१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण ६ आइतबार ०७:१८:००
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

कवि तथा गीतकार कला सेरेङको ‘कलाका अन्तर्मन’ सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण ६ आइतबार ०७:१८:००

कवि तथा गीतकार कला सेरेङकाे कविता तथा गीतसंग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले शनिबार काठमाडौंमा आयोजित समारोहमा उक्त कृति सार्वजनिक गरेका हुन् । 

अढाई दशकदेखि कर्मथलो हङकङमा रहेकी सेरेङकाे यो पहिलो कृति हो । पुस्तक कृतिभित्र एक सय १५ शीर्षकका गीत तथा कविता रहेका छन् । परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु केन्द्रित रहेका छन् ।

संग्रहमा मातृभूमि नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिँचेको मातृभूमिप्रति माया, मायाप्रितीका शब्द उनिएका छन् । पुस्तक कृतिबारे उपकुलपति भूपाल राईले कवि कला सेरेङको कविताबाट ऊर्जा मिल्ने बताए । उनले कविताले मानिसलाई रुवाउन र हँसाउन सक्ने भएकाले साहित्यमा ठूलो शक्ति रहेको बताउँदै विदेशमा बस्ने नेपालीले साहित्यलाई धेरै माया गर्ने गरेको बताए ।

कार्यक्रममा कवि तथा लेखिका कला सेरेङले आफ्नो अनुभव र भोगाइलाई कविता तथा गीतमार्फत पस्कन खोजेको बताइन् । उनले आफ्नो कविताले नेपाली साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेको भन्दै साहित्यलाई निरन्तरता दिँदै जाने जानकारी गराइन् । ‘मैले नेपाली साहित्यको इतिहास पढेर, सिद्धान्त घोकेर कुनै रचना रचेको छैन,’ उनले भनिन्, ‘हामी डायस्पोरामा रहेर मातृभूमि र नेपाली भाषाको श्रीवृद्धि गर्ने चाहनाले भावनाको सँगालो प्रकाशनमा ल्याएकी हुँ ।’

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धनप्रसाद सुवेदीले कला–साहित्यमार्फत मानिसका भोगाइ र बिम्बहरू प्रस्फुटन हुने बताए । विमोचन कार्यक्रममा प्राडा नृसिंहकुमार खत्री, वरिष्ठ चलचित्र निर्देशक विनोद सेरेङ, नेपाल सरकारका उपसचिव कुलराज सुनुवार, गीतकार सुरेन्द्र राना, पत्रकार गणेश राई, चलचित्र निर्देशक उदय सुब्बा, सुनुवार सेवा समाज अध्यक्ष अमृतबहादुर सुनुवार, सेरेङ समाज काठमाडौंका अध्यक्ष दुर्गा सेरेङ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमला, गीतकार सरिता राईलगायतको उपस्थिति थियो । 

म्युजिक भिडियो पनि सार्वजनिक

कवितासंग्रह विमोचनको अवसरमा कला सेरेङकै ‘अतितका यादहरू’ म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । संगीतकार बिबी अनुरागीले संगीतमा गायिका अन्जु पन्तले स्वर दिएकी छन् । उक्त भिडियोमा ओखलढुंगाको लिखु गाउँपालिका- ९ पोकली वाच्पुको ग्रामीण जनजीवन समेटिएको छ । परम्परागत कृषक परिवारको जीवनशैली प्रस्तुत गरिएको छ । त्यसमा कला सेरेङ र उनका जीवनसाथी सिएम सुनुवार स्वयंले अभिनय गरेका छन् ।