Skip This
७४ वर्षीया कान्छीमायासहित तीनजनाले पाए घरमै नागरिकता 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ३ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण ३ बिहीबार १५:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

७४ वर्षीया कान्छीमायासहित तीनजनाले पाए घरमै नागरिकता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ३ बिहीबार १५:११:oo

धादिङको गजुरी गाउँपालिका– ८ ठूलोबांगेकी ७४ वर्षीया कान्छीमाया तामाङ हिँडडुल गर्न सक्दिनन्। खानपिन र शौचालय जानसमेत अरूकै सहारा माग्नुपर्छ। उमेरले ७४ नाघे पनि नागरिकता नबन्दा सरकारले दिने सेवा तथा सुविधाबाट उनी अहिलेसम्म वञ्चित थिइन्। 

जिल्ला प्रशासन कार्यालय धादिङले घरमै आएर नागरिकता बनाइदिएपछि उनी अहिले दंग छिन्। ‘यो जुनीमा मेरो नागरिकता बन्ला भनेर सोचेकै थिइनँ। सरकार मेरै घरमा आएर नागरिकता बनाइदियो,’ उनी भन्छिन्, ‘पहिले नागरिकताको महत्व नै बुझिएन।’ 

ठूलोबांगेकै ६९ वर्षीया सुनिता गोले पनि हातमा नागरिकता परेपछि अचम्ममा परेकी छिन्। घर छाड्न नसक्ने अति अशक्त उनीहरूलाई जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेसहितको टोली घरमै पुगेर नागरिकता वितरण गरेपछि सरकारले दिने सेवा तथा सुविधा लिने बाटो खुलेको हो। 
घरमै आई नागरिकता दिएर राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रिया अघि बढाइदिएपछि उनी पनि दंग छिन्। 

असक्त, वृद्धवुद्धा, अपांगता भएकाहरूलाई जिल्ला प्रशासन कार्यालयले घरघरमै पुगेर नागरिकता वितरण अभियान थालेको छ। सोहीअनुरूप गजुरी गाउँपालिका– ८ बांगेकी कान्छीमाया तामाङ, सुनिता गोले र नवराज थोक्रा तामाङ गरी तीनजनालाई घरमै पुगेर प्रशासनले नागरिकता वितरण गरेको हो। 

नागरिकता लिन योग्य, तर प्रशासनसम्म पुग्न नसक्ने असक्त वृद्धवृद्धा, अपांगता भएकाहरूलाई घरदैलोमै पुगेर नागरिकता दिने कामको सुरुवात गरिएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए। 

‘सबै पालिकालाई विवरण पठाइदिन अनुरोध गरेका छौँ। सोहीअनुसार गजुरी गाउँपालिका– ८ मा आएर नागरिकता प्रदान गरिएको हो। नागरिकतासँगै राष्ट्रिय परिचयपत्रकाे काम पनि घरदैलोमै गरिदने व्यवस्था मिलाएका छौँ। जिल्ला प्रशासनसम्म पुग्न नसक्ने जिल्लाका सबै असक्त, वृद्धवृद्धा, अपांगता भएका र नागरिकता बनाउन योग्य नागरिकलाई आगामी दिनमा पनि घरदैलोमै पुगेर नागरिकता वितरण गर्छाैँ,’ प्रमुख जिल्ला अधिकारी गैह्रेले भने। 

नागरिकता बनाउन सदरमुकामसम्म लैजाने ठूलै प्रयास हुँदा पनि नसकिएकाले घरमै नागरिकता वितरण गर्नुपरेको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए। 

‘एकजना अपांगता भएका र दुईजना असक्त वृद्धा गरी तीनैजनालाई एम्बुलेन्समा लगिदिन्छौँ भन्दा पनि मानेनन्। प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेपछि अहिले घरमै आएर नागरिकता वितरण गरियो। पालिकाभित्र अन्य वडामा पनि नागरिकता बनाउन बाँकी रहेकाहरूको विवरण संकलनको काम गरिरहेका छौँ,’ उनले भने।  

नागरिकता पाएका उनीहरूलाई सरकारले दिने सामाजिक सुरक्षा भत्तालगायत अन्य सेवा तथा सुविधा लिन सहज हुने वडा नम्बर ८ का वडाध्यक्ष देवराज ओझाले बताए।