१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ ८ सोमबार ००:१८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

माल्दिभ्स र श्रीलंकामा ‘हेपाटाइटिस बी’ नियन्त्रण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ ८ सोमबार ००:१८:००

माल्दिभ्स र श्रीलंकाले ‘हेपाटाइटिस बी’ नियन्त्रणमा लिएका छन् । ती दुई देशले शिशुमा खोपको उच्च प्रयोग गरेको र संक्रमितको संख्यासमेत न्यून भएका भन्दै विश्व स्वास्थ्य संगठनले ‘हेपाटाइटिस बी’ नियन्त्रण भएको घोषणा गरेको हो । 

दक्षिण–पूर्वी एसिया क्षेत्रमा ‘हेपाटाइटिस बी’ नियन्त्रणको प्रमाणीकरणका लागि विशेषज्ञ प्यानलले माल्दिभ्स र श्रीलंकामा सेरोलोजिकल सर्वेक्षण गरेको थियो । यी देशमा बालबालिकामा ‘हेपाटाइटिस बी’ खोपको प्रयोग ९० प्रतिशतभन्दा बढी छ । 

यसभन्दा अगाडि २०१९ मा नेपाल, बंगलादेश, भुटान र थाइल्यान्डमा ‘हेपाटाइटिस बी’ नियन्त्रणमा आइसकेको छ । डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रमा ‘हेपाटाइटिस बी’ क्रमशः नियन्त्रणमा आइरहेको र यसका लागि भूमिका खेल्ने स्वास्थ्यकर्मी र अन्य सहयोगीलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपालले धन्यवाद दिएकी छिन् । 

‘हेपाटाइटिस बी’ नियन्त्रणमा आएका नेपाललगायत यी देशमा हाल संक्रमण दर एक प्रतिशतभन्दा कम छ । बाल्यकालमा ‘हेपाटाइटिस बी’को संक्रमण नियन्त्रणमा ल्याउँदा कलेजोको संक्रमण र क्यान्सर, वयस्कमा सिरोसिसको समस्या पनि कमी आएको डब्लुएचओले जनाएको छ । 

डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रका अन्य ११ वटा मुलुकमा ‘हेपाटाइटिस बी’ नियन्त्रणको लक्ष्य लिइएको छ । डब्लुएचओको पछिल्लो तथ्यांकअनुसार यो क्षेत्रमा क्रोनिक ‘हेपाटाइटिस बी’सँग बाँचिरहेका अनुमानित ६० मिलियन मानिस रहेको र प्रत्येक वर्ष दुई लाख १८ हजार ‘हेपाटाइटिस बी’ र ‘सी’का कारण मृत्यु भइरहेको हो । 

जसमध्ये पनि करिब १० प्रतिशतले मात्र आफूलाई हेपाटाइटिस भएको थाहा पाउने र पाँच प्रतिशतभन्दा कम मात्र उपचार गरिरहेको पाइएको हो । 

‘हेपाटाइटिस बी’विरुद्धको खोप, पेन्टाभ्यालेन्ट खोपको यस क्षेत्रका सबै देशहरूको राष्ट्रिय बाल खोप तालिकामा समावेश गरिएको छ । जुन खोपको तीन डोज पहिलो वर्षमा लगाइँदै आइएको छ । नेपालमा भने बच्चाहरूमा डिपिटी एचपिबी खोप लगाइँदै आइएको छ, जुन ‘हेपाटाइटिस बी’सँगै अन्य पाँच रोगविरुद्ध काम गर्छ ।