१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ १८ बिहीबार ०८:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विमानस्थल कुटपिट प्रकरण : गृहमा छानबिन प्रतिवेदन पेस 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ १८ बिहीबार ०८:३०:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको कुटपिटको घटना छनबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक थानेश्वर गौतमले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार साँझ प्रतिवेदन बुझाएका हुन् । मन्त्री श्रेष्ठले प्रतिवेदनमा उल्लेखित विषय तत्काल कार्यान्वयन गर्न गृहसचिव दिनेश भट्टराईलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले छनबिन समितिले प्रतिवेदन पेस गरेको र प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री श्रेष्ठले सचिव भट्टराईलाई निर्देशन दिएको जानकारी दिए । ‘विमानस्थलमा भएको घटना सम्बन्धमा छानबिन गर्न समिति गठन भएको थियो । समितिले प्रतिवेदन बुझाएको छ । उल्लेखित विषय कार्यान्वयन गर्न गृहमन्त्रीज्यूले सचिवज्यूकहाँ प्रतिवेदन पठाउनुभएको छ । प्रतिवेदनमा उल्लेखित सबै विषय अध्ययन गर्न पाइएको छैन,’ उनले भने । गृहका अनुसार प्रतिवेदनमा कुटपिटमा संलग्न असइ प्रकाश चौधरीलाई निलम्बन गर्न भनिएको छ । प्रहरी कुटपिटमा उत्रिएका विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानलाई जिम्मेवारीबाट हटाउन भनिएको छ । १२ माघमा चेकजाँच गर्ने क्रममा अध्यागमनका अधिकृत मोक्तान र प्रहरीबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा आक्रोशित मोक्तानले प्रहरीलाई लाती हानेका थिए । त्यसलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिई कुटपिट गरेका थिए । 

घटनालाई लिएर चौतर्फी विरोध भएपछि गृह मन्त्रालयले सहसचिव गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा नेपाल प्रहरीका तर्फबाट डिआइजी राजेशनाथ बास्तोला र उपसचिव कुलबहादुर जिसी सदस्य थिए । चार दिनसम्म गरिएको छानबिनपछि प्रहरीले सही कमान्ड गर्न नसक्दा विवाद बढेर कुटपिटमा परिणत भएको निष्कर्ष निकालिएको छ । तर, घटनास्थलको सार्वजनिक सिसिटिभी फुटेज हेर्दा कुटपिट प्रहरीको कमजोर कमान्डका कारण नभई अध्यागमन अधिकृतको सनकका कारण भएको देखिन्छ । नियमित चेकजाँचमा उत्रिएका प्रहरी कर्मचारीसँग अधिकृत मोक्तान विवादमा उत्रिएका थिए । सोही विवाद बढ्दै जाँदा कुटपिट हुन पुगेको थियो । मोक्तानले प्रहरी जवान रविरञ्जन गुप्तालाई घटनास्थलमै लात हानेका थिए ।