प्रोग्रेसिभ फाइनान्स लिमिटेडले ६ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको छ । संस्थाको २६औँ साधारणसभाले आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरेको हो । नवनिर्वाचित सञ्चालकमा लक्ष्मीप्रसाद महर्जन, शम्भुलाल डंगोल, सविना महर्जन, प्रज्वलकुमार दाहाल, राजभाइ डंगोल र अनिश महर्जन रहेको जनाइएको छ ।
यसअघि साधारण सभाले आर्थिक वर्ष ०७८/७९ को वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरणका साथै सम्पूर्ण अनुसूचीसहितको वित्तीय विवरण पारित गरेको जनाइएको छ । त्यस्तै, आर्थिक वर्ष ०७९/८० का निम्ति बाह्य लेखापरीक्षकका रूपमा रञ्जीव एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।
साधारणसभामा अध्यक्ष किशोरकुमार महर्जनले संस्थाले आर्थिक वर्ष ०७८/७९ मा गरेका कार्यक्रम तथा गतिविधिबारे प्रकाश पारेका थिए । उनले आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरूबारे जानकारी दिएका थिए । अध्यक्ष महर्जनले संस्था अपेक्षित रूपले प्रगतिपथमा लम्किरहेको बताउँदै आफ्नो अन्तिम कार्यकाल रहेको भन्दै आफ्नो कार्यकालमा बसाइएको जगलाई आगामी सञ्चालक समितिले अझ बलियो बनाउने विश्वास व्यक्त गरेका थिए ।