१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १o:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङ कृषि क्याम्पसमा नेविसंघ र अखिलका विद्यार्थीबीच झडप, १५ जना घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:५८:oo

लमजुङको सुन्दरबजारमा रहेको लमजुङ कृषि क्याम्पसमा शनिबार दिउँसो झडप हुँदा १५ जना विद्यार्थी घाइते छन् । क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरूबीच झडप भएको थियो । झडपमा क्याम्पसका निमित्त प्रमुख अमित खनालसहित १५ जना विद्यार्थी घाइते भएका छन् ।

गम्भीर घाइते भएका चारजनालाई उपचारका लागि पोखरा र चितवन लगिएको छ । बाँकी घाइतेको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारपछि फर्किएका छन् ।

घाइते मदन रिजाल र वेदान्त घिमिरेको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र विराज सुवेदी र टीकाराम ढकालको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको क्याम्पसका निमित्त प्रमुख खनालले जानकारी दिए । उनका अनुसार झडपबाट मदनको टाउकोमा चोट लागेको छ ।  वेदान्तको देब्रे हात भाँचिएको छ ।  विराज र टीकारामको नाकको हड्डी भाँचिएको छ ।

फागुन ८ देखि क्याम्पसमा बिएसएजीको कक्षा सञ्चालन हुँदै छ । त्यही विषयलाई लिएर दुई विद्यार्थी संगठनबीच विवाद उत्पन्न भएको हुन सक्ने क्याम्पस प्रशासनको भनाइ छ । 

घटनापछि क्याम्पसको छात्रावास खाली गराइएको छ भने सुरक्षार्थ सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिएको छ । होस्टेलको गेटदेखि धेरै सरसामान टुटफुट भएको छ । झडपमा रडहरू, क्रिकेट ब्याटहरू प्रयोग भएको देखिन्छ । 

नेपाल विद्यार्थी संघका क्याम्पस इकाइ सभापति असिम वस्तिले नेविसंघका विद्यार्थी अनेरास्ववियुले होस्टेलमा राखेको आशंकामा होस्टेलमा बुझ्न त्यहाँ पुगेको दाबी गरे । उनले भने ‘नेविसंघका दुईजना साथीहरू लुकाएर राखेको सुनेपछि कुरा गरौँ न भनेर हामी त्यहाँ गएका थियौँ । त्यसपछि त्यहाँ विवाद भयो । अनि दोहोरो झडप भएको हो ।’

अनेरास्ववियु लमजुङका अध्यक्ष सागर खड्का सुनियोजित रूपमै नेविसंघका व्यक्तिले आक्रमण गरेको बताउँछन् । अनेरास्ववियुले भने क्याम्पसको होस्टेलमा प्रवेश गरी नेविसंघको अराजक जत्थाले त्यहाँ बसिरहेका विद्यार्थीमाथि हमला गरेको दाबी गर्दै आएको छ ।

नेविसंघले विद्यार्थीलाई छतबाट खसालेको समेत अनेरास्ववियुले आरोप लगाएको छ । तर, नेविसंघले भने दोहोरो झडपमा आफैँ हाम फालेको दाबी गर्दै आएको छ ।अनेरास्ववियु केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै लमजुङ क्याम्पसको घटनामा खेद प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘होस्टेलमा पढिरहेका विद्यार्थीमाथि नेविसंघको जत्था प्रवेश गरी कोठा थुनेर गरेको आक्रमण मानवता विरोधी गम्भीर अपराध भएको अनेरास्ववियुको ठहर छ ।’

ad
ad