१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष २४ मंगलबार १८:४०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुस्तकालय र भवन मर्मत अनुदानमा भ्रष्टाचार गर्ने प्रधानाध्यापक चार मुद्दामा दोषी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष २४ मंगलबार १८:४०:००

गोरखाको सिरानचोक–१ स्थित नेपाने माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक भ्रष्टाचारका चारवटा मुद्दामा दोषी पाइएका छन्।

उक्त विद्यालयमा प्रधानाध्यापक रहँदा शिवकुमार साहसमेतले लाखौँको अनियमितता गरेको भन्दै विशेष अदालतले तीनवटा मुद्दामा दोषी ठहर र एउटामा आंशिक ठहर हुने फैसला गरेको हो।

विशेषका अध्यक्ष टेकनाराण कुँवरसमेतको इजालसले मंगलबार यस्तो फैसला गरेको हो। सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले तीनवटा मुद्दामा सजाय सुनाएको छ भने एउटा मुद्दामा कसुर कायम भए पनि सजाय निर्धारणको पेसी तोकिएको छ।

साह प्रधानाध्यापक रहँदा तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट नेपाने माविका लागि पुस्तकालय व्यवस्थापन र किताब खरिद शीर्षकमा साढे ६ लाख रुपैयाँ आएको थियो। तर, उक्त रकम प्रयोग नगरी झुठा बिल भरपाई बनाएर अनुदानको उक्त रकम साहले मासेको भेटिएको थियो।

यस कसुरमा दोषी ठहर गर्दै विशेषले उनलाई साढे ६ लाख रुपैयाँ बिगो तोकेको छ भने उति नै रकम जरिवाना हुने भएको छ। साथै, उनलाई एक वर्ष ६ महिना कैदको सजाय पनि सुनाइएको छ।

साहले नेपाने माविको रेट्रो मेन्टेनेन्स तथा मर्मत शीर्षकमा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रकममा पनि हिनामिना गरेको भेटिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तीन लाख ५० हजार रुपैयाँ भ्रष्टाचार भएको देखिएको थियो। 

यसमा पनि प्रधानाध्यापक साह दोषी पाइएका छन्। विशेषले उनलाई ६ महिना कैद र साढे तीन लाख रुपैयाँ बिगो तथा उति नै रकम जरिवाना तिराउने फैसला गरेको छ।

साहले विद्यालयमा विज्ञान, गणित र अंग्रेजी प्रयोगशाला सञ्चालनको कार्यमा पनि भ्रष्टाचार गरेका थिए। यी विषयको ल्याब सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयले दिएको कुल १३ लाख ३२ हजार रुपैयाँ पनि दुरुपयोग गरेको भेटिएको थियो। झुठा निर्णय र नक्कली बिलसमेत तयार गरी अनियमितता गरिएको अख्तियारको दाबी थियो।

यसमा पनि उनी दोषी ठहर भएका छन् भने एक वर्ष ६ महिना कैद सजाय तोकिएको छ। यस मुद्दामा ५ लाख ९५ हजार बिगो कायम भएको छ। प्रधानाध्यापक साहले बिगोका साथै उति नै रकम जरिवाना पनि तिर्नुपर्नेछ। यी तीनवटै मुद्दा ६ फागुन २०७६ मा अख्तियारले दायर गरेको थियो।

यस मुद्दाका अर्का प्रतिवादी विकास झाले भने सफाइ पाएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका प्राविधिक सब-इन्जिनियर झाले साहसँग मिलेमतो गरी ट्रस भवन मर्मतको झुठा कार्यसम्पन्न प्रतिवेदन र नापी किताब तयार गरेको अख्तियारको दाबी थियो।

झाले अर्को एक मुद्दामा पनि सफाइ पाएका छन्। प्रधानाध्यापक साहसँगैको मिलेमतोमा झुठा कागजात तयार गरेको भनी अभियोग लगाइएकोमा उनले सफाइ पाएका हुन्। तर, साह भने उक्त मुद्दामा दोषी ठहर भएका छन्। सजाय निर्धारणका लागि ७ माघको पेसी तोकिएको छ।

नेपाने माविमा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त छात्रवृत्ति र पोसाक तथा झोलाको रकममा अनियमितता भएको थियो। छात्रा शौचालय, फर्निचर मर्मत र निर्माणजस्ता शीर्षकमा विद्यालयलाई दिइएको रकममा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएकोमा यसमा पनि साहउपर अभियोग ठहर भएको छ।