१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सम्पत्ति शुद्धीकरण मुद्दा : पूर्वसांसद इच्छाराज तामाङदम्पतीसँग पौने तीन अर्ब असुल्न विशेषको फैसला

इच्छाराजलाई तीन वर्ष र पत्नी सिर्जनालाई डेढ वर्ष कैद सजाय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:१६:oo

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वसांसद तथा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङदम्पतीसँग विशेष अदालतले पौने तीन अर्ब असुल्ने फैसला गरेको छ । उनीहरू यसअघि नै दोषी ठहर भएकामा आइतबार इच्छाराजसँग एक अर्ब ७२ करोड ४४ लाख र श्रीमती सिर्जना शाक्य तामाङसँग एक अर्ब तीन करोड जरिवाना असुल्ने फैसला गरेको हो ।

विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार इच्छाराजलाई तीन वर्ष र सिर्जनालाई डेढ वर्ष कैद सजाय पनि सुनाइएको छ । विशेषले यस मुद्दामा ७ माघमा फैसला गर्दै कसुर कायम हुने जनाएको थियो । आइतबार दुवै पक्षका कानुन व्यवसायीको बहसपछि सजाय निर्धारण भएको हो । 

इच्छाराजले मुद्दा–मामिलाभन्दा अगाडि नै सिर्जनासँग कानुनी रूपमा सम्बन्धविच्छेद गरेका थिए भने घरका सदस्यहरूबीच अंशबन्डा गराइसकेका थिए । दुवैजना सहकारी ठगीको अर्काे मुद्दामा हाल पुर्पक्षका लागि कारागारमै छन् । सम्पत्ति जोगाउनकै लागि उनीहरूले कानुनी रूपमा मात्र सम्बन्धविच्छेद गरेको बताइएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारी ठगी गरी अपराधको पैसाबाट निजी सम्पत्ति जोडेको भन्दै १६ भदौ ०७९ मा इच्छाराजसमेत ६ जनाउपर मुद्दा चलाएकोमा अन्य चारजनाका नाममा रहेको सम्पत्ति जफत हुने फैसलामा उल्लेख छ । फैसलाअनुसार प्रतिवादीहरू इच्छाराज र सिर्जनासँगै केशवलाल श्रेष्ठ (सिर्जनाका मामा), मीना श्रेष्ठ (केशवलालकी श्रीमती) तथा तामाङदम्पतीका छोरीहरू प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने भएको हो । 

सम्पत्ति शुद्धीकरणको कसुरमा शुद्धीकरण गरेबराबर सम्पत्ति जफत हुने भए पनि सहकारीको रकम ठगी गरेकोसमेत देखिँदा जफतभन्दा बिगो भराउने कार्यले प्राथमिकता पाउने फैसलामा छ । ‘यिनै प्रतिवादीहरूउपर काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा यी प्रतिवादीहरूउपर कसुर ठहर भएमा पीडितको बिगो भरिभराउ गर्ने कार्यले नै प्राथमिकता पाउने,’ अन्तिम आदेशमा छ । 

इच्छाराजलगायतका प्रतिवादीविरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा चलिरहेको छ । उनीसमेतले पाँच अर्ब ६७ करोड ५५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगपत्रमा उल्लेख छ । इच्छाराजले तीन अर्ब ३१ करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको दाबी विभागको थियो । सिर्जनाले भने एक अर्ब तीन करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको थियो । इच्छाराजका नाममा एक कित्ता जग्गा तथा ६९ वटा कम्पनीमा सेयर भेटिएको थियो भने उनकी श्रीमती सिर्जनाका नाममा एउटा सवारीसाधन र कसुरबाट आर्जित जग्गाहरू भेटिएको थियो । 

विभागले उनीहरूका छोरी प्रतीक्षा र प्रतिष्ठालाई क्रमशः ६ करोड २२ लाख तथा एक करोड ८९ लाख रुपैयाँभन्दा बढीको बिगोसहित मुद्दा चलाएको थियो । उनीहरूका नाममा पनि घरजग्गा र विभिन्न कम्पनीमा सेयर भेटिएको थियो । यसैगरी, इच्छाराजले अपराधबाट आर्जन गरेको २६ करोड ६१ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति केशवलालको नाममा राखिएको विभागको अनुसन्धानले देखाएको थियो । मीनाकुमारी श्रेष्ठका नाममा भने काठमाडौंका विभिन्न स्थानमा सात कित्ता जग्गा भेटिएको थियो । 

उनीहरूविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । करिब ६ अर्ब सहकारी ठगी गरेको अभियोग तामाङमाथि छ । सो मुद्दाको फैसलामा ढिलाइ हुँदा पीडितहरू थप समस्यामा परेका छन् । 

ad
ad