१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण १५ मंगलबार o६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

दुग्ध किसानको बक्यौता तुरुन्तै भुक्तानी गराउन प्रधानमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार o६:१८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दुध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिलाउन निर्देशन दिएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई सिंहदरबारस्थित कार्यालयमा बोलाएर उनले किसानको दुधको बक्यौता तुरुन्तै भुक्तानी गराउन निर्देशन दिएका हुन् । 

प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानीसमेत तुरुन्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिएका छन् । ‘दुग्ध किसानले महिनौँसम्म भुक्तानी नपाएको विषयमा प्रधानमन्त्रीले गम्भीर चासो राख्नुभयो, किसानको समस्याप्रति गम्भीर हुन कृषिमन्त्रीलाई निर्देशन दिनुभएको छ,’ मुख्यमन्त्री अर्यालले भने । 

प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रबाट किसानलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । ‘किसानहरूले महिनौँसम्म दुधको भुक्तानी नपाउनुको कारण के हो ? यसलाई गम्भीरतापूर्वक लिनुस्,’ प्रधानमन्त्रीको निर्देशन थियो, ‘निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस् ।’

दुध बिक्रीको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबारबाट आन्दोलन सुरु गरेका छन् । केन्द्रीय दुग्ध सहकारी संघको अगुवाइमा किसानले सोमबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर बक्यौता असुलीका लागि दबाब दिएका थिए । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर कुँवरले सोमबार मात्र ४० जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको बताए । उनले भने, ‘भोलि अन्य जिल्लामा पनि बुझाउँछौँ, त्यसपछि सडकमा आउने तयारीमा छौँ ।’

केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले दुई हप्ताअघि नै प्रधानमन्त्रीलाई भुक्तानीको समस्याबारे ज्ञापनपत्र बुझाउँदा पनि कृषिमन्त्रीलाई तत्काल निर्देशन दिएकामा अहिलेसम्म कार्यान्वयनमा नगएको बताए । ‘हामीले ज्ञापनपत्र बुझाउँदा पनि प्रधानमन्त्रीले कृषिमन्त्रीलाई हाम्रै अगाडि फोन गरेर निर्देशन दिनुभएको थियो, तर अब हाम्रो आन्दोलन रोकिन्न,’ उनले भने ।
 

ad
ad
ad
ad