१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:११:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:११:oo

काठमाडौं महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । महानगरमा तीन लाख १२ हजार करदाता दर्ता भए पनि दुई लाखले नियमित कर तिर्दैनन् । 

कामपा राजस्व विभागका अनुसार लामो समयदेखि दर्ता प्रक्रियामै नआएका करदातालाई नियमअनुसार समावेश गर्न महानगरले वडास्तरीय अनुगमन गरी नियमसंगत रूपमा ल्याउने तयारी गरेको छ । कर तिर्नका लागि आलटाल गर्नेमा सबैभन्दा धेरै बहाल करमा करिब एक लाख करदाता छन् । यस्तै, व्यवसाय कर, मनोरञ्जन कर र विज्ञापन करमा एक लाखको हाराहारीमा रहेको कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिए । उनका अनुसार दर्ता प्रक्रियामा नआएका सबै शीर्षकका करदातालाई नियमअनुसार बनाउन यसै महिनादेखि कामपाका ३२ वटै वडाबाट नियमित अनुगमन गरी प्रक्रियामा ल्याउने तयारी कामपाको रहेको छ ।  

कामपामा कर तिर्नका लागि दर्ता प्रक्रियामा आएका, तर नियमित कर नबुझाउने करदाताबाट पनि दुई अर्ब बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख काफ्लेले जानकारी दिए । उक्त रकम विगत १२ वर्षदेखिको रहेको कामपाको भनाइ छ । दर्ता गरेर पनि नियमअनुसार कर नतिरेका करदाताका लागि कामपाले चालू आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म तिर्नुपर्ने रकममा केही छुट दिएको थियो । 

सोही अवधिमा दर्ता प्रक्रियामा रहेको केही करदाताले कर तिरेका भए पनि अझै धेरै करदाताले तिर्नका लागि आलटाल गरिरहेका छन् । दुई वर्षअघि पनि कामपाले २८ वर्षदेखिको बक्यौता रकम असुल गर्न भन्दै त्यस्ता करदाताको नाम नै सार्वजनिक गरेको थियो । उक्त समयमा घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने र बक्यौता तिर्ने क्रम बढेको भए पनि अहिले बक्यौता तिर्ने क्रम ठप्पजस्तै रहेको काफ्लेको भनाइ छ ।    

चालू आवका लागि जम्मा १० अर्ब ८० करोड वार्षिक लक्ष्य लिएको कामपाले चालू आर्थिक महिनाको अवधि पार गरिसक्दा पाँच अर्ब ८० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । चालू आवको अर्धवार्षिक अवधिसम्म कामपाको राजस्व संकलनको अवस्था राम्रो रहे पनि पछिल्लो माघ महिनामा कामपाको आम्दानी अन्य महिनाको तुलनामा घटेको छ ।

ad
ad