१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १९:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मित्र मिलन सहकारी प्रकरण : फरार रहेका थप एकजना पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:oo:oo

पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँबजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागी फरार रहेका थप एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरा– २३ ठुलाखेत घर भई हाल पोखरा– ५ मालेपाटन बस्ने ३८ वर्षका विष्णुप्रसाद भण्डारी रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

फरार रहेका भण्डारीलाई प्रहरीले मालेपाटनस्थित कुलाकोडिल नजिकै रहेको उनकै डेराबाट पक्राउ गरेको हो। पक्राउ परेका भण्डारीलाई आवश्यक कारबाहीको लागि मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएको प्रवक्ता विकले जानकारी दिए।

सहकारी ठगीको आरोप लागेका र हाल फरार रहेकाहरूको खोजीका लागि प्रहरीले सूक्ष्म ढंगले काम गरिरहेको र सोही क्रममा भण्डारीलाई पक्राउ गरिएको उनले बताए। पोखरास्थित पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापकसमेत रहेका भण्डारीले सहकारीका पदाधिकारीसँग मिलेमतो गरी बचतकर्ताको रकम दुरुपयोग गरेको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ।

भण्डारीले सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीमार्फत बचतकर्ता बनेर सहकारीमा जोडिई चर्को मिटरब्याजमा सहकारीका अध्यक्ष, सञ्चालक र सहकारीलाई आफ्नो खातामा बचत देखाई रकम लिने गरेको वित्तीय र प्रहरी अनुन्धानका क्रममा खुलेको अदालतमा पेस गरिएको अभियोजनपत्रमा उल्लेख छ।

आरोपित भण्डारीले भने आफूलाई यस विषय जानकारी नभएको र सहकारीका पदाधिकारीले मिलेमतो गरी आफ्नो कागजात र नाम किर्ते गरेको बताउँदै आएका छन्।

रकम ठगीको आरोप लागेका ३३ मध्ये २५ जना फरार
सहकारी ठगीमा संलग्न भएको आरोप लागेका ३३ जनामध्ये आठजना पक्राउ परेका छन् भने अन्य २५ जना हालसम्म फरार छन्। पक्राउ परेका आठमध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। एकजना धरौटी तारेखमा छुटेका छन् भने भण्डारीको विषयमा अदालतमा थुनछेक बहसपछि मात्र निर्णय हुनेछ।

कास्की प्रहरीले सहकारीमा ३१ करोड ७८ लाख रकम हिनामिना भएको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा ८ पुसमा पेस गरेको थियो। प्रहरीले सहकारीमा भएको ठगीको अनुसन्धानसँगै बचतकर्ताले दिएको उजुरीका आधारमा सो रकमबराबरको बिगो दाबी गर्दै प्रतिवेदन तयार गरी पेस गरेको थियो।

त्यसअघि ६ पुससम्म गरी ७१४ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए। ती जाहेरीमा उल्लेख भएका रकम जोड्दा २० करोड ५० लाख ८२ हजार १९ रुपैयाँ ३२ पैसा पुगेको थियो। सहकारीमा कुल बचतकर्ताको संख्या तीन हजार ४४६ रहेकोमा प्रहरीमा परेको जाहेरीसँगै प्रतिवेदन, अन्य ठगी भएको रकम र उजुरी दिन नआएका बचतकर्तासमेतको रकम हिसाबसँगै आवश्यक अध्ययनपछि ३१ करोड ७८ लाख ठगी भएको निष्कर्षसहित प्रतिवेदन तयार गरेर बुझाएको प्रवक्ता विकले जानकारी दिए।

ad
ad