१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o८:४३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसमा केन्द्रीय समिति बोलाउन दबाब

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:४३:oo

दुई महिनासम्म महासमिति बैठकका ठोस निर्णय सार्वजनिक नभएकाले पार्टी रणनीतिबारे अलमल देखिएको भन्दै असन्तुष्टि

प्रमुख प्रतिपक्षी दल कांग्रेसमा केन्द्रीय समिति बैठक बोलाउन दबाब बढेको छ । उपनिर्वाचनमा अनपेक्षित परिणामसँगै कांग्रेसमा निर्वाचन समीक्षा र आगामी रणनीति तय गरेर जानुपर्ने आवाज बढेको हो । केन्द्रीय सदस्यहरूले केन्द्रीय बैठकमा पार्टीका आन्तरिक विषय र परिवर्तित अवस्थामा बनाउनुपर्ने रणनीतिबारे पर्याप्त छलफल हुन नसकेको भन्दै असन्तुष्टि उत्पन्न हुन थालेको हो । 

केन्द्रीय सदस्यहरूले उपनिर्वाचनको समीक्षा, महासमिति बैठकको ठोस निर्णय र आगामी रणनीति तय गरेर जानुपर्ने आवाज उठाउँदै आएका छन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत केन्द्रीय समिति बैठक बस्न ढिलाइ भएको बताए । छिट्टै केन्द्रीय समिति बस्ने उनको दाबी छ । ‘पछिल्लो समय विकसित घटनाक्रम र उपनिर्वाचनका कारण बैठक बस्न सकेको छैन । छिट्टै बैठक बसेर सबै विषयमा घनीभूत छलफल गर्छौँ । बैठकको मिति भने टुंगो लागिसकेको छैन,’ उनले भने । 

उपसभापति धनराज गुरुङले महासमिति बैठकको निर्णय सार्वजनिक गर्नकै लागि केन्द्रीय समिति बैठक बस्ने विषयमा कुनै तयारी नभएको बताए । महासमितिपछिका राजनीतिक घटनाक्रमले पार्टीको निर्णयमा कुनै असर नपर्ने उनको भनाइ छ । ‘केन्द्रीय समिति बैठकबाट निर्णय गरेर जान ढिलाइ भएको छ । निर्णय हुँदाको भन्दा परिस्थिति फेरिएको छ, तर सारभूत रूपमा महासमिति बैठकका निर्णय दस्ताबेजीकरण सरकार परिवर्तन र गठबन्धन टुट्नुले असर गर्दैन । बाँकी विषयमा केन्द्रीय समिति बैठकबाट रणनीति बनाएर जान्छौँ,’ उनले भने ।

गठबन्धनको विषयले महासमिति बैठकमा समेत विशेष रूपमा चर्चा पाएको थियो । गठबन्धनको विषयमा दुईथरी धारणा आएसँगै कांग्रेसले केन्द्रीय समितिले बैठकका सुझावलाई समेटेर निर्णयमा पुग्ने मध्यमार्गी बाटो लिएको थियो । गत २१ फागुनमा कांग्रेस–माओवादी गठबन्धन टुटेसँगै सरकारबाट बाहिरिएको कांग्रेसले अझै यसबारे समीक्षा गरेको छैन । साथै, १५ वैशाखमा सम्पन्न उपनिर्वाचनको पनि समीक्षा हुन सकेको छैन । यसअघि कांग्रेस केन्द्रीय समिति बैठक ३ र ४ फागुनमा बसेको थियो । बैठक महासमिति बैठकका प्रस्ताव र तयारीका विषयमा मात्र केन्द्रित भएको थियो । यसबाहेक महत्वपूर्ण विषयमा छलफल हुन नसकेका भन्दैे केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल छिट्टै केन्द्रीय समिति बैठक बोलाएर महासमिति बैठकको निर्णय, कांग्रेस सरकारबाट बाहिरिएको विषय, उपनिर्वाचनको समीक्षा गरी आगामी रणनीति तय गर्नुपर्ने बताउँछन् । ‘छिट्टै केन्द्रीय समिति बैठक बोलाएर महासमिति बैठकको निर्णयलाई अन्तिम रूप दिनुपर्छ । गठबन्धन टुट्नुको कारण र उपनिर्वाचनको परिणामको समीक्षा गरेर आगामी रणनीति तय गरेर जानुपर्छ,’ उनले भने । 

अर्का केन्द्रीय सदस्य नैनसिंह महर पनि तत्काल केन्द्रीय समिति बैठक बोलाउनुपर्ने पक्षमा छन् । केन्द्रीय समिति बैठक बस्न नसक्दा कांग्रेसको रणनीति अलमलमा परेको उनको भनाइ छ । ‘महासमिति बैठकबाट कुनै ठोस निर्णय आएका छैन । केन्द्रीय समिति बैठक बस्न नसक्दा ठोस निर्णय आउन सकेन । पदाधिकारी र कार्यसम्पादन समिति बैठकबाट निर्णय हुने गरेका छन् । केन्द्रीय समिति अनुमोदन गर्ने थलो मात्रै बनेको छ,’ उनले भने, ‘उपनिर्वाचनको समीक्षासहित कांग्रेसको आगामी रणनीतिबारे गम्भीर छलफल हुनुपर्ने हो । तर, बैठक नबस्दा सबै विषय अलमलमै छन् । कांग्रेसले संसद् छलेर अध्यादेशबाट देश चलाएजस्तोे गर्नुहुँदैन ।’ 

अर्का केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले कांग्रेसले तत्काल बैठक राखेर आफ्नो बाटो स्पष्ट पार्न ढिलाइ गर्न नहुने बताए । उनले बैठक बसेर पर्याप्त छलफल नहुँदा कांग्रेस अलमलिएको टिप्पणी गरे । ‘अब कांग्रेसले अलमल गरेर हुँदैन । तत्काल बैठक राखेर आफ्नो कार्यशैली परिवर्तन गर्ने र सामाजिक परिवेशअनुसार आफूलाई जनस्तरमा लाने गरी एजेन्डा तय गरेर आगामी निर्वाचनमा एक्लै जाने तयारी गर्नुपर्छ,’ उनले भने, ‘अहिलेको निर्वाचनको आधार हेरेर थप रणनीति बनाउनुपर्छ ।’ 

बैठकमा पेस भएका प्रस्तावमा सहभागीबाट आएका सुझावका आधारमा केन्द्रीय समितिबाट परिमार्जनसहित पारित गर्ने गरी गत १० फागुनमा महासमिति बैठक सकिएको थियो । बैठकमा महामन्त्री गगन थापाले आगामी निर्वाचनमा आफ्नै तागतमा एक्लै लड्ने र गठबन्धन नगर्ने प्रस्ताव ल्याएका थिए । तर, अर्का महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन रणनीतिक विषय भएकाले यसबारे अहिले निर्णय गर्न आवश्यक नरहेको प्रस्ताव पेस गरेका थिए । उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनमा भने गठबन्धनको विषय मौन थियो । गठबन्धनको विषय महासमिति बैठकमा पेचिलो बनेको थियो । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेता गठबन्धनबारे अहिले नै निर्णय लिन आवश्यक नभएको भन्ने पक्षमा थिए । ‘प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम रूप दिने गरी तीनवटै प्रस्ताव महासमितिको बैठक सर्वसम्मतिले पारित गर्दछ,’ बैठकको निर्णयमा भनिएको थियो । 

७ देखि १० फागुनसम्म गोदावरीमा बसेको बैठकले तत्कालीन माओवादी–कांग्रेस गठबन्धनलाई निरन्तरता दिने निर्णय लिएको थियो । तर, महासमिति बैठकपछि २१ फागुनमा गठबन्धन टुट्दा कांग्रेस सत्ताबाट प्रमुख प्रतिपक्षी दलको हैसियतमा आइपुगेको छ । साथै, गठबन्धन टुटेपछि भएको उपनिर्वाचनमा कांग्रेसले इलाम २ मा विगतको तुलनामा मत गुमाएको छ भने बझाङ प्रदेश सभा (१) मा यसअघिको सिटसमेत गुमाएको छ । इलाम २ मा कांग्रेसका डम्बर खड्का एमालेका सुहाङ नेम्वाङसँग पराजित भए । बझाङमा एमालेका दमन भण्डारीसँग कांग्रेसका अभिषेकप्रताप सिंह पराजित भए । दुई क्षेत्रमध्ये इलाममा पराजय व्यहोरे पनि मत अनुपात स्थिर नै रहेको, तर एमालेको गठबन्धन र केही भोट पहिचानवादीले काट्दा पराजित हुनुपरेको कांग्रेसको प्रारम्भिक निष्कर्ष छ । 

ad
ad