आर्थिक अनियमितताको आशंकामा सशस्त्र प्रहरीका बिओपी बेल्हीका इन्स्पेक्टरलाई मुख्यालयमा तानिएको छ। सशस्त्र प्रहरी बल (एपिएफ) ले बिओपी बेल्हीका इन्स्पेक्टर सनतकुमार राईलाई मुख्यालय तानेको हो। उनीमाथि सप्तरीको पश्चिम नाकामा तस्करी गर्न सहयोग गरेको आरोप छ। सोही कारण छानबिनका लागि मुख्यालय तानेको मुख्यालय स्रोतले जनाएको छ।
सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख कालिदास धौबोजीले इन्स्पेक्टर राईलाई मुख्यालय तानेको बताए। उनले भने, ‘इन्स्पेक्टरलाई छानबिनका लागि मुख्यालय तानिएको छ, अनुसन्धान हुँदै छ।’
तस्करी नियन्त्रण गर्न बोर्डरमा रहने सशस्त्रले नै लाइन दिएपछि सो क्षेत्रबाट तस्करी सुरु भएको छ। अहिले त्यहाँ तेस्रो मुलुकबाट आयात गरिएको चिनियाँ लसुन र कस्मेटिकका समानहरू भारत पठाउने तथा उताबाट किराना सामानहरू नेपालतर्फ तस्करी हुने गरेको छ।
तस्करीको लागि सो क्षेत्रका खासगरी तीनवटा बाटो प्रयोग हुने गरेको छ। रौतहट चोकदेखि नहरको बाटो, चनही चोकदेखि बेल्हीको बाटो र बलान नदी हुँदै दुधैलाको बाटो तस्करीको लागि प्रयोग भइरहेको छ।