१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज महिलाविरुद्ध हिंसा अन्त्य गर्न आयोजित एक र्‍यालीमा । तस्बिर : एपी
२o८१ जेठ ५ शनिबार o८:५o:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

अस्ट्रेलियामा महिला कति सुरक्षित ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:५o:oo

महिलाहरू प्रेमी–पूर्वप्रेमी वा परिवारकै सदस्यबाट मारिने क्रम बढेपछि देशभर उत्पन्न आक्रोशबीच प्रधानमन्त्री एन्थोनी अल्बानिजले घरेलु हिंसालाई ‘राष्ट्रिय संकट’को संज्ञा दिएका छन्

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले घरेलु हिंसालाई ‘राष्ट्रिय संकट’को संज्ञा दिए । देशमा महिलाहरू तिनका घनिष्ठ पार्टनरबाटै मारिने क्रम बढेपछि उत्पन्न भएको आक्रोशमाझ प्रधानमन्त्री अल्बानिजको यस्तो घोषणा आयो । अस्ट्रेलिया सरकारले यस राष्ट्रिय संकटसँग जुध्नका लागि घरेलु हिंसाबाट पीडितहरूको मद्दतका लागि नयाँ आर्थिक कोषको निर्माणदेखि अनलाइनमा फैलिने महिलाविरोधी सामग्री हटाउनेसम्मको वाचा गरेको छ । सरकारबाट घोषणा गरिएका उपाय यस मुद्दालाई गम्भीरता दिन माग गर्दै देशका प्रमुख सहरहरू ब्रिस्बेन, क्यानबेरा, मेलबर्न, सिड्नी र पर्थमा दसौँ हजार नागरिकको विरोध र्‍याली निस्किएपछि ल्याइएका हुन् ।

पछिल्लो समय देशका केही महिलालक्षित आक्रमणपछि पछिल्लो विरोध प्रदर्शन सुरु भएका थिए । अप्रिलमा देशको सबैभन्दा ठूलो सहर सिड्नीको एक व्यस्त मलमा एक आक्रमणकारीले चक्कुले हानेर ६ जनाको हत्या गरेका थिए । मारिनेमध्ये पाँचजना महिला थिए । प्रहरी अनुसन्धानमा आक्रमणकारीले महिलाहरूलाई नै निसाना बनाएर आक्रमण गरेको पाइएको देखिएको छ । त्यस्तै अधिकारकर्मी समूहका अनुसार अस्ट्रेलियामा बर्सेनि घरेलु हिंसाका कारण हरेक चार दिनमा एकजना महिलाको हत्या भइरहेको छ ।

त्यसअघि एक हप्ताभित्रै तीन महिला तिनकै नजिकका पुरुष मित्रबाट मारिएका समाचारले पनि धेरैलाई चिन्तित बनाएको थियो । तीनमध्ये एक घटनामा मारिएकी २८ वर्षीया एकल आमा मोली टिसहर्स्टलाई उनका पूर्वप्रेमीले हत्या गरेको अनुसन्धानले देखाएको छ । उनका हत्यारा पूर्वप्रेमी टिसहर्स्ट बलात्कार गरेको र उनको चाहनाविपरित निरन्तर पिछा गरिएको आरोपमा हिरासतमा थिए । जमानतमा छुटेको केही हप्ताभित्रै उनले टिसहर्स्टको हत्या गरिदिए । अधिकारकर्मी समूह ‘ड्रिस्ट्रोय द जोयन्ट’का अनुसार यो वर्षभर अस्ट्रेलियामा २८ महिला तिनका वर्तमान या पूर्वप्रेमी वा आफ्नै परिवारका सदस्यबाट मारिएका छन् । यो संख्या गत वर्षको सोही अवधिमा मारिएको संख्याको भन्दा झन्डै दोब्बर भएको सार्वजनिक प्रसारण सेवा एबिसीले बताएको छ । 

अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजीकी अनुसन्धान प्रबन्धक सामान्था ब्रिकनेलले एबिसीलाई बताएअनुसार पछिल्ला तथ्यांकले महिलाविरुद्ध हिंसाको प्रवृत्तिमा वृद्धि भइरहेको संकेत गरेका छन् । उनका अनुसार जुन २०२२ देखि जुन २०२३ बीचमा नजिकका आफन्तबाट महिलाहरू मारिने दर ३१ प्रतिशतले बढ्यो । त्यस अवधिमा ३४ वटा घरेलु हिंसाजन्य हत्या भएको थियो, जबकि एक वर्षअघिको सोही अवधिमा २६ जना महिला त्यस प्रकारको हिंसामा मारिएका थिए । यो वृद्धिले अस्ट्रेलियामा घरेलु हिंसामा मारिने महिलाको संख्या दीर्घकालमा कम हुँदै गएको भन्ने दाबीलाई गलत ठहर्‍याउँछ ।

‘कतै यो स्थायी वृद्धि त होइन भन्ने हामीहरूको डर हो ? यसबारे अस्ट्रेलियाका सबैले चिन्ता लिनु आवश्यक छ,’ ब्रिकनेलले एबिसीसँगको संवादमा भनिन्, ‘भर्खरैको तथ्यांकले घरेलु हिंसामा मारिने महिलाको संख्या बढ्दै गएको देखाउँछ । तर, हामी आशा गर्छौं कि यो संख्या अहिलेका लागि थोरै उकालो लागेर ओरालो लागोस् र निरन्तर घट्दै गएको देख्न पाइयोस् ।’ प्रायः घरेलु हिंसाको घटनामा कसैको हत्या भए मात्र चर्चा हुने गर्छ । त्यसबाहेक पनि चारमध्ये एक १५ वर्षमाथिका अस्ट्रेलियाली महिलाले तिनको घनिष्ठ पार्टनर वा परिवारको सदस्यबाट हिंसाको अनुभव गरेको सरकारी तथ्यांकले देखाउँछ । त्यस्तै पछिल्लो समयमा, तीनमध्ये एकजना भन्दा बढी महिलाले घनिष्ठ पार्टनरबाट शारीरिक र यौन हिंसाको अनुभव गरेको रिपोर्ट गरेका छन् । यी तथ्यांक चिन्ताको विषय हो, तथापि यो अझै फ्रान्स, बेलायत र संयुक्त राज्य अमेरिकाजस्ता देशहरूको तुलनामा कम नै हो । 

प्रधानमन्त्री अल्बानिजले के भने ?
गत आइतवार क्यानबेरामा आयोजित एक प्रदर्शनमा सहभागी भएका प्रधानमन्त्री अल्बानिजले सम्बोधनका क्रममा ‘यी र्‍यालीलाई उनले कारबाहीको आह्वान’का रूपमा लिएको बताए । ‘हामीले संस्कृति परिवर्तन गर्न आवश्यक छ । हामीले मनोवृत्ति परिवर्तन गर्न आवश्यक छ । हामीले कानुनी प्रणाली परिवर्तन गर्न आवश्यक छ । हामीले सबै तहका सरकारको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ, किनभने पीडितहरूलाई सहयोग दिएर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन । हामीले अपराधीमाथि ध्यान केन्द्रित गर्नुपर्छ र अपराध हुनै नदिन अवस्थामा ध्यान दिन आवश्यक छ,’ अल्बानिजले भने । उनले यस मुद्दालाई राष्ट्रिय आपत्कालीन घोषणा गर्न गरिएको मागबारे प्रतिक्रिया पनि दिए । यस प्रकारका आदेश प्राकृतिक प्रकोपजस्ता छोटो अवधि प्रभावित बनाउने घटनासँग जुध्न सहयोगी हुने बताए । उनले घरेलु हिंसालाई ‘राष्ट्रिय संकट’को रूपमा वर्णन गर्दै र यसका लागि लामो कालसम्म काम गर्नुपर्ने आवश्यकतामा जोड दिए । 

महिला हिंसाविरुद्ध अपनाउन सकिने कदमबारे छलफल गर्न बुधबार मन्त्रिपरिषद् बैठक पनि बेलाइएको थियो । मन्त्रिपरिषद् बैठकपछि बोल्ने क्रममा अल्बानिजले उनको सरकारले हिंसाबाट बच्ने प्रयास गरिरहेका महिला र बालबालिकाको सहयोगका लागि एक अलग आर्थिक कोष ल्याएको बताए । यस कोषका लागि पाँच वर्षमा ९२.५ करोड अस्ट्रेलियन डलर छुट्याएको उनले जानकारी दिए । ‘लिभिङ भायलेन्स प्रोग्राम’ नाम दिइएको आर्थिक सहयोग कार्यक्रमका लागि योग्य हुने पीडितले पाँच हजार अस्ट्रेलियन डलरसम्म आर्थिक सहयोग पाउनेछन् । त्यसबाहेक उनीहरूलाई अन्य आवश्यक सेवा, जोखिम मूल्यांकन तथा सुरक्षा योजना पनि प्रदान गरिने सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रिय मन्त्रिपरिषद्ले महिलाविरुद्ध हिंसा बढाउने कारणसँग जुध्ने नयाँ कदम पनि सार्वजनिक गरेको छ । तिनमा ‘हिंसात्मक अनलाइन अश्लील सामग्री र बालबालिका तथा साना बाबुनानीलाई महिलाप्रति घृणा फैलाउने सामग्री’ नियन्त्रणको विषय पनि परेको छ । यसका लागि ‘डिपफेक पोर्नोग्राफी’ प्रतिबन्धसम्बन्धी कानुन ल्याउने र निश्चित प्रविधिमाथिको पहुँचका लागि उमेर सीमा तोक्ने सम्बन्धमा अनुसन्धानका लागि थप रकम छुट्याउने विषय पनि रहेको विज्ञप्तिमा भनिएको छ । त्यस्तै तीन महिनामा यस क्षेत्रमा भएको प्रगतिबारे मन्त्रिपरिषद्को बैठक गरेर मूल्यांकन हुने पनि उल्लेख छ । 

– अलजजिराबाट 

ad
ad