नेपाललाई शैक्षिक हब बनाउन विदेशी विद्यार्थीलाई आकर्षण गर्नुपर्ने सम्बन्धित सरोकारवालाहरूले बताएका छन्। स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को १३औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमका वक्ताहरूले नेपाललाई शैक्षिक हब बनाउन विदेशी विद्यार्थीलाई आकर्षण गर्नुपर्ने बताएका छन्।
फेकनले विदेशी विद्यार्थी स्वदेशमा ल्याउन उनीहरूलाई नेपाल आउने प्रक्रिया सहज गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, एनओसी कार्यालयलगायतलाई पहल गर्दै आइरहेको छ। हाल विदेशबाट आउने विद्यार्थीहरू भिजिट भिसामा नेपाल आउँछन्। उनीहरूको लागि सम्बोधन गर्ने छुट्टै भिसाको लागि कानुनी प्रावधान छैन। शिक्षा, विज्ञान तथा विज्ञान प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले नेपाललाई शैक्षिक हब बनाउन पहल गर्ने र कानुनी समस्या समाधान गर्ने दाबी गरिन्।
‘अहिले नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरूको संख्या धेरै छ, यो शैक्षिक हब हुने ठाउँ पनि हो, अब हामीले विदेशी विद्यार्थीलाई पनि नेपालमा आकर्षण गर्न जरुरी छ,’ उनले भनिन्, ‘नेपालबाट विद्यार्थी विदेश गए पनि विदेशका विद्यार्थी नेपालमा ल्याउन सके त्यसबाट बढी फाइदा पुग्छ।’ हाल नेपालमा बुद्धिज्म, मेडिकललगायत शिक्षाको लागि विदेशबाट विद्यार्थी आउने गरेका छन्। राज्यमन्त्री कुमारीले कन्सल्टेन्सीहरूलाई कुन निकायअन्तर्गत राख्ने र डिपोजिटको सम्बन्धमा उनीहरूलाई परेका अप्ठेरा विषयमा सरकारले पहल गर्ने बताइन्। कन्सल्टेन्सीहरूले पनि नियमसंगत रूपमा आफ्ना काम गर्नुपर्ने उनको भनाइ छ।
फेकनका अध्यक्ष राजु निरौलाले नेपालबाट विद्यार्थी विदेश पठाउने मात्रै नभएर विदेशबाट विद्यार्थी नेपाल ल्याउन पनि पहल गर्दै आइरहेको बताए। ‘यदि सरकारले कानुनी सहायता र अन्य सहयोग प्रदान गर्न सक्छ भने हामीले विदेशस्थित शैक्षिक संघसंस्था र निकायलाई पहल गरेका विदेशी विद्यार्थी नेपाल ल्याउन पहल गर्न सक्छौँ,’ उनले भने, ‘तर नेपालमा विदेशी विद्यार्थी ल्याउनको लागि थुप्रै बाधा अड्चन छन्, विश्वव्यापीकरणको यो समयमा हामीले समयसापेक्ष शिक्षा र कानुन बनाउनुपर्छ।’ उनका अनुसार फेकन केन्सल्टेन्सीहरूको छाता संगठन हो। ३५० भन्दा बढी कन्सल्टेन्सी सदस्य रहेको यस संस्थाले कन्सल्टेन्सीहरूलाई व्यवस्थित गर्ने, सरकारी निकायलाई शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयमा घच्घच्याउनेलगायत सामाजिक उत्तरदायित्वको काम गर्दै आइरहेको छ।
काठमाडौं विश्वविद्यालयका प्रधानाध्यापक निर्मलमणि अधिकारीले नेपालबाट बिदेसिने विद्यार्थीको कम गर्न यहाँ पर्याप्त रोजगारका क्षेत्र खडा गर्नुपर्ने र रोजगार क्षेत्रको मागअनुसारको शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताए।