१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ १ सोमबार १९:३९:००
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी बिहीबारबाट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ १ सोमबार १९:३९:००

कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी बिहीबारबाट सुरु हुने भएको छ। काठमाडौं नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा उनले आगामी बिहीबारदेखि ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनी गर्ने भएका हुन्। 

नयाँ पत्रिकामा कार्यरत मिश्रले सञ्चारमाध्यमबाट भइरहेको एकल संवादलाई दोहोरो बनाउन प्रदर्शनीमार्फत आउने निर्णय गरेको बताए। १७ वर्षदेखि विभिन्न अखबार तथा म्यागेजिनमा करिब तीन हजार कार्टुन प्रकाशित गरिसकेका मिश्रले पहिलोपटक एकल प्रदर्शनी गर्न लागेका हुन्। 

‘पत्रपत्रिकामा प्रकाशित भएका विभिन्न कार्टुनमध्ये केही यस प्रदर्शनीमा राखिनेछन्, जसलाई मैले ‘डिपेक्सन’ नाम दिएको छु,’ मिश्रले भने, ‘डिपेक्सन’ मैले देखेको नेपाली समाजको चित्र हो। प्रदर्शनीमा राखिने अधिकांश कार्टुन विभिन्न पत्रिकामा प्रकाशित भइसकेका छन्। तैपनि, कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनीको आवश्यकता हुँदोरहेछ। पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनीमार्फत दोहोरो संवाद गर्न खोज्दै छु। कार्टुन एकातर्फी सञ्चार मात्र होइन, संवाद पनि हो भन्ने मेरो विश्वास छ।’

मिश्रले कार्टुन आफ्ना लागि चित्र मात्रै नभएर विचार, भावना र हास्य व्यक्त गर्ने माध्यम रहेको बताए। ‘वास्तविकतालाई रचनात्मक तवरमा चित्रण गर्ने विधि हो कार्टुन,’ उनले भने, ‘मेरा लागि कार्टुन समाजसँग अन्तर्क्रिया गर्ने माध्यम हो। अन्तर्क्रिया मजेदार होस् भनेरै म कार्टुन लिएर यहाँ आएको छु। वर्तमानमा मैले देखेको समाजको दृश्य कोर्छु कार्टुनमा। वर्तमानका कतिपय घटना, परिवेश, पात्र, प्रवृत्ति र विचारसँगको असहमति पनि हुन् मैले बनाउने कार्टुन।’

अखबारका कोलममा नअटाउने कतिपय विषय मिश्रले प्रदर्शनीमार्फत प्रस्तुत गर्ने गरेका छन्। ‘मैले अखबारका कोलममा नअटाउने कतिपय विषयलाई दर्शकसमक्ष पुर्‍याउने माध्यमका रूपमा यो प्रदर्शनीलाई लिएको छु,’ मिश्रले भने, ‘यो प्रदर्शनी कार्टुनका लागि नयाँ जमिनको खोजी पनि हो। अखबारका कोलम र ग्यालरीको भित्ताभन्दा पर पनि कार्टुनलाई पुर्‍याउने रहर हो। कार्टुनलाई थप पहुँच योग्य र सान्दर्भिक बनाउने प्रयत्न हो।’

प्रदर्शनीस्थल उमोजा क्याफेका निर्देशन लीलाराम खड्काले पत्रिका र आर्ट ग्यालरीमा देखाइँदै आएको कार्टुनलाई नियमित स्पेसबाट बाहिर ल्याउने प्रयास रहेको बताए। ‘कर्नर किक’ मार्फत उहाँसँग मेरो एकोहोरो परिचय भयो,’ खड्काले भने, ‘आजभोलि मिश्र र उनका कार्टुनसँग सामाजिक सञ्जालका भित्तामा देखाभेट हुन्छ। पत्रिका र आर्ट ग्यालरीमा मात्र कति कार्टुन प्रदर्शनी गर्नु भनेर मैले क्याफेमा प्रदर्शनी गर्ने आइडियामा जोड गरेको हुँ। प्रदर्शनीमा राखिने कार्टुनहरू गएको पाँच वर्षयताका राजनीतिक, सामाजिक मुद्दाका ‘डिपेक्सन’ हुन्।’ 

मिश्र ‘कार्टुनिस्ट क्लब अफ नेपाल’ का महासचिवसमेत हुन्। व्यंग्यचित्रसँगै उनी व्यंग्य लेखनसमेत गर्ने गर्छन्।