१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ ५ शनिबार १o:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाढीपहिरोबाट विस्थापित ३६ घरपरिवारलाई लालपुर्जा वितरण

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:२२:oo

बाह्रबिसे नगरपालिकाले बाढीपहिरोबाट विस्थापित ३६ घरपरिवारलाई आवास निर्माणका लागि आवश्यक जग्गा खरिद गरेर लालपुर्जासमेत वितरण गरेको छ । नगरप्रमुख बालकृष्ण बस्नेत आफैँ विस्थापितको घरमा पुगेर पीडितलाई लालपुर्जा दिएका छन् ।

भोटेकोशीमा आएको बाढी र विभिन्न समयमा पहिरोमा परेका पीडितलाई नगरले लालपुर्जा दिएर आवास निर्माणमा पनि साथ दिने निर्णय गरेको हो । विस्थापितमध्ये १५ घर परिवार सुकुमवासी हुन् । उनीहरूको नाममा कुनै चल–अचल सम्पत्ति छैन ।

‘सरकारी कागजात मिलाउन समय लाग्यो । तैपनि विस्थापित सबैलाई चित्त बुझाउने काम नगरपालिकाले गरेको छ,’ नगरप्रमुख बस्नेतले भने, ‘घरबारविहीन नगरवासीलाई लालपुर्जासहित आवास निर्माण गर्ने अभियान जारी रहनेछ।’ सुकुमवासी र विस्थापितलाई यसरी आवास निर्माण सुरुवात गर्ने बाह्रबिसे नगरपालिका जिल्लामा पहिलो हो । 

यस नगरको वडा नं. ७ पाङ्सारमा १४ घरलाई, वडा नं. ३, ५ र ६ का २२ घरलाई लालपुर्जा वितरण गरिएको छ । विस्थापितका लागि संघ र प्रदेशले प्रत्येक परिवारलाई आठ लाखको दरले रकम उपलब्ध गराएको छ । सरकारले दिएको रकम अपुग भएकाले १५ प्रतिशत स्थानीय सरकारले व्यहोरेर विस्थापितलाई स्थायी आवास निर्माण सुरु गरिएको छ । ‘नपुग रकम हामी उपलब्ध गराउँछौँ,’ नगरप्रमुख बस्नेतले भने, ‘माथिल्लो सरकारले जमिन किन्न तीन लाख र आवासका लागि पाँच लाख दिएको हो । बाँकी खर्च नगरले गर्छ ।’

बाह्रबिसे नगर र भोटेकोसी गाउँपालिकामा प्राकृतिक विपत्तिबाट विस्थापित भएकाहरू हालसम्म पनि स्थापित हुन सकेका छैनन् । कतिपय विस्थापित गाउँ छोडेर अन्यत्र गएका छन् भने कतिपयले नजिकको बजार क्षेत्रमा कोठा भाडामा लिएर गुजारा गरिरहेका छन् । नगरपालिकाले गरिरहेको कार्यसम्पादनबाट विस्थापितले अब छिट्टै राहत पाउनेछन् । पीडितको आवास निर्माण गर्न बाह्रबिसे नगरले छुट्टै संयन्त्र परिचालन गरेको छ । 
 

ad
ad