१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
जोडी गिन्सबर्ग
२o८१ जेठ ५ शनिबार o९:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

प्रेस स्वतन्त्रतामा निर्भर हाम्रो स्वतन्त्रता

Read Time : > 2 मिनेट
जोडी गिन्सबर्ग
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:२५:oo

यो विश्वभर लोकतन्त्रको परीक्षणको वर्ष हो भने मिडियामाथि गरिने व्यवहार परीक्षणको सूचक हो

यस वर्षको पहिलो साता बंगलादेशमा कथित चुनावी अनियमितता र हिंसाको समाचार संकलन गर्ने क्रममा कम्तीमा १८ पत्रकारलाई प्रताडित गरियो । त्यसपछि फेब्रुअरीको सुरुवातमा पाकिस्तानमा पत्रकारलाई हिंसा, व्यापक इन्टरनेट बन्द र मोबाइल नेटवर्क निलम्बनबाट चुनावी समाचार संकलन गर्न रोकिएको थियो । यही मार्चमा टर्कीमा पत्रकारलाई गोली हानियो र स्थानीय चुनाव अवलोकन गर्न प्रतिबन्ध लगाइयो, जब कि चुनावी अवलोकन पत्रकारको कानुनी अधिकार थियो ।

‘सुपर इलेक्सन इयर’ अर्थात् ‘विशेष चुनावी वर्ष’मा यो अवस्था आउनु निकै चिन्ताजनक हो । विश्वको आधा जनसंख्याले मतदान गर्ने भएकाले उम्मेदवार र मुद्दामा स्वतन्त्र रिपोर्टिङ आवश्यक छ । तर, परिपक्व लोकतन्त्रमा समेत मिडियामाथि आक्रमण बढिरहेका छन् । अमेरिकामा उम्मेदवारका रूपमा डोनाल्ड ट्रम्पको पुनरागमनले ६ जनवरी ०२१ को सम्झनालाई ताजा बनाएको छ । त्यतिवेला उनका समर्थकले क्यापिटोलमा आक्रमण गर्दा पत्रकारमाथि खनिएर क्यामेरामाथि तोडफोड गरेका थिए र ढोकामा ‘मिडियालाई मारौँ’ लेखेका थिए । यी उदाहरण एक व्यापक समस्याको चित्रण हो । अमेरिकादेखि भारतसम्म कडा मिहिनेतले आर्जेको स्वतन्त्रता र अधिकार खोसिएका छन् । सन् २०२३ मा विश्वभर प्रजातन्त्रको अनुगमन गर्ने भि–डेम इन्स्टिच्युटले सन् १९८९ देखि लोकतान्त्रीकरणतर्फ भएको प्रगति उल्टो दिशामा गइरहेको चेतावनी दिँदै प्रतिवेदन प्रकाशित गरेको थियो । प्रतिवेदनका लेखकले पत्रकारमाथि बढ्दो आक्रमणलाई निरंकुशताको प्रमुख सूचक मान्छन् । ‘तानाशाह हुन खोज्नेले सबैभन्दा पहिले र धेरै अभिव्यक्ति स्वतन्त्रता एवं मिडियामाथि खनिन्छन्’ प्रतिवेदनमा लेखिएको थियो ।

स्वतन्त्र मिडिया सधैँ तारो बन्ने देशमा मात्र नभई अन्यत्र पनि पत्रकारमाथिको धम्की बढ्दै गएको छ । विगत तीन वर्षमा कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले ग्वाटेमालाजस्ता कथित लोकतान्त्रिक देश र कुनै वेला अपेक्षाकृत उच्चस्तरको व्यक्तिगत र राजनीतिक स्वतन्त्रता हुने हङकङलगायत स्थानका पत्रकार (र मिडियाका शीर्ष अधिकारी पनि) कारागारमा छन् । पत्रकार हत्या झन्डै एक दशकयताकै उच्चस्तरमा पुगेको छ । सन् २०२२ मा अमेरिकी खोज पत्रकार जेफ जर्मनलाई लास भेगासस्थित निवासबाहिर छुरा प्रहार गरियो र एक राजनीतिज्ञ जसमाथि जर्मनले रिपोर्टिङ गरेका थिए, तिनले अहिले हत्याको मुद्दा खेपिरहेका छन् । वासिंगटन र वेस्टमिन्स्टरदेखि ब्युनस आयर्स र बुडापेस्टसम्म राजनीतिको समाचार लेख्ने पत्रकारले दैनिक ज्यान मार्ने धम्की पाउँछन् र राजनीतिक र्‍याली एवं विरोध प्रदर्शनमा तारो बन्छन् ।

सन् २०२१ को युनेस्कोको प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी महिला पत्रकारमध्ये तीनचौथाइले अनलाइन घृणा, उत्पीडन वा हिंसाको धम्कीको अनुभव गरेका थिए । यस्तो धम्की आउने सबैभन्दा ठूलो कारकमा ‘राजनीति र चुनाव’मा रिपोर्टिङ थियो । महिला र सीमान्तकृत समुदायका व्यक्तिले अनलाइन मिडियाविरोधी उत्पीडनको मार भोग्छन् र यो हिंसा बारम्बार फैलिन्छ । यो विचलित पार्ने प्रवृत्ति मिडियामा मात्रै सीमित छैन । पत्रकारमाथिको आक्रमणले सबैलाई क्षति पुर्‍याउँछ । पत्रकारले उम्मेदवारबारे जनतालाई सूचित गर्छन्, अर्थात् पत्रकारले उम्मेदवारको व्यावसायिक रेकर्ड, दाबीको सत्यता र वाचाको विश्वसनीयताबारे जनतालाई बताउँछन् । नीतिगत उपलब्धि र असफलताबारे रिपोर्टिङ गरेर पत्रकारले उम्मेदवारको आधिकारिक भाष्यलाई पुष्टि गर्छन् वा विरोधाभासी भएको खण्डमा झुटको पर्दाफास गर्छन् । पत्रकारले मतदान प्रक्रियाबारे व्यावहारिक जानकारी पनि दिन्छन् र चुनावी अनियमितता एवं वित्तीय संहिताको उल्लंघनको निगरानी पनि गर्छन् । यस्तो जानकारी एवं सूचनाविना लोकतन्त्र सम्भव हुँदैन र यस अवस्थालाई भि–डेमले ‘चुनावी निरंकुशता’को संज्ञा दिएका छन्, जहाँ चुनाव केवल कर्मकाण्डी बन्छन् ।

सत्तामा रहेकालाई जवाफदेही बनाउन स्वतन्त्र रिपोर्टिङ पनि महत्वपूर्ण छ । यसको महत्व पहिल्यैदेखि स्थापित छ । पाउन्ड–द–पेभमेन्ट रिपोर्टिङले न्युयोर्कका रिपब्लिकन कंग्रेसका जर्ज सान्तोसको झुटो जीवनीको पर्दाफास गरेको थियो, जसले अन्ततः उनलाई कंग्रेसबाट निष्कासन गरायो । उनले आपराधिक आरोप पनि खेप्नुपर्‍यो । मिडियाकै कारण पेरुको गोप्य–पुलिस प्रमुख भ्लादिमिरो मोन्टेसिनोस टोरेस, न्यायाधीश र राजनीतिज्ञलाई घुस दिइएको रेकर्डिङ बाहिर आएको थियो, जसले राष्ट्रपति अल्बर्टो फुजिमोरीको पतन गरायो । त्यसैगरी ‘पार्टीगेट’माथि स्वतन्त्र रिपोर्टिङले अन्ततः बोरिस जोनसनलाई बेलायतको प्रधानमन्त्रीबाट अपदस्थ गरायो ।

मिथ्या एवं दुराशययुक्त सूचनाको बिगबिगी भएका वेला स्वतन्त्र र व्यावसायिक पत्रकारिता स्थानीय एवं राष्ट्रियस्तरमा थप महत्वपूर्ण भएको छ । एसोसिएटेड प्रेसको हालैको रिपोर्टअनुसार एआईले चुनावी प्रसारलाई व्यापक बनाइरहेको छ, जुन डिपफेक छवि र अडियोमार्फत हुन्छ । यसलाई प्रामाणिक रेकर्डिङबाट छुट्याउन सम्भव छैन । त्यसैगरी अफ्रिका सेन्टर फर स्ट्राटेजिक स्टडिजद्वारा मार्चमा जारी गरिएको अध्ययनले सन् २०२२ को तुलनामा अफ्रिकी महादेशमा हालैका चुनावमा दुराशययुक्त सूचना चार गुणा बढेको देखाएको छ ।

स्वतन्त्र समाचार मिडियाले प्रविधि–सञ्चालित मिथ्या सूचनाको प्रभावविरुद्ध लड्न महत्वपूर्ण भूमिका खेल्छ । ताइवानको हालैको चुनावी अभियानका क्रममा अनलाइन प्लेटफर्ममा मिथ्या सूचनाको फैलावट भए पनि यसलाई स्थानीय मिडिया, निर्वाचन अधिकारी र तथ्य जाँचकर्ताको प्रयासमार्फत प्रभावकारी रूपमा सम्बोधन गरिएको थियो । विश्वास स्थापित गर्न र मतदातालाई आवश्यक जानकारी प्रदान गर्नमा यिनको ठोस प्रयासले प्रभावकारी भूमिका खेलेको थियो । हामीले अब यी दृष्टान्तमा ध्यान दिनुपर्छ र चेतावनी संकेतलाई सावधानीका हेर्नुपर्छ । यदि यो वर्ष विश्वभर लोकतन्त्रको परीक्षणको वर्ष हो भने मिडियामाथि गरिने व्यवहार परीक्षणको सूचक हो । उन्मुक्त र स्वतन्त्र प्रेसको रक्षा गर्न र जीवन्त एवं जिज्ञासु स्थानीय मिडियालाई सघाउनुपर्छ । 

(गिन्सबर्ग कमिटी टु प्रोटेक्ट जर्नलिस्टकी प्रमुख कार्यकारी अधिकृत हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad