१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
यम बम काठमाडाैं
२०८० फाल्गुण २१ सोमबार ०६:१५:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

१६ वर्षपछि चरम खडेरीमा बित्यो यसपालिको हिउँद

Read Time : > 3 मिनेट
यम बम, काठमाडाैं
२०८० फाल्गुण २१ सोमबार ०६:१५:००

यसपटकको हिउँद (१५ मंसिरदेखि १७ फागुनसम्म) चरम खडेरीमा बितेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो हिउँदमा औसत वर्षाको २१ प्रतिशत अर्थात् १२.५ मिलिमिटर मात्र वर्षा भएको छ । जुन पछिल्ला १६ वर्षपछिका हिउँदकै कम वर्षा हो । ०६५ मा ११.८ मिलिमिटर मात्र पानी परेको थियो ।सुक्खामै बितेको गत वर्षको हिउँदमा १२.९ मिलिमिटर पानी परेको थियो । देशभरका २० वटा मुख्य वर्षा मापन केन्द्रको औसत आँकडाअनुसार हिउँदमा औसत ६०.१ मिलिमिटर (वार्षिक वर्षाको तीन प्रतिशत) पानी पर्नुपर्ने हो । 

यसपटकको हिउँद देशव्यापी ७९ प्रतिशत हाराहारी सुक्खा रहेकामा मध्य र पूर्वी नेपालमा भने झन्डै शतप्रतिशत खडेरी रह्यो । सरदर वर्षाको ७५ प्रतिशतभन्दा कम भएमा खडेरीको अवस्था हुन्छ भने जम्मा सरदर वर्षाको २१ प्रतिशत मात्र वर्षा हुनु भनेको अधिक खडेरीको अवस्था हो । मापन केन्द्रहरूको सरदर वर्षासँग तुलना गर्दा भैरहवा, सिमरा, जनकपुर, विराटनगर, धरान र ताप्लेजुङ क्षेत्रमा पाँच प्रतिशत पनि पानी परेको छैन । धनकुटा त हिउँदभर शतप्रतिशत खडेरीमै बितेको छ ।

काठमाडौं पनि १९ माघसम्म अत्यधिक खडेरीमा बित्यो । तर, त्यसपछि भने केही सुधार भएर १९ प्रतिशत हाराहारी पानी परे पनि खडेरी नै रह्यो । सबैभन्दा बढी वर्षा जिरी क्षेत्रमा भएको छ । त्यहाँ सोही स्टेसनको हिउँदे अवधिको औसत वर्षाको ५५ प्रतिशत हाराहारी पानी परेको छ । जिरीमा पनि ३ माघसम्म पानी पर्न सकेको थिएन, त्यसपछि भने सुधार भएको हो ।
उच्च हिमाली क्षेत्रमा कात्तिक अन्तिमदेखि र उच्च पहाडी तथा हिमाली क्षेत्रमा मंसिरदेखि नै हिमपात हुने भए पनि यसपटक खासै हिमपात भएन । माघ र मध्य फागुनमा केही क्षेत्रमा मात्रै हिमपात भएको छ । 

विभागले यसपटकको हिउँदमा औसतभन्दा धेरै वर्षा हुने आकलन गरे पनि ठीक उल्टो भइदिएको छ । एलिनो (प्रशान्त महासागरको पूर्वीतटीय क्षेत्र औसतभन्दा तातो हुनु) हुँदा नेपालमा हिउँदमा औसतभन्दा धेरै वर्षा हुने ठानिन्छ । ‘सम्भाव्यता हेरेरै औसतभन्दा धेरै वर्षा हुन्छ भनेका थियौँ । कम पानी पर्‍यो । यसमा अरू फ्याक्टर जोडिएका होलान्, अध्ययन सार्वजनिक होलान्,’ विभागको हावापानी विश्लेषण शाखा प्रमुखसमेत रहेकी मौसमविद् विभूति पोखरेलले भनिन्, ‘यसपटक पश्चिमी वायु कम सक्रिय हुँदा कम पानी परेको हो ।’ तर, हिउँदे वर्षा कुनै वर्ष कम र कुनै वर्ष धेरै हुने प्रक्रिया नै रहेको उनले बताइन् ।

नेपालमा यस वर्ष बर्खामा पनि कम पानी परेको थियो । मनसुन भनिने बर्खा अवधिमा औसत एक हजार ४७२ मिलिमिटर पानी पर्ने भए पनि यसपटक एक हजार ३०३ मिमि (८८.५ प्रतिशत) मात्र पानी परेको थियो । त्यसपछि पोस्ट मनसुन भनिने अवधि (हिउँदअघि) पनि औसतभन्दा कम वर्षा भएको थियो ।

०६२ यताका ६ हिउँदमा मात्र औसतभन्दा धेरै वर्षा, १३ हिउँद सुक्खा
पछिल्ला १९ हिउँदमध्ये ६ वटामा मात्र औसतभन्दा धेरै वर्षा भएको छ । बाँकी १३ हिउँदमा औसतभन्दा कम पानी परेको छ । अझ त्यसमध्ये पनि नौ हिउँद त चरम सुक्खामा बितेका छन् । मौसम विभागको तथ्यांकअनुसार १९ हिउँदमा सबैभन्दा धेरै ०७६ मा १४२.५ मिमि पानी परेको छ । ०६२ चरम सुक्खा (७.१ मिलिमिटर मात्र वर्षा ) हुँदा ०६३ मा भने औसतभन्दा बढी पानी परेको थियो । सो वर्ष १०६.७ मिलिमिटर पानी परेको थियो । फेरि ०६४ र ०६५ को हिउँद चरम सुक्खामा बित्यो । ०६४ मा १५.३ र ०६५ मा अझ कम ११.८ मिमि मात्र पानी परेको देखिन्छ । 

त्यसपछिका केही हिउँदमा भने तुलनात्मक रूपमा सुधार भएको देखिन्छ । औसत वर्षा नभए पनि ०६६, ०६७ र ०६८ चरम खडेरीबाट जोगिए । विभागको तथ्यांकअनुसार ०६६ मा ३७.२ मिलमिटर, ०६७ मा ४७.१ मिलिमिटर र ०६८ मा ४९ मिलिमिटर पानी परेको देखिन्छ । ०६९ को हिउँदमा औसतभन्दा धेरै ९५.६ मिलिमिटर पानी परेको छ भने त्यसपछिका वर्षमा ५४.६ मिलिमिटर वर्षा भएको छ ।

०७१ मा फेरि औसतभन्दा धेरै ८४.९ मिलिमिटर पानी पर्‍यो । तर, त्यसपछिका तीन हिउँद लगातार सुक्खा रहे । ०७२ को हिउँदमा २१.८, ०७२ मा १९.९ र ०७४ मा १६.७ मिलिमिटर पानी परेको छ । ०७५ मा औसतभन्दा धेरै १००.५ मिलिमिटर पानी परे पनि ०७७ मा भने १५.४ मिलिमिटर मात्र पर्‍यो । पछिल्लोपटक ०७८ मा औसतभन्दा धेरै ७२ मिलिमिटर पानी परे पनि त्यसपछिका दुई हिउँद लगातार खडेरीमा बिते ।

यसपटक पश्चिमी वायु कम सक्रिय हुँदा कम पानी परेको हो
विभूति पोखरेल, हावापानी 
विश्लेषण शाखा प्रमुख, मौसम विभाग

सम्भाव्यता हेरेरै औसतभन्दा धेरै वर्षा हुन्छ भनेका थियौँ । कम पानी पर्‍यो । यसमा अरू फ्याक्टर जोडिएका होलान्, अध्ययन सार्वजनिक होलान् । यसपटक पश्चिमी वायु कम सक्रिय हुँदा कम पानी परेको हो ।

 हिउँद सकिएपछि वर्षा
 हिउँद सकिएपछि आइतबार पश्चिम हुँदै मध्य नेपालसम्म वर्षा भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण शनिबार राति र आइतबार हल्कादेखि मध्यम वर्षा भएको हो । सोमबार गण्डकी र कर्णालीका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताइन् । ‘अहिले फैलिएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएको छ ।

सोमबार काठमाडौंमा वर्षाको सम्भावना छैन,’ उनले भनिन् । १२ घण्टामा एक सय ५० स्टेसनमध्ये सय स्टेसनमा वर्षा भएको छ । यस अवधिमा सबैभन्दा बढी पानी बैतडीको सतबाँझ क्षेत्रमा २२ मिलिमिटर परेको छ । काठमाडौंको धापड्याम क्षेत्रमा पनि १० मिमिसम्म पानी परेको छ ।

पूर्वी नेपालको ओखलढुंगा, सोलुखुम्बु, धनकुटा, भोजपुर क्षेत्रमा छिटपुट वर्षा भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । १८ फागुनदेखि प्रिमनसुन सुरु भए पनि सक्रिय भइसकेको छैन । आइतबार पश्चिमी न्यूनचापीय प्रणालीका कारण वर्षा भएको थियो । प्रिमनसुनमा स्थानीय वायु बढी सक्रिय हुन्छ भने हावाहुरीसहित चट्याङ र वर्षाको सम्भावना हुन्छ ।