१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० माघ २६ शुक्रबार ०६:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रौतहट पुगेर ओलीले भने–एमालेमा आगो लगाएर माधव नेपाल गठबन्धनलाई घर भन्दै हिँडे

Read Time : < 1 मिनेट
२०८० माघ २६ शुक्रबार ०६:२१:००

एमाले अध्यक्ष केपी ओलीले आफूले बनाएको विशाल घरमा आगो लगाएर माधव नेपालले गठबन्धनलाई घर भन्दै हिँडेको बताएका छन् । एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको बिहीबार उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धनले निकालेपछि नेपाल घर न घाटका हुने टिप्पणी गरे । 

‘एमालेले पार्टीको प्रमुख १५ वर्ष बनायो । हामीले उनलाई उपप्रधानमन्त्री, प्रधानमन्त्री बनायौँ,’ ओलीले भने, ‘अहिले त काठमाडौंतिरै छन् । गठबन्धन भत्कन दिन्नँ, घरमा आगो लगाउँदिनँ, गठबन्धन त मेरो घर हो भन्दै हिँड्छन् ।’ आफैँले बनाएको विशाल पार्टी दुईतिहाइ पुगेपछि माधव नेपालले पार्टी फोड्ने, सरकार ढाल्ने र कांग्रेसको पाउमा लगेर सरकार बुझाउने कामको अगुवाइ गरेको अध्यक्ष ओलीले जिकिर गरे । गठबन्धनको पछि लाग्दा पनि माधव नेपालको पार्टी राष्ट्रिय पार्टी बन्न नसकेको भन्दै उनले अर्को चुनावमा त्यो हैसियत पनि नहुने बताए । ‘अहिले पनि तिनको पार्टी राष्ट्रिय पार्टी छैन । अहिले स्वतन्त्र सांसदको हैसियतमा छन् । अर्कोपटक त्यो हैसियत समाप्त हुन्छ । अब अर्कोपल्ट चुनाव पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन,’ उनले थपे । 

उनले एमाले सरकारमा हुँदा पैसाको अभावले विकास निर्माणको कुनै काम नरोकिएको चर्चा गर्दै त्यसवेला एमालेले सुरु गरेका विकास आयोजना अहिलेको सरकारले अघि बढाउन नसकेको जिकिर गरे । एमाले सरकारले बनाएको पोखरा विमानस्थल गठबन्धन सरकारले सञ्चालन गर्नसमेत नसकेको उनको भनाइ थियो । देशको जर्जर अवस्थाको कारण गठबन्धन सरकार नै भएको भन्दै उनले गठबन्धन सरकारले देश चलाउन नसक्ने दाबी गरे । पटकपटक नेपालप्रति आक्रोश व्यक्त गरेका ओलीले माधव नेपालकै कारण रौतहटमा विकास हुन नसकेको आरोपसमेत लगाए ।