१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नवराज पनेरू डडेल्धुरा
२o८१ बैशाख ३० आइतबार १७:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डडेल्धुरा मेडिकल कलेजमा माघ २९ देखि कक्षा सञ्चालन हुने

Read Time : > 1 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:५६:oo

सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको डडेल्धुरा मेडिकल कलेजले माघ अन्तिमदेखि कक्षा सञ्चालन गर्ने भएको छ।

कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै अब कक्षा सञ्चालनको तयारी गरेको हो। सञ्चालन अनुमति पाएर छात्रवृत्तिका विद्यार्थी भर्नासमेत भइसकेपछि माघ २९ गतेदेखि कक्षा सञ्चालन हुने भएको छ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सात विद्यार्थी भर्ना भएसँगै माघ २९ गतेदेखि कक्षा सञ्चालन हुने जानकारी दिए। १० जनाको कोटा पाएकोमा बाँकी तीनजनाले भने शुल्क तिरेर पढ्न पाउने उपकुलपति जोशीले बताए।

‘एमबिबिएसको पढाइ सुरु गर्नका लागि भने डडेल्धुरा अस्पताल कम्तीमा पनि तीन सय शय्यामा स्तरोन्नति हुन आवश्यक छ,’ उनले भने, ‘तत्काल तीन सय शय्यामा अस्पताल स्तरोन्नति भए हामी २०८३ सालदेखि एमबिबिएसको पढाइ सुरु गर्न सक्छौँ।’ विशिष्ट सेवासहितको संघीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई नै सरकारले मेडिकल कलेज घोषणा गरेको हो। तर, डडेल्धुरा अस्पताल अहिले एक सय शय्याको स्वीकृत दरबन्दीअनुसार सञ्चालन भइरहेको छ।

विशिष्ट सेवासहितको संघीय अस्पताल भए पनि दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै रहेको छ। उपकुलपति जोशीले डडेल्धुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले मेडिकल कलेजमा अध्यापन र मेडिकल कलेजमा अध्यापन गराउने अध्यापकले डडेल्धुरा अस्पतालमा सेवा प्रदान गर्ने गरी मापदण्ड बनाउने पनि तयारी रहेको बताए।

डडेल्धुरासहित सुदूर पहाडका अस्पतालमा दरबन्दीअनुसार चिकित्सकलगायत स्वास्थ्यकर्मी नहुँदा समस्या छ। आइतबार डडेल्धुरा पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले विकट क्षेत्रमा स्वस्थ्यकर्मीलाई पठाउनै मुस्किल हुने गरेको बताए। ‘जनशक्तिको अभाव त देशभर छ,’ उनले भने, ‘तर, विकट क्षेत्रमा स्वास्थ्यकर्मीलाई पठाउनै मुस्किल हुन्छ। पठाइहाले पनि मुस्किलले एक वर्ष पनि टिक्दैनन्।’

आइतबार डडेल्धुरा अस्पतालले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डडेल्धुरा अस्पतालमा छिट्टै स्तरोन्नति हुने र मेडिकल कलेज सञ्चालन गरेर आफैँ चिकित्सक उत्पादनतर्फ लाग्नुपर्ने धारणा राखेका थिए।

‘अस्पताल स्तरोन्नतिका लागि संगठन सर्वेक्षण भएर फाइल अर्थ मन्त्रालय पुगेको छ,’ उनले भने, ‘यसै आर्थिक वर्षभित्र अस्पताल कम्तीमा पनि तीन सय शय्यामा स्तरोन्नति हुन्छ।’ मन्त्री बस्नेतले डडेल्धुरा अस्पताल स्तरोन्नतिका लागि सुरुवाती चरणमा दुई करोड बजेट पनि विनियोजन भइसकेको जानकारी दिए। डडेल्धुरा अस्पतालमा चाँडै चिकित्सक पठाउने उनको आश्वासन थियो। स्थायी रूपमा जनशक्ति अभावको समस्या समाधान गर्नका लागि भने मेडिकल कलेज सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।

ad
ad