मिश्रका सन्त हिलेरियोलाई उनका पिताले विरासतमा अथाह सम्पत्ति छोडेर गएका थिए । पिताको देहावसानपछि हिलेरियोले एकान्तमा गएर बाँकी जीवन बिताउने निधो गरे र आफ्नो सबै सम्पत्ति आफन्तहरूलाई बाँडिदिए । हिलेरियोको कुटी घना जंगलमा थियो, जहिले पनि डाँकुको डर रहन्थ्यो । हिलेरियोलाई शुभचिन्तकहरूले यस्तो डरलाग्दो ठाउँमा नबस्न अनुरोध पनि गरे ।
तर, उनमा किञ्चित भय थिएन । एक दिन केही मानिस त्यहाँ आएर हिलेरियोलाई सोध्न लागे, ‘तिमी यो जंगलमा किन एक्लै बस्छौ, यदि कसैले तिमीलाई कष्ट पुर्याए र तिम्रा सरसामान लिएर गए भने के गर्छाै ?’ उनीहरूलाई हिलेरियोले जवाफ दिए, ‘मसँग के नै छ र ? लगाउने दुई जोर कपडा एउटा लोटा । यही पनि लैजान खोजेछन् भने म दिन तयार छु ।’ उनीहरूले फेरि भने, ‘यो इलाकामा कैयौँ डाँकु लुकेर बस्छन् । उनीहरूले तिमीलाई आफ्नो काममा बाधा ठानेर मार्न खोजे भने तिमीलाई यहाँ कसले मद्दत गर्छ ?’ ‘मार्न खोजे भने मारून् । म सहायताका लागि कसैलाई पुकार्दिनँ,’ हिलेरियोको सहज जवाफ थियो । वास्तवमा, हिलेरियोसँग कुरा गरिरहेका यी व्यक्ति छद्म भेषमा डाँकु थिए । उनको आत्मबलबाट डाँकुहरू प्रभावित भए । उनीहरूले हिलेरियोलाई केही गरेनन् ।