प्रधानमन्त्रीलाई राप्रपाको ४० बुँदे माग, चैतदेखि आन्दोलनको चेतावनी

बिहिबार, १० फागुन, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्रीले मागे शान्ति प्रक्रियामा सहयोग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार ४० बुँदे मागपत्र पेस गरेर आन्दोलनको चेतावनी दिएको छ । पार्टी पदाधिकारीसहित सिंहदरबार पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डसँग राजनीति, सुशासन, भ्रष्टाचार नियन्त्रण, धर्म परिवर्तनसँग सम्बन्धित माग राखेका हुन् ।

राप्रपाले प्रधानमन्त्री तथा उपत्यकाबाहिर प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको मागपत्र तत्काल कार्यान्वयन नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । ‘सरकारलाई मागपत्र बुझाएसँगै हाम्रो आन्दोलन प्रारम्भ भएको छ,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘अब साना–ठूला सभाहरू गर्छौँ । ४० बुँदे माग लिएर जनताकहाँ जान्छौँ । चैत पहिलो साता काठमाडौंमा देशभरिबाट जनता उतारेर जनप्रदर्शन गर्छौँ ।’ पार्टी अध्यक्ष लिङ्देन नेतृत्वको आन्दोलन मूल समितिले आन्दोलनको विस्तृत तालिका बनाउने उनको भनाइ छ । देशका प्रमुख सहर र सकभर सबै जिल्ला सदरमुकाममा जनजागरण सभा आयोजना हुने उनले बताए । चैत पहिलो साता जनप्रदर्शनपछि त्यसलाई जनआन्दोलनमा बदल्ने राप्रपाको रणनीति छ । 

मागपत्रमा राप्रपाले वर्तमान संविधानबाट नेपालको दीर्घकालीन शान्ति, स्थिरता, एकता, सामाजिक सौहार्दता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, अन्तर्राष्ट्रिय अस्मिता, नेपालको विशिष्ट धर्म, संस्कृति र सभ्यताको जगेर्ना, सुसंस्कृत राजनीतिको प्रवद्र्धन तथा देशको आर्थिक रूपान्तरण सम्भव नरहेको विगतदेखिको धारणा सही साबित भएको जनाएको छ । राप्रपाको मागपत्रमा भनिएको छ, ‘राष्ट्र र राज्यका रूपमा नेपालको यति तीव्र क्षयीकरण इतिहासमा कहिल्यै भएको थिएन । राष्ट्रका रूपमा आज देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय अस्मिता तथा देशलाई एक सूत्रमा बाँध्ने धर्म–संस्कृति सबै नराम्रोसँग क्षयीकृत भएको छ ।’ राप्रपाले देश अन्तर्राष्ट्रिय भूराजनीतिको भूमरीमा पर्न थालिसकेको र आगामी दिनमा भूराजनीतिको सुनामीमा परिणत हुने पनि विश्लेषण गरेको छ । 

राप्रपाले राखेको ४० बुँदे मागपत्रमा सरकारी कर्मचारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने उल्लेख गरेको छ । सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललितानिवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठूलो सुनकाण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीलगायतको माग गरेको छ । 

प्रधानमन्त्रीले भने– शान्तिपूर्ण आन्दोलन गर्नुस्
प्रधानमन्त्री प्रचण्डले राप्रपाको माग बुझेपछि आन्दोलन शान्तिपूर्ण रूपमा गर्न र शान्ति प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन् । ‘हामी राजनीतिक बहस गर्दै गरौँला । राजनीति सम्भावनाको खेल हो र कुनै पनि विषय असम्भव छैन,’ प्रचण्डले राप्रपाको ज्ञापनपत्र बुझेपछि भने, ‘हामीहरूले के बुझ्नुपर्छ भने अहिलेको संविधान शान्ति प्रक्रियासँग सम्बन्धित छ । सत्यनिरूपण तथा मेलमिलापसँग सम्बन्धित संक्रमणकालीन न्यायको विधेयक पास गर्न हामीले राप्रपाले सहयोग अपेक्षा गरेका छौँ । विधेयकका विषयमा सहमति बनिसकेको छ । अन्तर्राष्ट्रिय समुदाय पनि एकदमै सकारात्मक छ । पीडितहरू पनि सकारात्मक छन् । हामी शान्ति प्रक्रियाको अन्तिम चरणमा हामी छौँ ।’ 
 

See More On

सुझावित समाचार