१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
माइकल आर. स्ट्रेन
२०८० पौष २६ बिहीबार १०:०५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अर्बपतिहरूको पक्षमा

Read Time : > 2 मिनेट
माइकल आर. स्ट्रेन
२०८० पौष २६ बिहीबार १०:०५:००

भर्माेन्टका सिनेटर बर्नी स्यान्डर्स भन्ने गर्छन्, ‘अर्बपतिहरू हुनुहुँदैन ।’ ‘हरेक अर्बपति नीतिगत असफलता हो’ भन्ने नारा वास्तवमा प्रगतिशील अमेरिकीमाझ व्याप्त छ । आश्चर्य के भने यसमा प्रगतिशील वामपन्थीसँग दक्षिणपन्थी पपुलिस्ट र राष्ट्रवादीहरू पनि सहमत छन् । केही महिनाअघि पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले ‘अर्बपतिहरूको करमा भारी वृद्धि’ गर्न आह्वान नै गरे । यी राष्ट्रवादी र प्रगतिशीलहरूले ‘हामीले धेरैभन्दा धेरै अर्बपतिहरू चाहनुपर्छ’ भन्न छाडेका छन् । 

अर्बपति नवप्रवर्तकले समाजका लागि ठूलो मूल्य सिर्जना गर्छन् । सन् २००४ को एक शोधपत्रमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री विलियम डी. नोर्डहासले ‘आफूले गरेका प्रविधिगत प्रगतिबाट प्राप्त हुने सामाजिक प्रतिफलको लगभग २.२ प्रतिशत मात्रै उनीहरूले प्राप्त गर्ने गरेको’ पाएका थिए । बाँकी लाभ उपभोक्तामा गएको थियो । ब्लुमबर्ग बिलिनेयर्स इन्डेक्सका अनुसार अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति एक खर्ब ७० अर्ब डलर रहेको छ ।

नोर्डहासको निष्कर्षलाई आधार मान्ने हो भने बेजोसले मात्रै पनि ८० खर्ब डलरभन्दा बढी अर्थात् अमेरिकाको वार्षिक कुल गार्हस्थ उत्पादन (जिडिपी)को एकतिहाइभन्दा बढी रकम समाजका लागि सिर्जना गरिदिएका छन् । अमेजनले थुप्रा उपभोग्य वस्तुको मूल्य घटाएको छ । खुद्रा विक्रेता कहाँ पुग्नुपर्ने समयलाई समाप्त गरेर लाखौँ अमेरिकीहरूको ठूलो समय बचाइदिएको छ । यसबीच, बेजोसले ती सामाजिक लाभको सानो अंश मात्र प्राप्त गरेका छन् ।

अमेरिकाका प्रगतिवादी, दक्षिणपन्थी, राष्ट्रवादी र लोकप्रियतावादी सबै नै ‘हरेक अर्बपति नीतिगत असफलता हुन्’ भन्ने तर्क गर्छन् 

पक्कै पनि, सबै अर्बपति नवप्रवर्तक होइनन् । यही तर्क कुनै पनि व्यावसायिक पृष्ठभूमिका अर्बपतिमा लागू गर्न भने सकिन्छ । उदाहरणका लागि, वाल स्ट्रिटका अर्बपतिहरू अर्थव्यवस्थामा कुशलतापूर्वक पुँजी विनियोजन गरेर मूल्य सिर्जना गर्छन् । समयक्रममा यसले लागत घटाउँछ र उत्पादकत्व र नवप्रवर्तनलाई बढावा दिन्छ । जसबाट करोडौँ घरपरिवार र व्यवसाय लाभान्वित हुन्छन् । 

उद्यमशीलता र कठोर परिश्रम, वंशवादी विरासत होइनन् । शीर्ष एक प्रतिशत धनाढ्य अमेरिकी परिवारको तीनचौथाइसँग निजी स्वामित्वका व्यवसाय छन्, जसले उनीहरूको ब्यालेन्स सिटमा एकतिहाइभन्दा बढीको योगदान गर्छ । सन् २०१३ मा प्रकाशित एक शोधपत्रले चार सय शीर्ष धनाढ्य अमेरिकीमा १० मध्ये सातजनालाई स्वनिर्मित पाएको थियो ।

समग्रमा, अमेरिकाको लोकतान्त्रिक पुँजीवादी प्रणालीले काम गरिरहेको छ । लोकतन्त्रमा, प्रयास, जोखिम वहन वा कौशलमार्फत सिर्जित असमानतालाई स्वीकार गरिन्छ । सुधारको ठाउँ छ, तर ध्यान अर्बपतिहरूलाई सिध्याउनुको साटो गरिब र श्रमजीवी वर्गलाई आर्थिक अवसर प्रदान गर्नमा केन्द्रित गर्नुपर्छ । अमेरिकामा अवसरको प्रचुरता छ । उदाहरणका लागि, यहाँको न्यून संरचनात्मक बेरोजगारीलाई नै लिऔँ । 

यसैगरी, अर्बपतिमाथिको आक्रोशलाई आय असमानताको बहससँग गलत रूपले मिसाइएको छ, जसले यी शीर्षमा पुग्ने आयको हिस्सामाथि प्रश्न उठाउँछ । तर, बजार अर्थतन्त्रमा आम्दानी गरिन्छ, वितरण हुँदैन । साथै, अर्बपति र सबै घरपरिवारको आयको आधारमा माापन गर्दा असमानता एक दशकदेखि स्थिर वा घट्दो नै छ ।

आधारभूत कुरा के भने अर्बपतिको आलोचनाले युवाहरूलाई सफलता नराम्रो हो भन्ने विकृत सन्देश दिन्छ । यसले उनीहरूको आकांक्षा कम गर्न, प्रयासलाई घटाउन र जोखिम मोल्ने उत्साह कम गरिदिन सक्छ । कडा परिश्रमले साँच्चै प्रतिफल दिन्छ । उत्पादकलाई क्षतिपूर्ति बढाउँछ । विडम्बना, यस सन्देशलाई बढावा दिने चर्का आवाज उच्च आय भएका नै हुन् । उनीहरूका बालबच्चा यसको दुष्प्रभावबाट प्रभावित हुने सम्भावना कम देखिन्छ । किनकि उनीहरू गुणस्तरीय स्कुल र कलेजमा भर्ना हुनेछन् । जबकि निम्न–आय भएका परिवारका धेरैजसो बच्चा अपेक्षाकृत कम गुणस्तरीय स्कुलमा पुग्छन् भने उनीहरू कलेजमा पुग्ने सम्भावना कम हुन्छ ।

पपुलिस्ट र राष्ट्रवादीले अर्बपतिलाई जस्तो व्यवहार गर्छन्, त्यसरी व्यवहार गर्नु नैतिक रूपमा डरलाग्दो कुरा हो । दक्षिणपन्थी अधिनायकवादी ट्रम्पप्रति कम बफादार भएको भनेर अर्बपतिलाई दण्डित गर्न राज्यशक्ति प्रयोग गर्न चाहन्छन् । बायाँतर्फका धेरै पनि उनीहरूमाथि विशेष कर लगाउन चाहन्छन् । उदाहरणका लागि, सिनेटर एलिजाबेथ वारेनको ‘अल्ट्रा–मिलनेयर ट्याक्स’ केवल ०.०५५ प्रतिशत परिवारमा लागू हुनेछ । कर प्रणालीलाई धनीलगायत अमेरिकीको कुनै पनि समूहलाई दण्डित गर्न हतियार बनाइनुहुँदैन ।

ब्लुमबर्ग इन्डेक्सका शीर्ष १० अर्बपतिलाई नै हेरौँ । उनीहरू धेरै हदसम्म स्वनिर्मित नवप्रवर्तक हुन्, जसले हाम्रो जीवनशैली परिवर्तन गरेका छन् । बिल गेट्स र स्टिभ बाल्मरले व्यक्तिगत कम्प्युटिङमा क्रान्ति ल्याए । जेफ बेजोसले खुद्रा व्यापारलाई बढावा दिए । ल्यारी पेज, सर्गेई ब्रिन र लारी इलिसनले वेब सर्च र डेटाबेस सफ्टवेयरको विकास गरे । मार्क जुकरबर्ग सामाजिक सञ्जालका अग्रणी हुन् । बर्नार्ड अर्नाल्ट र वारेन बफेट प्रख्यात लगानीकर्ता हुन् ।

उनीहरूमध्ये कोही पनि ‘नीतिगत असफलता’ होइनन् । उनीहरूको अस्तित्व नै नहोस् भन्ने कामना गर्नुको साटो उनीहरूको उद्यममा हामी रोमाञ्चित हुनुपर्छ । उनीहरूले संसारभरका लाखौँ मानिसका लागि सिर्जना गरेको मूल्यका सामु उनीहरूको नेटवर्थ तुच्छ छ । यी मानिसको क्यारिअरबाट बालबालिकाहरू प्रभावित हुनुपर्छ । यसले उनीहरूको कल्पनालाई उद्वेलित गराउनुपर्छ र आकांक्षालाई ऊर्जा दिनुपर्छ । यसले उनीहरूलाई मात्र होइन, समाजका सबै सदस्यलाई फाइदा पुर्‍याउनेछ । 

(स्ट्रेन अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका आर्थिक नीति अध्ययनका निर्देशक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट