१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ जेठ २ बुधबार १३:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कुशल भुर्तेलको ६६ रनको बाबजुद नेपाल १७२ रनमा अलआउट, नेदरल्यान्ड्सलाई सहज लक्ष्य

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:२o:oo

आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल एक सय ७२ रनमा अलआउट भएको छ । ४९.३ ओभरमा नेपाल अलआउट भएको हो । 

नेदरल्यान्ड्सले जितका लागि एक सय ७३ रनको सहज लक्ष्य पाएको छ । २६ बलमा २७ रन बनाएका करण केसी अन्तिम विकेटका रूपमा आउट भए । 
 
जारी प्रतियोगिताका अघिल्ला खेलमा जस्तै आजको खेलमा पनि नेपाली ब्याटिङ लाइनअप ध्वस्त भयो । ओपनर कुशल भुर्तेलले ९३ बलमा आठ चौकासहित ६६ रन बनाएर नेपाललाई सम्हाले । 

अर्धशतक प्रहार गरिसकेपछि रनको गति केही बढाउने ध्यानमा देखिएका कुशल भान डेरको बलमा उनकै हातबाट आउट हुन पुगे । कुशलपछि धेरै रन बनाउने खेलाडी करण रहे । उनले २७ रनको योगदान दिए । 

कुशलले पाँच चौकाको मद्दतमा ७९ बलमा ५० रन पूरा गरेका हुन् । ५२औँ एकदिवसीय इनिङ्समा उनको यो आठौँ अर्धशतक हो । 

आरिफ शेखले ५० बल खेलेर २२ रन बनाए । उनले कुशल भुर्तेलसँग २८, गुल्सन झासँग १३ र करणसँग् ३६ रनको साझेदारी गरे । आरिफ र करण क्रिजमा रहँदा नेपालले एक सय ९० रनसम्म बनाउन सक्ने सम्भावना देखिएको थियो । किनभने, उनी आउट हुनु अघिल्लो ओभरमा नेपालले १६ रन बटुलेको थियो । त्यही ओभरमा करणले दुई छक्का प्रहार गरेका थिए । 

उनी भिभियन किंग्माको बलमा आउट भएसँगै नेपाली इनिङ समेटिने दिशातर्फ अघि बढ्यो । उनी आउट हुँदा नेपालले ४८.२ ओभरमा एक सय ७१ रन बनाएको थियो । उनको स्थानमा आएका ललित राजवंशी चार बल खेलेर शून्य रनमा अविजित रहे । 

नेपालले ८.३ ओभरमा ४२ रनको अवस्थामा पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । लगत्तै आठ रन थप्दा नेपालले दोस्रो विकेट गुमायो । भिभाङ किंमालाई छक्का प्रहार गरेका अनिल साह उनकै बलमा सात रन बनाएर आउट भए । उनले ११ बल खेलेका थिए । 

नौ बल खेलेर दुई रन बनाएका कुशल मल्ल आर्यन दत्तको बलमा एलबिडब्लु धरापमा पर्दा नेपालले तेस्रो विकेट गुमायो । यसवेला नेपालले १२.६ ओभरमा ५४ रन बनाएको थियो । 

कुशल आउट भएपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले ३३ रनको साझेदारी गरेका मात्र थिए रोहितले दत्तकै बलमा अनावश्यक सट प्रहार गरेर विकेट गुमाए । ४० बल खेलेका उनले दुई चौकको मद्दतमा १६ रन बनाए । 

भरपर्दा अलराउन्डर दीपेन्द्रसिंह ऐरी एक रनमै दुर्भाग्यपूर्ण रूपमा आउट भएपछि नेपाललाई ठूलो झड्का लाग्यो । कुशल भुर्तेलले प्रहार गरेको स्ट्रेट ड्राइभ बलर डी लिडेको हातमा लाग्दै नानस्टाइकतर्फको विकेटमा लाग्न पुग्यो । त्यसवेला दीपेन्द्र रन लिन अघि बढिसकेका थिए । दीपेन्द्रले ११ बल खेलेका थिए । 

दीपेन्द्र गएसँगै क्रिजमा आएका मिडल अर्डरका भरपर्दा ब्याटर भीम सार्की पनि आज चल्न सकेनन् । आठ बल खेलेर कुनै रन नबनाउँदै उनलाई डी लिडेले बोल्ड आउट गरे । 

भीम आउट भएपछि नेपालले ३६.३ ओभरमा एक सय २२ रनको अवस्थामा ६६ रन बनाएका कुशल भुर्तेललाई गुमाउन पुग्यो । १३ रन जोडेपछि ४२.२ ओभरमा गुल्सन झा व्यक्तिग पाँच रनको अवस्थामा आउट भए । टिममा पुनरावलोकनको मौका पाएका गुल्सनले ब्याटिङबाट निराश बनाए ।  


नेदरल्यान्ड्सका आर्यद दत्त र भिभिअन किंमाले सर्वाधिक समान तीन विकेट हात पारे । बास डी लिडले दुई र रोएलोफ भान डेर मेर्वीले एक विकेट हात पारेका छन् । 

कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुवाती ब्याटिङ गरेको हो । प्रशिक्षक मोन्टी देसाईले सोमपाल कामी र देव खनाल बाहिर राख्दा आसिफ शेख र गुल्सन झाले कमब्याक गरेका हुन् । 

यसअघिको तीनमध्ये दुई खेलमा नेपाल पराजित भइसकेको छ । पछिल्लो भेटमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो ।

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

ad
ad