१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका कपिलवस्तु
२o८१ बैशाख २३ आइतबार o९:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कपिलवस्तुलाई विश्वसम्पदा सूचीमा राख्न अन्तिम मनोनयन पेश

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:१o:oo

प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारको तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ । फ्रान्सका लागि नेपाली राजदुत एंव यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईले युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई बुधबार औपचारिक रूपमा मनोनयन दस्तावेज पेश गरेका हुन् । 

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै फ्रान्सको राजधानी पेरिसस्थित विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेज पेश भएको जनाए । सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक पर्ने प्रमाण र आधारहरू अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरूले रणनीतिक दस्तावेजमा सामेल गरिसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो । 

‘संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागसहित विज्ञका रूपमा दुर्हाम विश्व विद्यालयका प्रोफेसरहरूको टोलीले लामो समयदेखि गरेको कामले सार्थकता पाउनु हाम्रो लागि मात्रै होइन सम्पदाप्रेमी सबैका लागि खुसीको कुरा हो,’ विज्ञप्तिमा भनिएको छ । 

तिलौराकोट सन् २०२५ सम्ममा विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने तयारीसहित कोषका तर्फबाट आवश्यक प्रक्रिया सुरु भएकाले सबैको सकारात्मक साथ र सहयोग हुने अपेक्षा गरिएको सदस्यसचिव शाक्यले विज्ञप्तिमार्फत जनाएका छन् । यूनेस्को जापानीज फन्ड इन ट्रष्ट परियोजनाअन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरू जुटाएको थियो । 

तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायहरूबाट चाहिने आवश्यक सहयोग साधन, स्रोतको सुनिश्चिता सरलता र मार्गनिर्देशका लागि निर्देशक समितिसमेत गठन गरिएको थियो ।  उक्त समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष रहने व्यवस्था छ।

सरकारले २०७८/७९ को नीति तथा कार्यक्रममार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखेको थियो । विश्व सम्पदा समितिको ४५ औँ बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम गरिएको थियो ।  अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पेश भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा केन्द्रमा दर्ताका लागि विधिवत रूपमा प्रक्रिया अगाडि बढेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक राईले जानकारी दिए । 

ad
ad