१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ११ बुधबार
  • Thursday, 04 July, 2024
२o८o पौष ११ बुधबार o८:४८:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जुम्लामा हवाई टिकटमा कोटा प्रणाली

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o पौष ११ बुधबार o८:४८:oo

जुम्ला विमानस्थलमा पहुँचका आधारमा हवाई टिकट वितरण हुने र बिरामीले समेत टिकट नपाउने भएपछि कोटा छुट्याउने सहमति भएको छ । आइतबार जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरप्रमुख राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेसहितको बैठकले यस्तो निर्णय गरेको हो । 

जुम्ला विमानस्थलमा सञ्चालित सबै वायुसेवा कम्पनीहरूले आ–आफ्नो (जिएसए)सँग सहकार्य गरी एयरपोर्टबाहिर कार्यालय खोल्ने, डायरीमा यात्रुको नाम लेख्ने, पारदर्शी रूपमा टिकट वितरण गर्ने निर्णय भएको छ । सबै वायुसेवा कम्पनीहरूले बिहान १० बजेदेखि आ–आफ्नो उडान नसकेसम्म कार्यालय सञ्चालन गर्ने र भोलिपल्ट हुने उडानको टिकट एक दिनअगाडि नै वितरण गर्नुपर्ने निर्णय गरिएको छ । 

त्यस्तै, १८ सिटे वायुसेवा कम्पनीहरूले १० सिट आ–आफ्नो कार्यालयबाट र सीता एयरको हकमा (सात सिट) बाँड्ने र बाँकी रहेको सिट बिरामी, अशक्त, सुरक्षाकर्मी र अन्य इमर्जेन्सी काम परेका व्यक्तिका लागि व्यवस्था गर्ने निर्णय भएको जुम्ला विमानस्थल प्रमुख सन्तोष अधिकारीले जानकारी दिए । ‘हवाई टिकटलाई पारदर्शी बनाउन गरिएका निर्णय कार्यान्वयनमा सबैले जोड दिएमा केही सुधार होला । सर्वसाधारणले टिकट पाउलान् । तर, नियमित उडान गर्ने कुरा हाम्रो लेभलबाट सम्भव छैन,’ उनले भने ।

बिरामी, अशक्त, जटिल काम परेका मान्छे नछुटून् भन्नका लागि सुरक्षाकर्मी, सरकारी र बिरामी सिटमा जाने यात्रुको ‘ए’ देखि ‘सी’ सम्म वर्गीकरण गर्ने निर्णय भएको छ । वर्गीकरण गर्दा पहिलो प्रथामिकता (ए)मा बिरामी, दोस्रो (बी)मा सरकारी र तेस्रो (सी)मा सुरक्षाकर्मीलाई सिट छुट्याउनुपर्नेछ । सीता एयरले चार सिटबाहेक अन्य एयरलाइन्सले ६ सिट वर्गीकरण गरेर बाँड्नेछन् । सरकारी कर्मचारी, सुरक्षाका लागि छुट्याइएका सिटमा प्रायः सर्वसाधारण नै उड्न पाउनेछन् । तर, अत्यावश्यक काम परेको वेला भने छुट्याइएको सिट सुरक्षाकर्मी, सरकारी कर्मचारीले नै प्रयोग गर्नेछन् ।  एयरलाइन्स कम्पनीहरूले भने टिकट वितरण सधैँ नागरिकमैत्री नै भएको दाबी गर्दै नयाँ निर्णयअनुसार टिकट वितरण गर्न सजिलो नभएको बताएका छन् । नागरिकले आफू टिकट पाउँदा चुप लाग्ने र नपाउनेबित्तिकै गुनासो गर्ने प्रवृत्ति बढेकाले व्यवस्थापनमा सकस रहेको समिट एयरका गोविन्द भण्डारीले बताए ।

जुम्लाको हवाई सेवा पहुँचमुखी मात्रै भएको, सर्वसाधारणले सहजै टिकट नपाएकोे, ठूलाबडाको फोनमै टिकट फिक्स हुने, टिकट वितरणमा पारदर्शी नहुने समस्या हालसम्म विद्यमान छन् । जसले गर्दा सर्वसाधारणले सधैँ सास्ती खेप्नुपरेको छ । हवाई सेवालाई सहज र नागरिकमैत्री बनाउन यसअघि पटक–पटक छलफल नभएका होइनन्, तर हवाई टिकट वितरण गर्ने व्यक्तिहरूले आफूखुसी निर्णय गर्दा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । 

भूगोलका हिसाबले जुम्ला विमानस्थल कर्णाली प्रदेशकै व्यस्त र यात्रुको बढी चाप हुने विमानस्थलमा पर्छ । समिट, सीता, तारा र नेपाल एयरलाइन्सले जुम्लामा उडान भर्ने गरेका छन् । तर, समिट एयरबाहेक अन्य जहाजको नियमित उडान छैन । फाट्टफुट्ट हुने उडानमै नागरिकले सास्ती पाउँदै आएका छन् । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायत, नागरिक अगुवा राजबहादुर महत टिकट वितरणमै अनियमितता भइरहेकाले तत्काल सुधार गर्नुपर्ने र अटेरी गर्ने एयरलाइन्सलाई जुम्ला उडानमै रोक लगाउनुपर्ने बताउँछन् ।

‘पहिलो दिन टिकट लिन जाँदा भोलि जहाज आउने टुंगो छैन भन्छन् । भोलि गयो हिजो नै टिकट सबै गइसक्यो, जहाज प्याक भयो भनेर टार्छन् । यसरी टिकटमा मनपरी गर्छन् । यो त सरासर अनियमितता हो । यस्ता प्रवृत्तिलाई रोक्नुपर्छ,’ आचार्यले भने । सबै एयरलाइन्सका टिकट काउन्टर बाहिर हुनुपर्ने, सरकारी सिट छुट्याएर, आमनागरिकलाई लाइनमै टिकट दिनुपर्ने र अटेरी गर्ने एयरलाइन्सको उडानमै रोक लगाउनुपर्ने उनको भनाइ छ ।

मेयर कठायतले नयाँ निर्णयपछि टिकट काउन्टर बाहिर नखोल्ने, टिकट वितरणमा ब्रह्मलुट मच्चाउन अब नपाइने ठोकुवा गरे । ‘अनलाइन टिकट वितरणका नाममा समेत एयरलाइन्सले नागरिकलाई सास्ती मात्रै दिएका छन् । सुधारको बहस र निर्णय पटक–पटक भए पनि कार्यान्वयन हुन सकेको छैन,’ उनले भने ।

नागरिक अगुवा राजबहादुर महतले अघिपछि सडक यातायात प्रयोग गर्ने सर्वसाधारणले बिरामी हुँदा पनि हवाई टिकट नपाउने प्रवृत्ति कायमै रहेको बताए । ‘टिकट वितरणमा मनपरी त छँदै छ । यसलाई रोक्न प्रशासनले समेत चासो दिएन । नाम मात्रको अनलाइन सेवा छ । सर्वसाधारणले कहिल्यै प्रयोग गर्न पाउँदैनन् । अब अति भयो । हवाई क्षेत्रको मनपरी रोक्नुपर्छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले टिकट वितरण प्रणाली सुधारेमा जुम्ला आउने पर्यटक र सर्वसाधारणले ढुक्कले हवाई सेवा प्रयोग गर्न सक्ने बताए । टर्मिनल भवनभन्दा बाहिर कार्यालय राखेर सहज रूपमा टिकट वितरण भए–नभएको बारे हप्तादिनपछि अनुगमन गर्ने उनको भनाइ छ । सुरक्षा प्रमुखहरू गणपति सुमन श्रेष्ठ, सशस्त्र प्रहरीका एसपी चेतराज जोशी र प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बाहिर काउन्टर राख्नुपर्ने, लाइन लगाएर टिकट वितरण गर्ने र छुट्याइएको सिटमा प्राथमीकरण गरेर मात्रै टिकट वितरण गर्नुपर्ने सुझाव दिएका छन् ।

ad
ad
ad
ad