१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १७ बुधबार
  • Friday, 05 July, 2024
मुना कुँवर काठमाडाैं
२o८o माघ १७ बुधबार o७:३६:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

सम्झौता भएको पाँच वर्षसम्म पनि जडान भएन टेलिकमको स्मल सेल

सन् २०१९ मा करिब ६५ करोडमा सम्झौता, तर कार्यान्वयन नहुँदा टेलिकमलाई वार्षिक नौ करोड आर्थिक भार

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ १७ बुधबार o७:३६:oo

सम्झौता भएको पाँच वर्षमा पनि नेपाल टेलिकम कम्पनीको स्मल सेल प्रविधि जडान हुन सकेको छैन । एक वर्षभित्रमा करिब एक हजार स्थानमा पाँच हजार आठ सय २५ वटा स्मल सेल प्रविधि जडान गर्ने भनिए तापनि हालसम्म प्रविधिसमेत उपलब्ध भएको छैन । 

स्मल सेल दूरसञ्चार नेटवर्कको काम सम्पन्न र ड्राइभ टेस्ट भइसकेपछि सिग्नल राम्रो नआउने ठाउँमा राखेर सेवाको गुणस्तर बढाउने प्रविधि हो । धेरै भिडभाड हुने ठाउँ जस्तै, मल, सपिङ सेन्टरलगायतका स्थानमा नेटवर्क कमजोर हुन सक्छ । त्यसैले यस्तो ठाउँमा नेटवर्क उपलब्ध गराउन यस्तो प्रविधि जडान गरिन्छ ।

नेपाल टेलिकमले दूरसञ्चार नेटवर्क बलियो बनाउने भन्दै नेटवर्क कमजोर हुने विभिन्न स्थानमा स्मल सेल प्रविधि जडान गर्ने योजना बनाएको थियो । यसका लागि कम्पनीले अन्तर्राष्ट्रियस्तरको चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल लिमिटेड (सिसिएसआई)सँग सन् २०१९ फेब्रुअरीमा सिसिएसआई र टेलिकमबीच खरिद सम्झौता भएको थियो । सम्झौता गरेको एक वर्षभित्र (२०२० को फेब्रुअरी)सम्म स्मल सेल प्रविधि जडान गरिसक्नुपर्ने प्रावधान थियो । तर, तोकिएको अवधि समाप्त भएको चार वर्ष पूरा भइसक्दा पनि सिसिएसआईले प्रविधि पनि उपलब्ध गराउन सकेको छैन । 

सिसिएसआई र टेलिकमबीच नेटवर्क एकका लागि पाँच हजार तीन सय ४८ र नेटवर्क दुईका लागि तीन सय ८७ वटा स्मल सेल खरिद गर्ने सम्झौता भएको थियो । त्यस्तै, टेलिकमले सिसिएसआईसँग चार प्रकारका (टाइप १, टाइप २, टाइप ३ र टाइप ४) स्मल सेलको खरिदको सम्झौता गरेको थियो । टाइप १, २ र ३, २३०० मेगाहर्जमा चल्ने र टाइप ४, १८०० मेगाहर्जमा चल्ने गरी जडान गर्ने सम्झौता भएको थियो । 

तर, सम्झौताको पाँच वर्षको अवधिमा सिसिएसआईले टाइप ४ का एक सय ४० वटा स्मल सेल मात्रै उपलब्ध गराएको टेलिकम स्रोतले बताएको छ । स्रोतका अनुसार सिसिएसआईले उपलब्ध गराएको स्मल सेलमध्ये ३० वटा मात्रै जडान गरेको छ । स्मल सेल प्रविधि जडानका लागि टेलिकमले सिसिएसआई ताकेता गरे पनि आपूर्ति नगरेको स्रोतले बताएको छ । 

टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराई भन्छन्–सम्झौताअनुसार हाम्रो आयोजना शाखाले यस विषयमा हेर्दै होला । सबै विषयमा मलाई पनि कहाँ जानकारी हुन्छ र ? काम कसरी गर्ने र काम नहुँदा के गर्ने भन्ने विषयमा आयोजना शाखाले आफ्नो तर्फबाट काम गर्दै होला । 

 टेलिकमलाई वार्षिक नौ करोड भार
नेपाल टेलिकमले स्मल सेल प्रविधिका लागि फ्रिक्वेन्सी प्रयोग गरेबापत नेपाल दूरसञ्चार प्राधिकरणलाई वार्षिक नौ करोड भुक्तानी गर्दै आएको छ । स्मल सेल जडान नभए पनि फ्रिक्वेन्सी होल्ड गरिएबापत टेलिकमले प्राधिकरणलाई सो रकम बुझाउनुपरेको हो । 

तत्कालीन समयमा टेलिकमले प्राधिकरणसँग फोरजी सञ्चालनका लागि ८५० र १८०० फ्रिक्वेन्सी मागेको थियो । त्यस्तै, स्मल सेलका लागि २३०० फ्रिक्वेन्सी मागेको थियो । २३०० फ्रिक्वेन्सी त्यसअघि वाइम्याक्स कम्पनीले प्रयोग गर्दै आएको थियो । वाइम्याक्स बन्द भएपछि टेलिकमले स्मल सेल सञ्चालनका लागि सोही फ्रिक्वेन्सीको माग गरेको हो । प्राधिकरणले फोरजीका लागि ८०० र १८०० फ्रिक्वेन्सी दियो भने स्मल सेलका लागि २३०० नै दियो । 

तर, स्मल सेलका लागि फ्रिक्वेन्सीको मूल्य भने अत्यधिक वृद्धि गरिदियो । वाइम्याक्सलाई २३०० फ्रिक्वेन्सी प्रतिमेगाहर्ज चार लाख रुपैयाँमा दिएको प्राधिकरणले टेलिकमको स्मल सेलका लागि भने प्रतिमेगाहर्ज ९० लाख तोक्यो । चर्को मूल्यका कारण टेलिकमले लिएको ३० मेगाहर्जमध्ये २० मेगाहर्ज फिर्ता गर्‍यो भने १० मेगाहर्ज भाडामा लियो । जसको वार्षिक भाडा नौ करोड रुपैयाँ भुक्तानी गर्दै आएको स्रोतले बताएको छ । प्राधिकरणले बाँकी रहेको भाडा र त्यसको ब्याजसहित भुक्तानीका लागि टेलिकमलाई पत्राचार गरिरहेको स्रोतले बतायो । 

टेलिकमले २०१८ फेब्रुअरीमा फोरजी प्रविधि जडानका लागि टेन्डर आह्वान गरेको थियो । फोरजीसँगै टेलिकमको दूरसञ्चार नेटवर्क नटिप्ने ठाउँमा जडान गर्नका लागि स्मल सेलको खरिदका लागि पनि सम्झौता गरिएको थियो । टेन्डरमा जेटिई र सिसिएसआईले निवेदन दिएका थिए । दुई कम्पनीमध्ये सिसिएसआईको मूल्य कम भएपछि २०१९ फेब्रुअरीमा टेन्डर अवार्ड गरिएको थियो । त्यतिवेला नै सिसिएसआईले बजारको भन्दा धेरै मूल्य कम प्रस्ताव गर्दा नै सिसिएसआईको नियतमा शंका लागेको टेलिकम स्रोतको भनाइ छ । अहिले सिसिएसआईले सम्झौताअनुसारको स्मल सेल प्रविधि नभएको जानकारी दिएको स्रोतले बतायो । सम्झौताभन्दा फरक खालको प्रविधि जडान गर्ने प्रस्ताव गरेको छ । तर, यस विषयमा टेलिकमले भने कुनै निर्णय लिन नसकेको उनले बताए । 

 पेनाल्टी भराउन टेलिकम असमर्थ
स्मल सेल प्रविधि सञ्चालन नगरी वार्षिक करोडौँ खर्च गर्दै आएको टेलिकमले तोकिएको समयमा प्रविधि जडान नहुँदासमेत पेनाल्टी भराउन सकेको छैन । सिसिएसआईसँगको सम्झौताअनुसार कम्पनीले तोकेको समयमा प्रविधि जडान गर्न नसकेमा प्रतिहप्ता पेनाल्टी भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कुल रकमको प्रतिसाता शून्य दशमलव ५ प्रतिशत पेनाल्टी रकम सिसिएसआई कम्पनीबाट भुक्तानी गराउन सकिने स्रोतको भनाइ छ ।  

स्मल सेल जडानका लागि सिसिएसआईसँग करिब ६५ करोडमा सहमति भएको थियो । सो रकमको प्रतिहप्ता शून्य दशमलव ५ प्रतिशतले पेनाल्टी गणना गर्दा ३२ लाख ५० हजार भुक्तानी गर्नुपर्छ । २०८ सातामा करिब ६७ करोड पेनाल्टी पुगिसकेको स्रोतले बताएको छ । तर, सो रकम असुलमा टेलिकमले कुनै कदम भने चालेको छैन । 

यसै विषयलाई लिएर अख्तियारमा उजुरीसमेत परेको छ । स्मल सेल समयमा जडान नगर्दा टेलिकमको नेटवर्क कमजोर बन्दै गएको, आम्दानी गुम्दै गएको र अनावश्यक आर्थिक भार परेको भन्दै अख्तियारमा उजुरीसमेत परेको छ । यस विषयमा टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईले भने आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘सबै विषयमा मलाई पनि कहाँ जानकारी हुन्छ र ? आयोजना शाखाले आवश्यक काम गर्दै होला ।’ 

ad
ad
ad
ad