Skip This
सत्तागठबन्धन बैठकको निष्कर्ष : कोशी प्रदेशको परिणाम अप्रत्याशित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १७ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ १७ बुधबार o८:४४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सत्तागठबन्धन बैठकको निष्कर्ष : कोशी प्रदेशको परिणाम अप्रत्याशित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ १७ बुधबार o८:४४:oo

सत्तारूढ गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको परिणाम चिन्ताजनक रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ । राष्ट्रिय सभा निर्वाचनपछि पहिलोपटक मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकमा निर्वाचन परिणामको प्रारम्भिक समीक्षा भएको छ । बृहत् समीक्षा गरेर अगाडि बढ्ने समझदारी नेताहरूबीच भएको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतभार बलियो हुँदाहुँदै पनि कोशी प्रदेशमा अप्रत्याशित परिणाम आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘कोशीको परिणामलाई सामान्य रूपमा लिन सकिँदैन । स्पष्ट मतभार हुँदाहुँदै पनि कसरी त्यस्तो परिणाम आयो ?’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने । 

रमेश लेखक, नेता, कांग्रेस
सत्तापक्षीय गठबन्धमा कोशी प्रदेशमा एक सिट गुमाएका छौँ । त्यो विषयलाई लिएर छलफल भएको छ । कोशीमा अप्रत्याशित रिजल्ट आएको छ । यो गम्भीर छ, चिन्ताजनक छ । यसबारे अझ छलफल गर्ने निर्णय भएको छ ।

गठबन्धनका १९ उम्मेदवारमध्ये कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्की उम्मेदवार थिए । सिटौला निर्वाचित हुँदा कार्की पराजित भएकी थिइन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले कोशीको परिणाम गठबन्धनको साझा सरोकारको विषय भएको बताएका छन् । ‘यो माओवादीको मात्रै नभई गठबन्धनकै साझा विषय हो । थप छलफल गरेर अगाडि बढौँ,’ देउवको भनाइ उद्धृत गर्दै ती नेताले भने । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोट क्रसिङले अविश्वासको वातावरण पैदा हुने भन्दै गम्भीर बन्नुपर्ने बताएका थिए । ‘कहाँ कमजोरी रह्यो, कोबाट कमजोरी भयो, विस्तृत छलफल गरौँ,’ नेपालले भनेका थिए । 

राष्ट्रिय सभा निर्वाचन परिणामको विषयमा प्रारम्भिक समीक्षा भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनका अनुसार अर्को बैठकमा थप समीक्षा गर्ने समझदारी भएको छ । ‘सत्तापक्षीय गठबन्धमा कोशी प्रदेशमा एक सिट गुमाएका छौँ । त्यो विषयलाई लिएर छलफल भएको छ,’ उनले भने, ‘कोशीमा अप्रत्याशित रिजल्ट आएको छ । यो गम्भीर छ, चिन्ताजनक छ । यसबारे अझ छलफल गर्ने निर्णय भएको छ ।’ पार्टीविशेषभन्दा गठबन्धनकै सरोकारको विषय भएको लेखकले बताए । ‘गठबन्धनले १९ जना साझा उम्मेदवार हुन् भनेर बनाइसकेपछि यो पार्टीको उम्मेदवार र त्यो पार्टीको उम्मेदवार भन्ने सवाल नै भएन । उहाँहरू सबै गठबन्धनको उम्मेदवार हुनुहुन्थ्यो । त्यसकारण यो गठबन्धनकै सरोकारको विषय हो । समग्रमा छलफल भयो । थप छलफल हुन्छ,’ उनले भने ।

राष्ट्रिय सभाको परिणामले सत्तागठबन्धनमा उलटफेर हुने अवस्था नरहेको निष्कर्ष बैठकले निकालेको छ । भोट क्रसिङको विषयमा समीक्षा आवश्यक भए पनि गठबन्धनमा फेरबदलको अवस्था नरहेको नेताहरूले बताएका छन् । ‘गठबन्धन एकीकृत छ । गठबन्धनलाई प्रतिकूल प्रभाव पार्ने स्थिति छैन भन्नेमा नेताहरूबीचको बुझाइमा एकरूपता छ । जुन परिणाम आयो, यो अप्रत्याशित छ, गम्भीर छ । यसबारे अलि गम्भीरतापूर्वक छलफल गर्नुपर्छ भन्ने कुरा छ । साझा ढंगले नै छलफल गर्छौँ,’ लेखकले भने ।