![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/cake2024-01-08-11-12-24.gif)
सामाजिक सञ्जालमार्फत गाँजा मिसिएको केक बिक्री गर्ने काठमाडौं महानगरपालिका– २९ घट्टेकुलोका २६ वर्षीय विसन मानन्धर पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले इन्स्टाग्राममा ‘बम्ब डक ओग नेपाल’ नामको एकाउन्ट खोली गाँजा मिसिएको केक बिक्री गर्दै आएका थिए । यसका निम्ति आवश्यक केक उनी आफैँ उत्पादन गर्थे । अर्डर अनलाइनबाटै लिन्थे । र, ग्राहककहाँ भने इन्ड्राइभ र पठाओमार्फत पुर्याउँथे ।
ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार उनले यो धन्दा एक वर्षदेखि चलाउँदै आएका थिए । यसका लागि उनले केकर्स क्रिएसन नामको कम्पनी नै खोलेका थिए । सोही कम्पनीमार्फत उनी गाँजामिश्रित केक उत्पादन गर्थे र निस्फिक्री बिक्री गर्थे । उनले बेकरीमार्फत द इफिफेन्सी ब्रेड, ह्याप्पी कप्स, बज लाइट एयर, नेस्टी क्यान्डी नामको ब्रान्डमा केक उत्पादन गर्दै आएका थिए । उनले कारोबारका लागि डार्क वेबमा ‘बम्ब डक ओग नेपाल’ पेज बनाएका थिए । पेज फलो गर्ने विश्वासिला ग्राहकलाई मात्रै उनी गाँजामिश्रित केक उपलब्ध गराउँथे ।