आजको सन्दर्भमा पृथ्वीनारायण शाहलाई कसरी सम्झनु ठीक हुन्छ ?
आजका दिनमा पृथ्वीनारायणको उपादेयता, औचित्य, गरिमा र महत्व ह्वात्तै बढेको छ । देशको अवस्था निकै बिग्रेको छ । चित्त बुझाउने ठाउँ नै छैन । हिजो संसारभर अंग्रेजको दबदबा रहेको समयमा पृथ्वीनारायण नभएको भए नेपाल राष्ट्र नै रहँदैनथ्यो । यो भारतको एउटा प्रान्त हुने थियो । पछिल्ला समयका शाहवंशीय केही राजा र तिनका कामलाई हेरेर पृथ्वीनारायणमाथि पनि धारेहात लगाउनु एकदमै गलत हो । यो देशको सार्वभौमिकता र भूगोलमाथि गर्व गर्ने हो भने पृथ्वीनारायणलाई बिर्सनै मिल्दैन । त्यसैले, आजका दिनमा उनलाई इज्जतसाथ सम्झनुपर्छ ।
पृथ्वीनारायण एकीकरणकर्ता हुन् कि राज्य विस्तारक ?
अहिले मानिसले जे–जसरी परिभाषा गरे पनि पृथ्वीनारायण नेपाल राष्ट्रका एकीकरणकर्ता नै हुन्, राज्य विस्तारक होइनन् । उनले राज्य विस्तार गरेका भए यो देशको नाम गोर्खा नै राख्ने थिए । उनले समृद्ध नेपाल उपत्यकाको सम्मान गरी सबैले स्विकार्न सक्ने ‘नेपाल’ नामलाई नै देशको नाम बनाए । उनले आफ्ना पुर्खा द्रव्य शाहले सुरु गरेको गोर्खा राज्यलाई समेत नेपाल राष्ट्रमा मिलाएर यो देशको एकीकरण गरेका हुन् । कथं यो राज्य विस्तार नै हुन्थ्यो भने पनि त्यतिखेरको समयमा यो गलत हुन्थेन ।
पृथ्वीनारायणका काम र विचार आज कति सान्दर्भिक छन् ?
अत्यन्त धेरै सान्दर्भिक छन् । उनले जीवनको अन्त्यतिर लेखाएका उपदेशहरू आजको राजनीति, कूटनीति, भूराजनीति हरेक कोणबाट हेर्दा कालजयी छन् । अहिलेका राज्यका हर्ताकर्ताले तिनलाई मनन गरेर कार्यान्वयन गर्ने हो भने यो देश धेरै माथि जान सक्छ ।