१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १७ मंगलबार
  • Saturday, 06 July, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८o पौष १७ मंगलबार १२:o५:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्र अझै मन्दीमै : निजी क्षेत्र

सिएनआईको सर्वेक्षण भन्छ– मन्दीको तथ्यांक सरकारले लुकायो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o पौष १७ मंगलबार १२:o५:oo

नेपाल उद्योग परिसंघ (सिएनआई)ले अर्थतन्त्र मन्दीमा रहेको तथ्य लुकाएर सरकारले आफूअनुकूल प्रचारबाजी गरेको आरोप लगाएको छ । सिएनआईले गरेको एक सर्वेक्षण सोमबार सार्वजनिक गर्दै अध्यक्ष राजेश अग्रवालले पछिल्ला तीन त्रैमासको आर्थिक वृद्धिदरको तथ्य लुकाएर सरकारले आफूअनुकूलका सकारात्मक सूचक मात्रै प्रचार गरेको बताए ।

‘गत आर्थिक वर्षको पहिलो दुई त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक छ । त्यसपछिका कुनै पनि त्रैमासको आर्थिक वृद्धिदरको तथ्यांक सरकारले सार्वजनिक गरेको छैन । केही सूचक देखाएर अर्थतन्त्र सकारात्मक बन्दै गइरहेको सरकारको दाबी छ,’ उनले भने, ‘अर्थतन्त्रको वास्तविक चित्र कुल गार्हस्थ्य उत्पादनले देखाउने हो । तर, विगत तीन त्रैमासदेखि सरकारले सार्वजनिक गरिरहेको छैन ।’

अर्थमन्त्री डा. प्रकाशशरण महतले केही समयअघि अर्थतन्त्रका सूचकहरू सार्वजनिक गर्दै देशको अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी गरेका थिए । आगामी वैशाखमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारीसमेत गरिरहेको सरकारले देशमा लगानीको वातावरण अनुकूल भएको सन्देश दिने उद्देश्यले अर्थतन्त्रमा सुधार आइरहेको बताउँदै आएको छ । तर, परिसंघले भने अर्थतन्त्र अझै मन्दीमा रहेको जिकिर सार्वजनिक गरेको छ । 

आर्थिक वर्ष ०७०/७१ मा आर्थिक वृद्धिदर ६.०१ प्रतिशत रहेकोमा ०७३/७४ मा ८.९८ प्रतिशत पुगेको थियो । ‘०७६/७७ मा ऋणात्मक रहेको आर्थिक वृद्धिदर ०७९/८० मा १.८६ प्रतिशत कायम थियो,’ उनले भने, ‘यो वास्तविक मूल्यमा आधारित तथ्यांक हो । सरकारले २.८६ भनिरहेको छ, जुन प्रचलित मूल्यमा आधारित हो । सरकारले तेस्रो र चौथो त्रैमासको तथ्यांक हालसम्म सार्वजनिक गरेको छैन ।’ प्रत्येक त्रैमासमा सार्वजनिक गर्नुपर्ने तथ्य सरकारले लुकाएको उनको आरोप छ । 

पछिल्लो दुई वर्षअघिबाट सुस्त बनेको अर्थतन्त्रको वास्तविकता लामो समयपछि स्वीकार गरेको सरकार तथा नियामकीय निकायले केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गरे पनि परिसंघले खण्डन गरेको हो । अर्थतन्त्रको बाह्य क्षेत्रको तथ्यांकलाई यसको आधार बनाइरहँदा सरकारको यस्तो जिकिरलाई जनस्तर, निजी क्षेत्रले अनुभव गर्न नपाएको उनको भनाइ छ । 

 मागमा अझै आएन सुधार 
परिसंघको सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार आएको देखिँदैन । ‘समग्र बजारमा माग खस्किएको देखिएको छ । कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिन्छ,’ सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । परिसंघले आर्थिक वर्ष ०७९/८० मा मुलुकको अर्थतन्त्रको अवस्थाको पहिचान गर्न अघिल्लो आर्थिक वर्षमा समेत सर्वेक्षण गरेको थियो ।

सोही सर्वेक्षणको दोस्रो संस्करणका रूपमा परिसंघले यस वर्ष पनि अघिल्लो र चालू आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन सर्वेक्षण गरेको जनाएको छ । सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष ०७९/८० मा २८.२८ प्रतिशतले ह्रास आएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ प्रतिशतले माग घटेको सर्वेक्षणले देखाएको छ । दुई वर्षको अवधिमा समग्रमा मागमा कुल ३६.९३ प्रतिशतले संकुचन आएको छ । यसैगरी, उद्योगहरूको कारोबार रकम आव ०७९/८० मा अघिल्लो वर्षको तुलनामा २४.९४ प्रतिशतले घटेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा थप ७.४६ प्रतिशतले घटेको छ । दुई आर्थिक वर्षमा कुल कारोबार रकम ३०.५४ प्रतिशतले खुम्चिएको छ ।

अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गत वर्षदेखि नै उद्योगी–व्यवसायीको मनोबल कमजोर रहेको अवस्था यथावत् रहेको देखिएको छ । सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९.४४ प्रतिशत उद्योगी–व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेका थिए । त्यस्तै, चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२ प्रतिशत उद्योगी–व्यवसायीले लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन् । यसबाट सरकारले दाबी गरेअनुसार अर्थतन्त्रको अवस्थामा सुधार नआएको परिसंघको बुझाइ छ । 

सर्वेक्षणअनुसार सिमेन्ट उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७.३६ प्रतिशतले संकुचन आएको छ । अघिल्लो आवको तुलनामा आव ०७९/८० मा सिमेन्टको माग ४०.१७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष ०७८/७९ को तुलनामा चालू आवमा ४४.५७ प्रतिशतले माग गिरावट आएको देखिन्छ । यसैगरी, यस्ता उद्योगको कारोबार रकममा अघिल्लो वर्ष ३९ प्रतिशतले संकुचन आएकोमा चालू आवको सोही अवधिमा थप ९.५४ प्रतिशतले गिरावट आएको देखिन्छ । आर्थिक वर्ष ०७८/७९ को तुलनामा ०८०/८१ मा कारोबार रकममा कुल ४४.८२ प्रतिशतले संकुचन आएको सर्वेक्षणले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा ८३.३३ प्रतिशत सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए । त्यस्तै, चालू आवमा ६२.५ प्रतिशतले लगानी योजना स्थगित गरेको जनाएका छन् । 

सर्वेक्षणमा सहभागी निर्माण क्षेत्रका उद्योगीका अनुसार समग्र माग अघिल्लो वर्षको नौ महिनाको तुलनामा थप १६.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष सोही अवधिमा ४३.४३ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष ०७८/७९ को तुलनामा ०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल ५२.५९ प्रतिशतले संकुचन आएको पाइएको छ ।

यसैगरी, यस क्षेत्रका उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष ४३.७१ प्रतिशतले घटेकोमा चालू आवमा थप २०.८० प्रतिशत घटेको देखिन्छ । आर्थिक वर्ष ०७८/७९ सँगको तुलनामा आर्थिक वर्ष ०८०/८१ मा यस क्षेत्रको समग्र कारोबार रकममा कुल ५५.४२ प्रतिशतले संकुचन आएको सर्वेक्षणल देखिएको छ । यस्तै, यस क्षेत्रका उद्योगहरूमा ३३.३३ प्रतिशतले लगानी स्थगित गरेको जनाएका छन् । गत वर्ष ५३.८५ प्रतिशत उद्योगी–व्यवसायीले आफ्नो लगानी विस्तारको योजना स्थगन गरेको बताएका थिए ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा एफएमसिजी क्षेत्रको माग २.५ प्रतिशतले बढे पनि चालू आवमा १७.७० प्रतिशत गिरावट आएको देखिएको छ । अघिल्लो वर्ष सकारात्मक रहेको क्षेत्रसमेत यस वर्ष नकारात्मक देखिएको परिसंघले जनाएको छ । आर्थिक वर्ष ०७८/७९ को तुलनामा ०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल १५.६४ प्रतिशतले संकुचन आएको देखिन्छ । यसैगरी, यस क्षेत्रको कारोबार रकममा अघिल्लो वर्ष १२.२५ प्रतिशतले बढेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १८.५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७८/७९ को तुलनामा ०८०/८१ मा समग्र कारोबार रकममा ८.५२ प्रतिशतले संकुचन आएको छ ।

सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४१.६७ प्रतिशत यस क्षेत्रका उद्योगी तथा व्यवसायीले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा यस क्षेत्रमा ५० प्रतिशत व्यवसायीले  लगानी योजना स्थगित गरेको जानकारी दिएको सर्वेक्षणमा उल्लेख छ । 

अर्थतन्त्रमा समस्या छ, तर अब सुधार हुन्छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा अझै समस्या रहेको बताउँदै आगामी दिनमा सकारात्मक संकेतहरू देखापर्ने दाबी गरेका छन् । मोरङ व्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो अर्थतन्त्र समस्यामा थियो, अझै पनि केही समस्या छ, आउँदा दिनमा आर्थिक वृद्धि हुनेछ ।’ मुद्रास्फीतिको घट्दो तथ्यांक प्रस्तुत गर्दै यसले सकारात्मक सन्देश दिएको उनले बताए ।

उनले भने, ‘५.३८ प्रतिशतमा मूल्यवृद्धि झरेको छ । छिमेकी मुलुकमा मूल्यवृद्धि घटेकाले पनि हामीलाई सहयोग पुगेको छ ।’ सेयर बजार र जग्गा कारोबारले गति समात्नुलाई पनि उनले अर्थतन्त्र सुधारको सूचक मानेका छन् । उनले भने, ‘सेयर कारोबार १८ सयमा झरेको थियो, अहिले बढ्दै छ । जग्गा कारोबारले पनि केही गति समातेको छ । बैंकहरूले ब्याजदर घटाउँदै छन्, जसले गर्दा ऋण प्रवाहमा वृद्धि भएको छ, आउँदा दिनमा अझ वृद्धि हुन सक्छ । पर्यटक आगमन अहिलेसम्मकै उच्च हो ।’

ad
ad
ad
ad