१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट घाइते भएकाहरू अस्पतालमा
२०८० फाल्गुण १९ शनिबार ०६:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा ६ स्थानीय घाइते

Read Time : > 1 मिनेट
२०८० फाल्गुण १९ शनिबार ०६:५४:००

सीमाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले झापामा स्थानीयमाथि खुकुरी प्रहार गरेको छ । मेचीनगर– ७ स्थित नेपाल–भारत सीमानजिकको गैरीगाउँमा स्थानीय र सशस्त्र प्रहरीबीच विवाद हुुँदा घटना भएको हो । विवाद हुँदा सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन् । विवाद भएको स्थान नेपाल–भारत सीमाबाट करिब दुई सय मिटरनजिक पर्छ । 

सतीघट्टास्थित प्रस्तावित बिओपीका सशस्त्र प्रहरीले हानेको खुकुरीबाट ६ जना घाइते भएको हरि बाँतरले बताए । उनका अनुसार घाइते हुनेमा दीपा बाँतर, हरि बाँतर, विशेष राजवंशी, मिलन चापागाईं, आनह यादव र दीपक बाँतर छन् । घाइतेलाई उपचारका लागि अस्पताल लैजान समन्वय गरेका पत्रकारसमेत रहेका स्थानीय मुक्ति पौडेलले उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको बताए । 

उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल लगिएको थियो । मनमोहन अस्पतालमा उपचार सम्भव नभएपछि बिएन्डसी अस्पताल लगिएको पौडेलले जानकारी दिए । ‘हाम्री एक बहिनीलाई सशस्त्र प्रहरीले भाटैभाटाले हानेछ । कसले कुट्यो भन्दा सशस्त्रले भनिन्,’ हरि बाँतरले भने, ‘किन कुटेको भनेर सशस्त्रलाई सोध्दा तँ भाग अहिले कति बज्यो, घरभित्र छिर भनेर गाडी रोकेर खुकुरी झिकेर हान्न थाल्यो । जो आउँछ त्यसैलाई मार्छु भन्न थाल्यो ।’ स्थानीय आनन्द यादवले सशस्त्र प्रहरीले गोली हान्ने धम्की दिँदै स्थानीयमाथि हातपात गरेको बताए । 

स्थानीयसँगको झडपमा सशस्त्र प्रहरीतर्फका पनि केही घाइते भएको सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्र राईले बताए । उनले ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि हुलहुज्जत गर्दा घटना भएको दाबी गरे । 

सशस्त्र प्रहरी र स्थानीयबीच तस्करीको सामानको विषयमा विवाद भएको हो  । स्थानीय एक महिलाले भारतबाट अवैध रूपमा कपडा ल्याएपछि सतीघट्टास्थित प्रस्तावित बिओपीबाट खटिएको प्रहरी टोलीले रोकेको थियो । ‘चार–पाँच बोरा कपडा ल्याएको सूचना प्राप्त भयो । ड्युटीमा खटिएको टोलीले चोरीपैठारीको सामान रोक्यो । गाडीमा हालेर सामान ल्याउँदै गर्दा तस्करहरूले गाडी घेरेछन्,’ सशस्त्र प्रहरी नम्बर १ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले भने, ‘गाडीमा ढुंगा पनि हानेछन् । गाडीमा क्षति पनि भएको छ । केही सशस्त्र प्रहरी पनि घाइते छन् । सामान पनि खोसेर लगेछन् ।’ 

यद्यपि, सशस्त्र प्रहरीले खुकुरी प्रहार नगरेको डिआइजी पोखरेलले दाबी गरे । ‘तस्करहरूले फन्डा बनाएका हुन् । उनीहरू आफैँ पनि चोटपटक लगाउने काम गर्छन् । तर, हामी बुझ्दै छौँ,’ उनले भने, ‘हाम्रो टोलीले खुकुरी नै बोक्दैन । कि त हतियार बोक्छ, कित लाठी बोक्छ ।’ यद्यपि, नयाँ पत्रिकालाई प्राप्त भएको भिडियोअनुसार घटनास्थलमा स्थानीयहरू रगताम्य देखिन्छन् । पूर्वी नाकामा सशस्त्र प्रहरी पटकपटक विवादमा आउने गरेको छ । गत जेठमा सादा पोसाकमा खटिएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राई नेतृत्वको टोलीले मेचीनगरस्थित सीमानाकामा खटिएका आफ्नै प्रहरी कर्मचारीमाथि कुटपिट गरेको थियो । जसका कारण सशस्त्र प्रहरी निरीक्षक राई निलम्बनमा समेत परेका थिए ।