काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले समग्र काठमाडौं उपत्यकाको विकास एकैचोटि हुनुपर्ने बताएका छन्।
काठमाडौं र ललितपुर महानगर आपसमा सम्बन्धित भएकाले एउटाको मात्रै विकासले उपत्यका सुन्दर र विकास हुन नसक्ने मेयर साहको भनाइ छ। तर, संघीय र स्थानीय कानुन बाझिँदा स्थानीय सरकारलाई काम गर्न गाह्रो भएको उनको गुनासो छ।
ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मेयर साहले कानुन बाझिएका विषयमा संघ सरकारले सहजीकरण गरिदिनुपर्ने धारणा राखे।
‘यो सम्पूर्ण उपत्यकाको विकास एकैचोटि हुनुपर्छ। सबै पालिकाहरू एकैचोटि बढ्नुपर्ने देखिन्छ। त्यसका लागि केही कुरा त हामी मेयर–उपमेयरहरू बसेर पनि सल्टाउन सक्छौँ। तर, कुनैकुनै कुराहरू यस्ता छन् जुन संघीय कानुन र स्थानीय कानुन बाझिएका छन्,’ उनले भने।
फोहोर व्यवस्थापन स्थानीय सरकार आफैँले गर्न सक्ने विषय भए पनि कानुनी बाधा–अड्चन परेकाले त्यसको गाँठो फुकाइदिन साहले प्रधानमन्त्रीलाई आग्रह गरे।
तर, खोला अतिक्रमण रोक्न स्थानीय सरकार एक्लैले नसक्ने भएकाले संघ सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ। ‘सम्माननीय (प्रधानमन्त्री)ज्यूले चाहनुभयो भने यहाँदेखि अर्को कार्यक्रममा जान लाग्ने जति समयमा समाधान हुने विषय हो त्यो।’