१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
अजित अधिकारी काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o६:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आयल निगमको धनगढी डिपो प्रमुख साहको सरुवा

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:३७:oo

व्यवसायीसँग अवैध रूपमा एक लाख रुपैयाँसम्म असुली गरेको आरोप खेपेका आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख मोहनकुमार साहको सरुवा भएको छ । उपनिर्देशक साहको विवादित छविले निगमलाई नै असर गरेको भन्दै निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले मंगलबार साँझ उनलाई सरुवा गर्ने निर्णय गरेका हुन् । स्रोतका अनुसार उनलाई केन्द्रीय कार्यालयस्थित इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागमा बुधबारदेखि हाजिर हुने गरी सरुवा गरिएको छ ।

‘साहका कारण निगमको समग्र छविमै आँच आउन थालेपछि तत्कालै लागू हुने गरी सरुवा गरिएको छ,’ स्रोतले भन्यो । उनको सरुवा भए पनि नयाँ डिपो प्रमुख भने पठाइएको छैन । निगमले बिहीबार ५४औँ वार्षिकोत्सव मनाउन लागेका र सबै कर्मचारी त्यसकै लागि व्यस्त भएकाले वार्षिकोत्सवलगत्तै नयाँ डिपो प्रमुख नियुक्त गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।‘धनगढी डिपोमा कार्यालय प्रमुख मात्रै हेरफेर गरेर पुग्दैन । अपरेसन विभागमा कार्यरत पुराना कर्मचारीसमेत हटाएर नयाँ पठाउनुपर्ने देखिएको छ,’ स्रोतले भन्यो, ‘त्यसैले वार्षिकोत्सव सकिनासाथ तीनजना कर्मचारीको नयाँ सेट धनगढी पठाएर आपूर्ति प्रणाली सुव्यवस्थित बनाउने प्रयत्न गर्न लागिएको छ ।’  

करिब एक वर्षदेखि धनगढी डिपो प्रमुख रहेका साहले व्यवसायीसँग जुनसुकै काम गर्दा पनि अवैद्य असुली गरेर दुःख दिन गरेको उजुरी बढ्दै गएको थियो । उनले पेट्रोलपम्प अनुगमनमा जाँदा प्रत्येकपटक तीनदेखि पाँच हजार रुपैयाँसम्म, भारतबाट तेल लिएर ट्यांकरलाई खाली गराउन प्रत्येकपटकमा १० देखि १५ हजार र पेट्रोलपम्पले इन्धन ढुवानी गर्न निजी ट्यांकर राख्न निवेदन दिएर सिफारिस गरेबापत प्रतिपटक ८० हजारसम्म अवैद्य असुली गर्ने गरेको आरोप खेपेका छन् । त्यस्तै, ट्यांकरधनीलाई ढुवानी भाडा भुक्तानी गर्दा मासिक १.५ प्रतिशतसम्म कमिसन र पेट्रोलपम्पलाई तेल दिएबापत मासिक एक लाख रुपैयाँसम्म कमिसन लिने गरेको पनि उनीमाथि आरोप लागेको छ ।

त्यस्तै, साहको नेतृत्वमा धनगढी डिपोको कार्य सञ्चालन प्रणाली पनि कमजोर रहेको केन्द्रीय कार्यालयले गठन गरेको एउटा समितिले प्रतिवेदन दिएको थियो । गत भदौ अन्तिम साता आयल निगमको केन्द्रीय कार्यालयबाट अशोक साह र दीपक घिमिरे तथा दिवाकर मल्लिक र मनोहर डिसी रहेको दुई अनुगमन टोली देशभरका डिपो सञ्चालन प्रणालीको अनुगमन गर्न खटिएका थिए । टोलीले दिएको प्रतिवेदनमा धनगढी डिपोको सञ्चालन प्रणाली सबैभन्दा कमजोर देखिएको उल्लेख छ । अनुगमन टोलीले धनगढी डिपोमा इन्धन ढुवानी गर्ने तीन–चारवटा ट्यांकरको परीक्षण गर्दा एउटाको लकिङ नै बिगारेको फेला पारेको थियो । ‘लकिङ बिगार्नु भनेको तेल चोरीको उद्देश्य हो । अरू कारण हुन सक्दैन,’ त्यतिवेला अनुगमन टोलीमा रहेका एक कर्मचारीले भने ।

ad
ad