँ स्थानमा छ । नेपाल एकदिवसीय वरीयतामा १५औँ स्थानमा रहेको छ । क्यानका अनुसार नेपालको सिनियर टोलीले पहिलो दुई खेल टी–२० फम्र्याटमा खेल्नेछ । यो खेल ११ र १२ चैतमा हुनेछ । दुई दिनको विश्रामपछि नेपालको ‘ए’ टिमले तीन टी–२० खेल खेल्नेछ । नेपालको ‘ए’ टोलीले आयरल्यान्डविरुद्ध १५, १६ र १७ चैतमा लगातार खेल खेल्नेछ । नेपालको ‘ए’ टिमले २१ चैत, २३ चैत र २५ चैतमा आयरल्यान्डविरुद्ध एकदिवसीय खेल खेल्नेछ । क्यानले कुन मैदानमा खेलाउने भनेर निर्णय गरेको छैन । 

 दीपेन्द्र, कुशल, आसिफ र सोमपाललाई विश्राम
हङकङमा आयोजना हुने त्रिदेशीय टी–२० शृंखलामा सिनियर टोलीका ओपनर आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र अनिलकुमार शाहलाई विश्राम दिइएको छ । आसिफसँगै ६ खेलाडी नेदरल्यान्ड्स र नामिबियाविरुद्धको शृंखला टोलीमा रहेका छन् । उनीहरूको स्थानमा अनुभवी विनोद भण्डारीसँगै युवा खेलाडीहरू आकाश चन्द, लोकश बम र रसिद खानलाई टोलीमा समेटिएको छ । क्यानले पपुवा न्युगिनी (पिएनजी) र हङकङविरुद्ध हुने शृंखलाका लागि कप्तान रोहितकुमार पौडेलसहित १४ खेलाडी घोषणा गरेको छ । नेपालले पहिलो खेल मार्च ९ मा हङकङसँग खेल्नेछ ।