न्यु मिडिया एकेडेमी र पावर इन्टरनेसनल मिडिया नेपालले पत्रकार र सञ्चार उद्यमी गरी १६ जनालाई पुरस्कृत र सम्मान प्रदान गरेको छ । एक भव्य कार्यक्रमबीच १० जना पत्रकारलाई पुरस्कार प्रदान गर्नुका साथै तीनजना अग्रज पत्रकार र तीनजना सञ्चार उद्यमीलाई सम्मान प्रदान गरिएको हो ।
पुरस्कृत पत्रकारमा होम कार्की, श्यामप्रसाद दुलाल गणेश, सरिता दाहाल, रेवती सापकोटा (नवीन), कृष्णा विष्ट सुनिता, विक्रम बानियाँ क्षेत्री, अनिल पराजुली, मनिल महतो, राजेश थापा र रवीन्द्र वाइबा रहेका छन् ।
उनीहरूलाई क्रमशः सर्वोत्कृष्ट पत्रकार राष्ट्रिय वर्ष अवार्ड, उत्कृष्ट पत्रकार पुरुष र महिला, खोज पत्रकार वर्ष अवार्ड, ग्रामीण पत्रकार वर्ष अवार्ड, खेलकुद पत्रकार वर्ष अवार्ड, अनलाइन पत्रकार वर्ष अवार्ड, टेलिभिजन पत्रकार वर्ष अवार्ड, चलचित्र पत्रकार वर्ष अवार्ड, उदीयमान पत्रकार वर्ष अवार्डद्वारा पुरस्कृत गरिएको हो ।
यस्तै, अग्रज सञ्चारकर्मीका रूपमा कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ र हरि हुमागाईंलाई सम्मान गरिएको छ भने मिडिया उद्यमी उज्ज्वल चौलागाईं, माधव न्यौपाने र ध्रुव ढकाललाई सम्मान गरिएको छ ।
सर्वोत्कृष्ट पत्रकार राष्ट्रिय वर्ष अवार्ड पाएका कान्तिपुरका होम कार्कीलाई इजरायल र प्यालेस्टिनीबीच भएको युद्धको स्थलगत रिपोर्टिङ गरेको भन्दै नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै, उत्कृष्ट महिला र पुरुष पत्रकारलाई जनही नगद १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थयो भने विद्यागत पुरस्कृत हुने पत्रकारहरूलाई नगद पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
पुरस्कृत एवं सम्मानित हुनेहरूलाई हेटौँडा उपमहानगरपालिकाका मेयर मीना लामा, उमपेयर राजेश बानियाँलगायत विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरूले पुरस्कार र सम्मान प्रदान गरेका थिए ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रूपेश दुलाल, पत्रकार पोष्टराज अधिकारी (कुमार) र देवराज पन्त रहेको तीन सदस्यीय जुरी टिमले पुरस्कृत हुनेहरूको नाम छनोट गरेको यसअघि न्यु मिडिया एकेडेमी र पावर इन्टरनेसनल मिडिया नेपालका मणिराज गौतमले जानकारी दिए ।